Friday 20th March 2026

वाक्खै ह्वा वाक्खै (सरायँ)


पुष्कर अथक रेग्मी – दशैंको पूर्णिमाको दिन बाबाले मलाई लिपिन्देवीको डाँडामा मेला हेर्न लैजानु भयो । मान्छेहरूको ओहरदोहर, भिडभाड छिचोल्दै देखिएका कुरा सबै हेर्दै हामी मन्दिरमा पुग्यौं र दर्शन गर्यो। पूजारीले रातो ध्वजा लगाई दिनु भयो । नौमति बाजा घन्किरहेको थियो। मन्दिरको अगाडि सम्म ठाउँमा मानिसहरूको विशेष भिड थियो। बिचमा केही खाली ठाउँ थियो । त्यहाँ मानिसहरू विभिन्न पोशाकमा हातमा हतियारहरू लिएर बसेका थिए । बाजाको तालमा ती हतियारधारीहरू सबैले तीन पटक मन्दिरको परिक्रमा गरे। त्यसपछि एउटा दाइ आएर एक्लै तरवार नचाउनु भयो । उहाँले तरवार नचाउँदा आझै सिरिङ्ग भयो । त्यसपछि दुईजना, तीनजना गर्दै चारजनाले दोहोरो तरबार नचाउनु भयो । तरवार हानाहान भयो । मैले डराउँदै हेरिरहे । बाबाले केहि हुन्न, नडराइकन अलि पछि बसेर हेर भनिरहनु भयो ।

म लगायत साना ठूला सबैले त्यहाँ तरबार नचाएको हेरे । हेर्दा हेर्दै धेरै मानिसहरुले एकै चोटी तरवार नचाए । तरवारमा तरवार हानेर लडाइँ लडेको खेल खेले। मलाई त रामायण, महाभारतमा, श्रीकृष्णको टेलिसिरियलमा तरबार युद्ध गरे जस्तो लाग्यो । तरवार नचाउँदा, तरवार खेलाउँदा, उनीहरुको मुखबाट ‘वाख्खै वा वाख्खै’ भन्ने आवाज आउथ्यो र भिडबाट समेत सबैले ‘वाक्खै वा वाक्खै’ भन्थे। बाबा लगाएत सबैले जोस्सिएर ‘वाख्खै वा वाख्खै’ भनेकोले मैले पनि तरवार नचाउने, लडाउने खेल अवधिभर ‘वाक्खै ह्वा वाक्खै’ भनिरहें ।

फर्कने बेलामा भोक लागेकाले सेलरोटी, बटुक र चुकौनी खायौं । बाबाले मलाई मुरली र लामो बेलुन किनिदिनु भयो । हिड्दै गर्दा बाटोमा सोध्नुभयो, “बाबु ! मेला कस्तो लाग्यो त ?”

“राम्रो लाग्यो तर बाबा त्यस्तरी तरवार नचाउँदा त डर पनि लाग्यो ।” मैले भने ।

“त्यसलाई सरायँ खेलेको भन्छन् बाबु ।”बाबाले भन्नुभयो ।

“सरायँ भनेको के हो बाबा ?” मैले सोधे !

बाबाले भन्नुभयो, “सरायको अर्थ यात्रीहरू बस्न वा विश्राम गर्न बनाइएको घर सत्तल भन्ने हुन्छ । यसका साथै विशेष पर्वका दिन मन्दिर भित्रका खुकुरी, तरवार, खुंडा, खड्ग, भाला, ढाल, लठ्ठी सहितका घरेलु हात हतियारहरू हातमा लिएर खेलाउदै, नचाउँदै, लडाउँदै, बाजाको तालमा देखाउने नृत्य वा अभिनयलाई सरायँ भनिन्छ । सरायँलाई सरायँ पनि भनिन्छ । सरायँलाई स्थानीय बोलिचालीको भाषामा वाक्खै भनिन्छ ।”

“त्यो, ‘वाक्खै ह्वा वाक्खै’ भनेको किन हो बाबा”मैले सोधें ।

बाबाले भन्नुभयो, “सरायँ खेल्दा बाजा गाजाको तालमा उफ्रदा जोस्सिदा निस्कने सांगीतिक ध्वनीमय शब्द नै ‘वाक्खै ह्वा’ हो । ‘वाक्खै ह्वा’ मगर भाषाको शब्द हो। मगर भाषामा ‘वाक’ भनेको सुगुर र ‘ह्वा’ भनेको भाग्यो, हरायो भन्ने हुन्छ । धेरै पहिलेको कुरा हो, दशैंको पूर्णिमाको दिन बाजागाजा र हातहतियार सहित पूजामा जम्मा भएका मगरहरूले सुगुर काट्न खोज्दा सुगर हराएछ, भागेछ । खोजी गर्दा भेटिएनछ । एक थरिले वाक खै (सुङ्गुर खै)? भनेछन् भने अर्का थरिले ह्वा (भाग्यो, हरायो) भनेछन् । दोहोरो रुपमा वाक खै ? ह्वा ! वाक खै ? ह्वा ! भन्दै मगरहरूबिच तरबार, हतियार हानाहान समेत भएछ । त्यसपछि सरायँ खेल्दा ‘वाक्खै वह्वा ! वाक्खै ह्वा !’ शब्द गुञ्जिने परम्परा भएछ ।

“कहिले देखि कसरी खेल्दै आएको हो बाबा ! वाक्खै ?” मैले सोधे !

बाबाले भन्नुभयो, “सेन राजाहरूको पालादेखि नै ‘वाक्खै’ खेलिदै आएको हो । सेनकालीन समयदेखि नै पाल्पाको विभिन्न शक्तिपिठ, कोट तथा मन्दिरहरूमा सरायँ खेल्ने प्रचलन चलि आएको हो। पाल्पाली सेनहरु भारतको राजपूतानाबाट आएकोले राजपूतहरूको विजय यात्राको तयारीमा गरिने युद्धकला र संस्कृतिको विकसित रुपमै सरायँ हो । पाल्पा र आसपासका क्षेत्रमा सरायँ खेलिएतापनि विशेषतः दशैको कोजाग्रत पूर्णिमाको दिन तानसेनको बन्दीपोखराको लिपिन्देवी भगवतीको मन्दिर र रैनादेवी छहरा गाउँपालिकाको मुझुङ्गमा अवस्थित श्री कालिका देवी भगवतीको मन्दिरमा खेलिने सरायँलाई आज सम्म पनि चर्चित मेलाको रुपमा लिइन्छ । यसका साथै देवी भगवतीको कृपाले असत्य माथि सत्यको विजय हुने, दानवीय स्वभावलाई परास्त गरेर मानवीय स्वभावको सिर्जना हुने विश्वासका साथ शक्तिकी देवी भगवतीको मन्दिरमा सरायँ खेलिन्छ र ‘वाक्खै ह्वा वाक्खै’ भन्दै तरबार युद्धकला प्रदर्शन गरिन्छ । सरायँ हाम्रो ऐतिहासिक सांस्कृतिक पहिचानको धरोहर हो । हाम्रो दैवी आस्था, सम्पदा र कला हो। यसको संरक्षण र सम्वर्द्धन सवै पक्षबाट हुनु अर्थपूर्ण र महत्वपूर्ण रहेको छ ।”

“बाबा मैले पनि आज मेलामा देखेका कुराहरू र हजुरले भनेका कुराहरूलाई साँझ घरमा कापीमा लेखि भोलि स्कूलमा गएर सवै साथीहरुलाई सुनाउछु है” मैले गर्वका साथ भने ।

“स्यावास बाबु ! सरायँ संस्कृति र इतिहासको बारेमा बालबालिकाहरूलाई स्कूलबाट नै सिकाउनु, बताउनु पर्दछ । जसले गर्दा पुस्तान्तरणसम्म यसको संरक्षण र सम्वर्द्धन भएर जानेछ वाक्खै ह्वा वाक्खै” बाबाले मस्कदै भन्नुभयो ।

“वाक्खै ह्वा वाक्खै” मैले पनि उफ्रदै र जोस्सिदै भने ।

(साभार : अथककै ऐतिहासिक बालकथा संग्रह ‘ अपूर्व दर्शन’ बाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...