Sunday 1st November 2026

आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै


प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।

आज धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनतको पेसा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ।

यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

प्रतिकृयाहरू
...