Sunday 26th July 2026

लिची एक, फाइदा अनेक


तितोपाटी – यतिखेर बजारमा लिची छ्यापछ्याप्ती पाइन्छ । यो लिची पाक्ने सिजन पनि हो । कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा (Litchi chinensis) भनिन्छ। यो मूलतः चीनबाट आएको फल हो । यो सामान्यतः मैडागास्कर, भारत, बङ्गलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस दक्षिण अफ्रीका र नेपालमा पाइन्छ। स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो लिची। यो एउटा बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो। राम्रोसँग पाकेपछि यसको बोक्रा रातो वा गुलाबी रङको हुन्छ र यही रातो वा गुलाबी रङको बोक्राभित्र पाइने सेतो प्रकारको गुदी नै हामी स्वादिष्ट मानेर खाने गर्दछौँ।

मीठो स्वादसँगै उच्च पोषक तत्त्वयुक्त लिची फूर्तिदायक हुन्छ । लिचीमा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज गरी तीनै प्रकारका चिनी पाइन्छ । लिचीको फलमा करिब ६० प्रतिशत जुस, ८ प्रतिशत र्‍याग, १९ प्रतिशत बीउ र १३ प्रतिशत बोक्रा हुन्छ । यसमा भिटामिन सी, पोटेसियम र प्राकृतिक चिनी पाइन्छ । लिचीमा चिनी १०–२२ प्रतिशत, प्रोटिन ०.७ प्रतिशत, बोसो ०.३ प्रतिशत लगायत सबै प्रकारका भिटामिनहरू पाइन्छ। लिचीमा थुप्रै रोगको प्रतिरक्षात्मक क्षमता देखिएको छ । यसमा एथोसायनिन, फिनोलिक्सजस्तो जैव सक्रिय यौगिक पाइन्छ । जसले लिचीको फल मुटु रोग, मधुमेह, मृगौला रोग, क्यान्सरसँग लड्नमा प्रतिरोधीक्षमता दिन्छ । लिचीले क्यान्सरपीडित कोषिकाको विकासमा अवरोध उत्पन्न गर्छ ।

पाचनतन्त्र र रक्तसञ्चारलाई राम्रो पार्ने लिचीको १०० ग्राम गुदीमा करिबव ७० मिलिग्राम भिटामिन सी हुन्छ । जो हाम्रो स्वास्थ्यका लागि अत्यन्त आवश्यक हुन्छ । लिचीमा पाइने भिटामिन सीले हाम्रो दैनिक आवश्यकताको करिब ७० प्रतिशत पूरा गर्छ । यसमा बोसो र सोडियम नाम मात्रको हुन्छ । यसले एनिमिया रोगको लक्षणमा समेत सुधार ल्याउँछ । लिचीको उपयोग पारम्परिक चिनियाँ र भारतीय चिकित्सा प्रणालीमा थुप्रै रोगसँग लड्नमा गरिन्छ ।

लिचीमा कार्बोहाइड्रेट, भिटामिन ए र बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, फस्फोरसजस्ता खनिज लवण पाइन्छ । यसमा बिटा क्यारोटिन, राइबोफलेबिन, नियासिन, फोलेट आदि धेरै बढी मात्रामा पाइन्छ । यसको भिटामिनले रातो रक्तकणिकाको निर्माण गर्छ । यसले बिटा क्यारोटिनलाई कलेजो र अन्य अंगमा संग्रहित गर्न सघाउँछ । यसमा भएको बिटा क्यारोटिन र ओलिगोनोलले मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ । यसमा बढी मात्रामा भएको पोटासियम र सोडियमले गर्दा नशामा रगतको सञ्चार सही रहन्छ र रक्तचाप नियन्त्रित हुन्छ ।

फोलेटले शरीरमा कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित राख्छ । यसले हाम्रो स्नायु प्रणाली स्वस्थ रहन्छ । यो कपालको स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । यसमा कपर हुन्छ । यसले हेयर फलिकल्सलाई उत्तेजित पार्छ र कपाल बढ्नमा सघाउँछ । यसमा भएको भिटामिन सी र प्रोटिनले कपालमा चमक ल्याउँछ । यो एउटा राम्रो एन्टिअक्सिडेन्टसमेत हो । यसमा भएको भिटामिन सी शरीरमा रक्तकोषिकाको निर्माण र फलामको अवशोषणमा समेत सघाउँछ । यो प्रतिरोधी प्रणालीलाई कायम राख्न आवश्यक मानिन्छ । यसको सेवनले पाचनप्रक्रियामा सहयोग पुग्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...