Sunday 4th October 2026

ट्रम्प प्रशासन इरान युद्धका प्रारम्भिक लक्ष्यबाट पछि हट्दै


इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत देखिएको छ।

युद्धको सुरुआतमा ट्रम्प प्रशासनले इरानलाई पूर्ण रूपमा आत्मसमर्पण गराउने, शासन परिवर्तन गराउने, परमाणु हतियार विकास गर्न नदिने तथा हिजबुल्लाहजस्ता क्षेत्रीय समूहलाई दिइने समर्थन अन्त्य गर्ने लक्ष्यहरू सार्वजनिक गरेको थियो।

तर हालै उपराष्ट्रपति जेडी भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा युद्धका मुख्य दुई उद्देश्य मात्र उल्लेख गरे। उनका अनुसार पहिलो प्राथमिकता खाडी क्षेत्रबाट तेल तथा ग्यासको आपूर्ति निरन्तर राख्दै विश्व ऊर्जा बजार स्थिर बनाउनु हो भने दोस्रो उद्देश्य इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिनु हो।

विश्लेषकहरूका अनुसार तेल र ग्यासको मूल्यलाई युद्धको प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गरिनु ट्रम्प प्रशासनको रणनीतिमा आएको महत्वपूर्ण परिवर्तन हो। यसअघि प्रशासनले युद्धको मुख्य उद्देश्य इरानको परमाणु कार्यक्रम रोक्नु रहेको बताउँदै आएको थियो।

युद्ध लम्बिँदै जाँदा अमेरिका र इरानबीच भएका पछिल्ला सम्झौता तथा ट्रम्पका अभिव्यक्तिहरूले पनि प्रारम्भिक कठोर लक्ष्यहरू कमजोर हुँदै गएको संकेत दिएका छन्। ट्रम्पले इरानको परमाणु कार्यक्रममा पर्याप्त क्षति पुगेको दाबी गर्दै थप कडा सम्झौता आवश्यक नहुन सक्ने संकेत दिएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...