Thursday 16th April 2026

झापामा ओलीलाई बालेनको चुनौती


आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिने तयारी गरेपछि सो क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्रमा परिणत हुँदै गएको छ ।

मेयर पदबाट माघ ४ गते राजीनामा दिने तयारीमा रहेका बालेनको घोषणाले उक्त क्षेत्रको चुनावी माहोल तातेको हो । बालेनले माघ ५ गते जनकपुरमा हुने पार्टीको विस्तारित भेलामा सहभागी भएर मधेसबाट अभियान सुरु गर्ने र त्यसलगत्तै झापा पुगेर उम्मेदवारी दर्ता गर्ने योजना रहेको रास्वपा नेताहरूले बताएका छन् ।

झापा–५ बाट उम्मेदवार बन्ने तयारीसँगै बालेनको सम्पर्क कार्यालय र आवासका लागि दमक क्षेत्रमा घर खोज्ने काम पनि तीव्र भएको छ । रास्वपा झापाका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुईवटा घर टुंगो लागिसकेको छ भने थप एक घर खोज्ने प्रक्रिया चलिरहेको बालेननिकट स्रोतले जनाएको छ । चुनावी कमान्ड, सामाजिक सञ्जाल टिम र फिल्डमा खटिने कार्यकर्ताका लागि अलग–अलग घर प्रयोग गर्ने रणनीति बनाइएको छ ।

झापा–५ एमाले अध्यक्ष ओलीको बलियो गढ मानिन्छ । २०४८ यताका अधिकांश निर्वाचन यही क्षेत्रबाट लडेका ओली ६ पटक संसद्मा पुगिसकेका छन् । २०७९ को निर्वाचनमा उनले ५२ हजार ३१९ मत ल्याएर फराकिलो मतान्तरसहित जित हासिल गरेका थिए । यसपटक पनि एमाले दमक नगर समितिले ओलीलाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ । एमाले झापाका अध्यक्ष प्रेम गिरीले बालेन आए पनि ओली अझ बढी मतान्तरले जित्ने दाबी गर्दै झापा–५ एमालेका लागि सुरक्षित क्षेत्र भएको बताएका छन् ।

उता, २०७९ मा काठमाडौं महानगरको मेयर जितेर राष्ट्रिय राजनीतिमा उदाएका बालेनलाई रास्वपाले प्रधानमन्त्रीको घोषित उम्मेदवारका रूपमा अघि सारेको छ । ओलीकै ‘कोर एरिया’ बाट चुनाव लड्ने निर्णयलाई बालेनले राजनीतिक प्रतीकात्मक चुनौतीका रूपमा प्रस्तुत गरेका छन् । रास्वपा नेताहरूका अनुसार जेन–जी आन्दोलनपछि उदाएको युवाको असन्तुष्टि र वैकल्पिक शक्तिको चाहनालाई झापा–५ बाट प्रतिनिधित्व गराउने रणनीति बनाइएको छ ।

स्थानीयस्तरमा मतदाताको धारणा विभाजित देखिन्छ । पाका मतदाता ओलीको अनुभव र पहुँचलाई प्राथमिकता दिनुपर्ने बताउँछन् भने युवा मतदातामा नयाँ नेतृत्वप्रति आकर्षण देखिएको छ । दमक र आसपासका क्षेत्रमा चियापसलदेखि सामाजिक सञ्जालसम्म ओली–बालेन प्रतिस्पर्धाको चर्चा छ ।

यसपटक झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता छन्, जसमध्ये करिब १० हजार नयाँ मतदाता थपिएका छन् । आदिवासी जनजाति, युवा र सहरी मतदाताको भूमिका निर्णायक हुने विश्लेषण भइरहेको छ ।

फरक पुस्ता, फरक शैली र फरक राजनीतिक पृष्ठभूमिका दुई चर्चित नेताबीचको यो भिडन्तले झापा–५ मात्र होइन, समग्र देशको राजनीतिक बहसलाई समेत तातेको छ । ओलीको परम्परागत वर्चस्व जोगिन्छ कि बालेनले नयाँ इतिहास कोर्छन् भन्ने प्रश्नको उत्तर भने फागुन २१ मा हुने निर्वाचनपछि मात्र स्पष्ट हुनेछ । साभार: देशान्तर


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...