Sunday 4th October 2026

मध्यपूर्वको तनाव फेरि चर्कियो, तेलको मूल्य उकालो लाग्यो


मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका तय नगरिएको बताएका छन्। ट्रम्पको यो भनाइ एक दिनअघि मात्र अमेरिकी प्रशासनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) सँग अप्रत्यक्ष सम्पर्क स्थापित गरेको दाबी गरेपछि आएको हो। इरानले भने यस अघि नै अमेरिकासँग कुनै वार्ता नभएको स्पष्ट पारेको थियो ।

यसैबीच, द्वन्द्व समाधान हुने आशा कमजोर बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य जुलाईयताकै उच्च स्तरमा पुगेको छ।

रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलडमरूमध्यमा पनि तनाव कायम छ। ट्रम्पले सामाजिक सञ्जालमा उक्त जलमार्गलाई “नयाँ अमेरिकी क्षेत्र” भन्दै तस्वीर सार्वजनिक गरेका छन्। उता, इरानले जलडमरूमध्य पुनः सञ्चालनका लागि आफ्ना प्रमुख सर्तहरू दोहोर्याएको छ। बेलायतको समुद्री सुरक्षा निकायका अनुसार यस क्षेत्रमा एक जहाज अज्ञात प्रक्षेप्यको निशानामा परेको छ।

द्वन्द्व अझ फैलिने संकेत देखिएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानबाट आफ्नो दिशातर्फ प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल पत्ता लगाएको जनाएको छ। साथै, अमेरिकाले सिरियाली सैन्य अड्डामाथि इजरायलले गरेको आक्रमणलाई “अनावश्यक तनाव वृद्धि” भन्दै आलोचना गरेको छ। यमनका इरान समर्थित हुथी विद्रोहीहरूले फेरि साउदी अरेबियाको एक तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरेका छन्।

क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बन्दै जाँदा विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा असर पर्ने चिन्ता बढेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...