Friday 30th October 2026

थारु अगुवा नै विभाजित


तितोपाटी- टीकापुर – थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई लिएर थारु समुदायबीच विवाद देखिएको छ। टीकापुरमा आयोजना हुने सम्मेलनलाई सत्तारुढ नेकपा निकट थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघले उद्देश्यविहीन कार्यक्रम भएको आरोप लगाएको छ।

ती दुई संस्थाले बुधबार टीकापुरमा पत्रकार सम्मेलन गरी संस्थागत सहभागीता नहुने बताएका छन। पत्रकार सम्मेलनमा नेकपाका नेता फिरुलाल चौधरी (रणभूमि) ले सम्मेलनमा अवरोध भने नहुने बताए। उनले केही व्यक्तिहरु सम्मेलनका नाममा हिरासतमा रहेका रेशमलाल चौधरी लगायतको नाम बेचेर आफ्नो राजनीतिक दूनो सोझ्याउने तर्फ लागिरहेको बताउँदै ती व्यक्तिहरु थारु फुटाउ अभियानमा सकृय रहेको आरोप लगाए। पत्रकार सम्मेलनमा वितरित संयुक्त विज्ञप्तीमा राजनैतिक उद्देश्य स्पष्ट नभएको र आधिकारिक संस्थागत आयोजक नरहेकोले कार्यक्रमप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तीमा विगत आन्दोलनको क्रममा घटेको दुःखद घटनालाई स्मरण गराउन झल्को दिने गरी कार्यक्रम तय भएको प्रति असहमति जनाउँदै अन्यौलपूर्ण कार्यक्रममा आफूहरुको समर्थन नरहेको र कुनैपनि गतिविधिमा सहभागीता नरहने स्पष्ट गर्न चाहन्छौ भनिएको छ।

अर्को सतारुढ दल समाजवादी पार्टी, नेपालका कार्यकर्ता भने सम्मेलनको तयारीमा जुटेका छन्। पूर्वसाँसद कृष्णकुमार चौधरी लगायत सम्मेलनको तयारीमा संलग्न छन्। सो पार्टीका नेता डा. बाबुराम भट्टराई सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने तय भैसकेको छ।

तर, सम्मेलन प्रति नेपाली काँग्रेस निकट थारु संगठनले कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। पार्टीले भने सम्मेलनको शान्तिपूर्ण कार्यमा सघाउने बताएको छ। काँग्रेस निकट केही थारु नेताहरु सम्मेलनको तयारीमा संलग्न देखिएका छन। सम्मेलन आयोजक पक्षले समेत बुधवार नै टीकापुरमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। आयोजक पक्षले सम्मेलनले कुनै राजनीतिक एजेण्डा नबोकेको बताएको छ। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति संयोजक मिनराज चौधरीले सम्मेलनको मुख्य उद्देश्य एकताको सन्देश भएको बताए।

टीकापुरमा यही ७, ८ र ९ गते थरुहट थारुवान राष्ट्रिय सम्मेलनको आयोजना हुँदैछ। सम्मेलनको पहिलो दिन ७ गते उद्घाटन समारोह, ८ गते बन्द सत्र र ९ गते समापन हुने बताइएको छ। यसका अलावा सम्मेलनलाई सद्भावपूर्ण बनाउनका लागि अतिरिक्त कार्यक्रमको समेत आयोजना गरिने भएको छ। जसअनुसार ५ गते बिहान ६ बजे सद्भाव सरसफाई अभियान र ६ र ७ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले बताए। सम्मेलनमा २५ जिल्लाका २ हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ।

सम्मेलनका क्रममा कुनै अप्रिय घटना हुन नदिन जिल्ला सुरक्षा समितिले ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। टीकापुरमा सम्मेलन अवधिमा झण्डै ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रहरी स्रोतको भनाई छ। २०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटनामा ८ सुरक्षाकर्मी र १ नाबालकले ज्यान गुमाएका थिए। थरुहट थारुवान आन्दोलन पक्षधर र सुरक्षाकर्मीबीच भएको झडपमा सो घटना भएको थियो।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...