Friday 16th January 2026

यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन


आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने अन्तिम दिन हो।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए। यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो। मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्। आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ। निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन्।

बडादशैंको सार्वजनिक बिदा सोमबार सकिएर मंगलबारदेखि सरकारी कार्यालय खुलेका छन्। टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) मा उल्लेख छ।

कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसँै समापन हुन्छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...