Saturday 3rd October 2026

अमेरिकी हमलामा एक इरानी तेल ट्याङ्कर डुब्यो, इरानद्वारा जोर्डनमा क्षेप्यास्त्र प्रहार


अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) का अनुसार ओमानको खाडीमा रहेका चारवटा तथा फारसी खाडीस्थित खार्ग द्वीपनजिक रहेको एउटा तेलवाहक जहाजलाई निशाना बनाइएको थियो। अमेरिकाका अनुसार आक्रमणअघि जहाजका चालकदललाई सुरक्षित रूपमा जहाज छोड्न निर्देशन दिइएको थियो।

अमेरिकाले इरानले पछिल्ला दुई दिनमा अमेरिकी नौसैनिक युद्धपोतलाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने प्रयास गरेपछि उक्त कारबाही गरिएको दाबी गरेको छ। अमेरिकी पक्षका अनुसार ती आक्रमण असफल भएका थिए र कुनै पनि अमेरिकी सैनिक हताहत भएका छैनन्।

यस घटनापछि इरानले प्रतिकारस्वरूप जोर्डनतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इरानले अमेरिकी सेनाले प्रयोग गर्ने मुहाफ्फाक सल्ती एयर बेसलाई लक्ष्य बनाइएको दाबी गरेको छ। यद्यपि जोर्डनको सेनाले २० वटा ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १८ वटा खसालिएको र बाँकी दुईवटा निर्जन क्षेत्रमा खसेको जनाएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन।

इरानले कुवेत र बहराइनका बन्दरगाह आसपास रहेका तेल ट्याङ्करलाई पनि चेतावनी दिँदै ती जहाजहरू भविष्यमा निशाना बन्न सक्ने बताएको छ। इरानी सञ्चार माध्यमहरूका अनुसार अमेरिकी आक्रमणमा परेका केही ट्याङ्करका चालकदललाई लाइफबोटमार्फत सुरक्षित रूपमा किनारामा ल्याइएको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गर्ने हरेक प्रयासको कडा जवाफ दिइने चेतावनी दिएका छन्। कोलम्बियाको भ्रमणमा रहेका रुबियोले “इरानले अमेरिकी युद्धपोतलाई लक्षित गर्ने हरेक प्रयासको मूल्य चुकाउनुपर्ने” बताएका छन्।

अमेरिकाले पछिल्ला केही सातायता होर्मुज जलडमरूमध्य वरपर आफ्नो सैन्य तथा आर्थिक दबाब बढाउँदै आएको छ। ट्रम्प प्रशासनले मंगलबार इरानका २७ वटा एयरलाइन्स र नौवटा सेवा प्रदायक संस्थामाथि थप प्रतिबन्ध पनि घोषणा गरेको छ।

नयाँ सैन्य कारबाही र प्रतिकारात्मक हमलाले मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था झन् संवेदनशील बनेको छ भने अन्तर्राष्ट्रिय तेल बजारमा समेत यसको प्रभाव पर्ने निश्चित छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...