Friday 24th July 2026

कांग्रेसमा कोइराला परिवारभित्रै एकताको कसरत


नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४औँ महाधिवेशनमा मिलाउन नसकेकाे ‘कोइराला परिवार भित्रको राजनीति’ व्यवस्थापनको सुरुआत गरेका छन्।

गत महाधिवेशनमा कोइराला परिवारका शीर्ष तीन नेता तीनतिर हुँदा सभापति शेरबहादुर देउवालाई रणनीतिक लाभ मिलेको थियो। १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहने घोषणा गरिसकेका शेखरले शुक्रबार बहिनी सुजातालाई आफ्नो समूहमा स्वागत गरे। सो क्रममा शेखर-सुजाताले कांग्रेस र देशलाई निकास दिन कोइराला परिवार एकै ठाउँमा उभिने बताए।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थितिबीच सुजातालाई स्वागत गर्दै नेता कोइरालाले बहिनीका रूपमा नभई नेताका रूपमा स्वागत गरेको उल्लेख गरे। देश र कांग्रेसको भन्दा व्यक्तिगत स्वार्थको चिन्ता गर्ने क्रम बढेको भन्दै उनले कांग्रेसभित्र आन्तरिक एकता मजबुत पार्न जरुरी रहेको उल्लेख गरे।

‘गिरिजाबाबुले सहमति, सहकार्य र एकता भन्नुहुन्थ्यो। त्यो पार्टीहरूका बीचको कुरा भयो। म यसैलाई बृहत रूपमा भन्न चाहन्छु। पहिले पार्टीभित्र सहमति, सहकार्य र एकता जरुरी छ। यो त्यसैको सुरुआत हो’, कोइरालाले भने। उनले पार्टीभित्र लामो समय योगदान गरेको पुराना सबै नेताहरूलाई आफूले समेटेर अघि बढ्ने बताए। विगतमा कोइराला परिवारभित्रै एकमत नभए पनि आगामी दिनमा सहकार्य गरेर जाने उनको भनाइ छ। ‘राजनीतिमा कहिलेकाहीँ यस्तो हुन्छ। अघिल्लो महाधिवेशनमा सुजाता, शशांक र म मिल्न सकेनौं। अब हामी मिल्छौं। पार्टीलाई एकताबद्ध बनाउँछौं। शशांकसँग पनि संवाद गर्छु’, शेखरले भने।

सो क्रममा नेतृ कोइरालाले पार्टी संकटमा पर्दै गएकाले नयाँ ढंगले एकताको प्रयास गर्नुपरेको बताए। पछिल्लो समय कांग्रेस सत्तापरस्त बन्दा कार्यकर्तामा निराशा छाएको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान परिपक्व नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

‘यो पार्टीमा अहिले शेखर दाइले धेरै मिहिनेत गरिरहेका छन्। पार्टीलाई एकताबद्ध बनाउने र बिपी, गिरिजाबाबुको बेलामा जस्तो कार्यकर्ता संरक्षण गर्ने दायित्व अब शेखर दाइको हो। यसमा म साथ दिन्छु’, सुजाताले भनिन्। उनले भाइ शशांक कोइरालासँग पनि संवाद गरेर छिट्टै घोषणा गर्ने पनि बताइन्। ‘शेखर दाइकोमा आज म आएँ। शशांक पनि आउनुपर्छ। हामी उहाँसँग पनि कुरा गर्छौं। पार्टी बचाउन कोइरालाहरू मिल्नुपर्छ’, सुजाताको भनाइ छ।

कांग्रेसको २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार थिए भने सुजाता प्रकाशमान सिंह नेतृत्वको समूहबाट उपसभापतिको उम्मेदवार रहेकी थिइन्। दोस्रो चरणको चुनावमा प्रकाशमानसुजाता समूहले देउवालाई सघाउने निर्णय गरेको थियो।

पूर्व-महामन्त्री डा.शशांक कोइराला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएका थिए। सो क्रममा शशांकले देउवा वा शेखर कुनै पनि समूहमा आफू नरहेको सन्देश प्रवाह गरेका थिए। गतसाता एक पारिवारिक कार्यक्रमका सन्दर्भमा शशांकको महाराजगञ्जस्थित निवासमा कोइराला परिवारका सदस्यहरूको भेटघाट भएको थियो। सो क्रममा पनि अधिकांशले कोइरालाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

शशांकले आगामी महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। यस्तोमा कोइराला परिवारका नेताहरूबीच निरन्तर संवाद भए मात्रै सहकार्य हुने देखिन्छ।

नेपाली कांग्रेसका पूर्व-मुख्यसचिव शोभाकर पराजुली कोइराला परिवारको एकताले कांग्रेसमा नयाँ सन्देश सञ्चार हुने बताउँछन्। ‘कांग्रेसमा कोइराला परिवारको आफ्नै उचाइ र स्थान छ। जुनसुकै समूहमा भएका नेता कार्यकर्ताको पनि कोइराला परिवारप्रतिको सद्भाव सम्मानित छ।

त्यसैले कोइराला परिवार राजनीतिक रूपमा एक हुँदा कांग्रेसमा नयाँ सन्देश जान्छ’, पराजुलीले भने। उनले शेखर-सुजाता सहकार्य अब शशांकलाई पनि समेट्ने दिशामा केन्द्रित हुने बताए।

यसैबीच कांग्रेस नेता शेखर कोइरालाले पार्टीको महाधिवेशन विधानले निर्दिष्ट गरेकै समयमा हुनेमा आशंका व्यक्त गरेका छन्। पार्टीका महानगर सभापतिहरू सँगको छलफलका क्रममा उनले विधानले चार वर्षमा महाधिवेशन हुने भनेको र २०७८ मंसिरमा ४ वर्ष पूरा हुने भए पनि महाधिवेशन सुनिश्चित हुनेगरी गतिविधि हुन नसकेको उल्लेख गरे। उनले निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसका लागि दुर्भाग्यपूर्ण हुने बताए।

हिमालय टाइम्स दैनिकबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...