Tuesday 18th August 2026

दार्चुलामा सेफ्टीट्यांकी भत्किंदा विद्यालयमा खेल्दै गरेका ४ विद्यार्थीको मृत्यु


तितोपाटी – दार्चुलाको नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको ज्यान गएको छ। ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो।

‘सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो’, स्थानीय प्रतापसिंह ठगुन्नाले भने, ‘सोही मैदानमा बालबालिका खेल्दै थिए। ढक्कन भासिँदा उनीहरू सेफ्टी ट्यांकीमा परे।’

बालबालिकाको शव निकाल्न तीन घन्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले बताए। ‘माटोसहित बालबालिका ट्यांकीमा परेका रहेछन्। वर्षा भइरहेकाले बेलुका मात्रै शव निकाल्न सक्यौं,’ भट्टले भने।

शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको ४० लाख रुपैयाँमा निर्माण गरिएको थियो। ‘बालबालिका पहिलादेखि नै सेफ्टी ट्यांकीमाथि खेल्थे। आज बिहान स्कुलमा पढेका बालबालिका साँझ खेल्दै गर्दा अचानक भत्किएको हो’, नौगाड गाउँपालिकाका कृष्ण ठगुन्नाले भने।

शोकमा डुब्यो सिप्टी

दिउँसो घटना भएलगत्तै विद्यालय परिसरमा जम्मा भएका स्थानीयले कति बालबालिका ट्यांकीमा परे भन्ने छुट्याउन सकेनन्। स्थानीय आफ्ना बालबालिका घरमा छन् कि छैनन् खोज्न लागे।

विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिंह धामीकी कक्षा २ मा पढ्ने १० वर्षीया छोरी अनुस्का र उनका ४ जना साथी खेलिरहेको स्थानीयले बताएका थिए। चार बालबालिकाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।

‘बालबालिका खेल्दाखेल्दै विद्यालय परिसरमै मृत्यु भयो। सपनाजस्तै भएको छ,’ स्थानीय जयमती धामीले भनिन्।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इदलिब प्रान्तमा रहेको एक सैन्य हवाई अड्डामा भएको इसराइली हवाई आक्रमणको कडा आलोचना गर्दै यसलाई “अनावश्यक तनाव…

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा…

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

प्रतिकृयाहरू
...