Wednesday 24th July 2024

चन्द्रमाबाट माटो र पत्थरका नमुना लिएर फर्कियो ‘चाङ्ग‍-अ सिक्स’


चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान ‘चाङ्ग‍-अ सिक्स’ पृथ्वीमा फर्किएको छ। ‘चाङ्ग‍’अ सिक्स’ अन्तरिक्षयान मङ्गलवार इनर मङ्गोलिया मरुभूमिमा अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। चन्द्रमाबाट सङ्कलित ती नमुनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ।

‘चाङ्ग‍-अ सिक्स’ चीनले चन्द्रमामा पठाएको छैटौँ अनि चन्द्रमामाको पृष्ठभागमा पठाएको दोस्रो अभियान हो। चिनियाँ मिथकमा चन्द्रमा देवी हुन् र उनको नाम “चाङ्ग’अ” हो। उनैको नामबाट यो अन्तरिक्षयानको नाम “चाङ्ग’अ” राखिएको हो।

“चाङ्ग’अ सिक्स” मे महिनाको सुरुतिर प्रक्षेपण भएको थियो। त्यसको केही सातामा त्यसले चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्‍यो। उक्त ‘प्रोब’ले एउटा ‘ड्रिल’ र ‘रोबटिक हात’ प्रयोग गरेर माटो र पत्थर सङ्कलन गर्‍यो अनि त्यहाँको तस्बिर खिच्यो र त्यहाँ चीनको झण्डा पनि गाड्यो।

त्यहाँ बरफ हुन सक्ने भएकाले र त्यसबाट पानी, अक्सिजन अनि हाइड्रोजन निकाल्न सकिने आशा गरिएकाले वैज्ञानिकहरूले उक्त भागको अध्ययनमा रुचि देखाएका हुन्।

अब उक्त ‘प्रोब’लाई बेइजिङ पठाइने र सङ्कलित नमुना निकालिने चिनियाँ राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो…

हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिती गठन…

डेमोक्रेट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेको कमला ह्यारिसलाई १९३ डेमोक्रेट सांसदको समर्थन पाएकी छन् । राष्ट्रपति जो बाइडेन २०२४…

प्रतिकृयाहरू
...