Thursday 2nd May 2024

शिक्षामन्त्री सुमना श्रेष्ठको चेतावनी- शिक्षक र कर्मचारीले दलको सदस्यता लिए कारबाही


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारबाही गर्ने चेतावनी दिएकी छन् ।

उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताएकी हुन्।

मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल मार्फत शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि राजनीतिक सदस्यता लिएका बहालवाला शिक्षक एवं प्राध्यापक र कर्मचारीलाई कारबाही गर्न समेत सम्बन्धित निकायलाई आह्वान गरेकी हुन्।

शिक्षा ऐन २०२८ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको कानुनी प्रावधान उल्लेख गर्दै कार्यान्वयनमा मन्त्रालयको प्रतिबद्धतासमेत सन्देशमा  व्यक्त गरेकी छिन्।

उनले भनेकी छन्, “म आह्वान गर्न चाहन्छु सबै जनालाई कानुनमा स्पष्ट भनिएको छ प्राध्यापक, शिक्षकहरुले राजनीतिक सदस्यता लिएमा पदबाट हटाइने व्यवस्था रहेछ । अब यो कार्यान्वयनको पाटोमा जानुपर्छ ।” उनले शिक्षकले राजनीतिक क्षेत्रमा आबद्ध हुँदा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको बताइन्।

“त्यसकारण कसैले पनि राजनीतिक दलको सदस्यता शिक्षक, प्राध्यापक बहालवाला शिक्षक एवं प्राध्यापकहरुले राजनीतिक सदस्यता नलिनूहोला र राजनीतिक दलको कुनै पनि समितिमा नबसिदिनूहुन म सचेत गराउछु,” मन्त्री श्रेष्ठले भनिन्, “अब शिक्षा क्षेत्र दलीय राजनीतिकबाट मुक्त हुनैपर्छ ।”

उनले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिनका लागि सरोकारवाला सबैलाई आग्रह गरेकी छन् ।

यस्ता उजुरी र गुनासोउपर काम एवं कारबाही  प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित निकायलाई मन्त्री  श्रेष्ठले सन्देशमा  आह्वान गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

चीनको गुआङडोङ प्रान्तमा बुधबार राजमार्ग भत्किँदा १९ जनाको मृत्यु भएको देशको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । गुआङडोङ प्रान्तको मेइझाउ…

प्रतिकृयाहरू
...