Monday 25th November 2024

परदेश बाट घरदेश फर्किएर गाईपालन


तितोपाटी- इजरायलबाट फर्किएका यहाँका एक युवा गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, तिलपुरका दिपेन्द्र कार्की गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । दिपेन्द्रको समय विहान झिसमिसमै उठेदेखि राति अबेरसम्म गाई गोठमै बित्छ । भकारो सोहोर्नु, गाईलाई दानापानी खुवाउनु, दूध दुहूनु, गाईका लागि घाँस र पराल संकलन गर्नु उनका दैनिक दोहोरिने काम हुन् । उनलाई व्यवसायमा सघाउँदै आइरहेकी छिन, पत्नी निताले । १० वर्ष पहिला गाईपालन व्यवसाय सुरु गरेका कार्की दम्पतीले विभिन्न समस्या झेल्दै अहिले आएर सोचेजस्तो आम्दानी लिन सफल भएका छन् । कार्कीको फार्ममा अहिले २८ गाई छन् । ती सबै होलेस्टेन जातका हुन् । दिपेन्द्र र नितालाई उनका ६८ वर्षीय बुवा थिरबहादुर कार्कीले मार्गनिर्देश गरिरहेका छन् । डेढ लाख रुयैयाँसम्म पर्ने उन्नत गाईबाट कार्की परिवारले राम्रो आम्दानी गरिरहेको छ । जसले बर्सेनि उनीहरूको जीवनस्तरसमेत उकासिएको छ ।

वीरेन्द्रनगर बजारनजिकै फार्म रहेकाले बजारको कुनै समस्या छैन । गाईपालनका लागि कार्कीको आफ्नै जग्गा छ । बारीमा उनले मौसमी घाँस लगाएका छन् । आफ्नै बारीको घाँसले गाईलाई पुग्ने भएकाले व्यवसायमा खासै समस्या नभोगेको कार्की दम्पत्ती बताउँछन् । अहिले दैनिक ९५ लिटर दूध उत्पादन हुने गरेको कार्कीले बताए । “त्यो दूध स्थानीय बजारमै खपत हुन्छ,” कार्कीले भने, “सबै खर्च कटाएर मासिक ५० हजार रूपैयाँ आम्दानी गर्दै आइरहेका छौं ।” होलस्टेन गाईलाई रेडिमेड दानासँगै ‘नेपिएर र बर्सिम’ घाँस खुवाउने गरिएको कार्कीले जानकारी दिए ।

व्यवसायमा घरपरिवारको सहयोगले सजिलो भएको कार्की बताउँछन् । कृषि जेटीए अध्ययन गरेका दिपेन्द्रले ३ वर्ष एक गैरसरकारी संस्थामा काम गरे । एक वर्ष इजरायलको गाई फार्ममा तालिमका लागि गएका उनले गाउँमै फर्किएर आफै व्यवसाय सुरु गरेका हुन् । “विदेशको जस्तो प्रविधि र आधुनिकीकरण यहाँ छैन, तर गर्न सके आफ्नै तरिकाबाट पनि कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ,” कार्कीले भने, “आफ्नै परिवारसँग बसेर व्यवसाय गरेको छु र खुसी पनि छु ।” आफ्नै गाउँमा केही गर्दा सन्तोष मिल्ने कार्कीको भनाइ छ । विदेशमा दसैं–तिहार केही नभनी २४ सैं घण्टा खटिनुभन्दा आफ्नै व्यवसाय गर्नु उपयुक्त भएको उनको भनाइ छ । “अहिले यसमै रमाइरहेको छु, विदेश जाने र सरकारी जागिर खाने मोह कहिल्यै भएन,” उनी भन्छन्, “अहिलेका युवा देशमै प्रशस्त व्यवसाय गर्ने अवसर हुँदाहुँदै पनि विदेशमा गइ पसिना बगाउन बाध्य छन् ।” उनले युवामा आफ्नै माटोमा केही गरौं भन्ने इच्छाशक्ति नभएको बताए ।

कृषि पेशा अझै पनि सम्मानित हुन नसकेको दिपेन्द्रको गुनासो छ । कृषि व्यवसाय गर्नेलाई भन्दा केही नगरी खानेलाई सम्मान हुँदा चित्त दुख्ने गरेको कार्की बताउँछन् । सरकारले कृषि नीति बनाए पनि आफूजस्ता किसानलाई समेट्न नसकेको उनको गुनासो छ । “अधिकांश नीति कोठामै बसेर बन्छन्, हामीजस्ता किसानको सुझाव नलिइ नीति बनाइँदा कृषि क्षेत्रको पर्याप्त विकास हुन नसकेको हो,” उनले भने, “कृषि क्षेत्रका नीति किसान मैत्री बनाउन जरुरी छ ।” किसानको चाहनाबमोजिम सरकारले अझै काम गर्न नसकेको निता बताउँछिन् । “कृषिप्रधान देश भनिए पनि सरकारले सधै कृषकलाई उपेक्षा गरेको छ,” उनले भनिन् “अधिकांश कुरा भाषणमा सीमित छन्, जसका कारण वास्तविक किसान सरकारी सेवाबाट बञ्चित छन् ।”सुर्खेतमा भैंसीको तुलनामा गाईपालन व्यवसाय फस्टाएको छ । भैंसीलाई भन्दा कम आहारा चाहिने र दुध पनि धेरै दिने उन्नत जातका गाई आएपछि किसानहरू भैंसीको भन्दा गाई पालनमा आकर्षित भएका हुन् । किसानहरू व्यवसायिक पशुपालनतर्फ आकर्षित भएपछि जिल्लामा अहिले स्थानीय जातका गाई भैंसीको संख्या घट्दै गएको छ ।

– कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

सरकारले काठमाडौंको सुन्धारामा रहेको धरहरा आज आइतबारदेखि व्यवसायिक रुपमा खुला गरेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा…

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन,…

प्रतिकृयाहरू
...