Tuesday 18th August 2026

बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै


मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै छन्।

नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए।

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेकाे स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए।

चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुत्केरो परेकालाई छुन नहुने, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए।

यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाएका उनले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए। जिब्रो छेड्न तयार भएका युवक सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रा जोगाउन आफू यस वर्ष पनि जिब्रो छेड्न तयार भएको प्रतिक्रिया दिए।

सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा म उहाँसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, त्यो मौका गत वर्ष जुर्यो, यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे देश घुम्नेछु।”

बुद्धकृष्णले भने, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासंँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवा तयार हुनुपर्छ।”

जात्राअघि चैत २७ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ।

जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी-देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने चलन छ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महाद्वीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाइन्छ।

विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६, २०७८ गरी नौपटक, जुजुभाइ बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका छन्।


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको…

प्रतिकृयाहरू
...