Sunday 28th April 2024

पाल्पाकाे रिब्दिकाेट गाउँपालिकाले ६० जना `जड्याहा´लाई फूलमाला लगाएर गर्‍याे सम्मान


पाल्पाको रिब्दीकोटा गाउँपालिकाले बिहीबार अनौठो कार्यक्रमको आयोजना गरेर चर्चामा आएको छ । जाँडरक्सी खाएर होहल्ला गर्नेलाई सबैतिर नराम्रो तरिकाले हेरिन्छ तर रिब्दीकोट गाउँपालिकामा यसको लतमा बसेकाहरुलाई खोजीखोजी सम्मान गर्न थालिएको छ ।

तर, त्यस्ता व्यक्तिलाई पाल्पामा सम्मान गरिएको छ । पालिकाले आफ्नो क्षेत्रमा रहेर यसरी कुलतमा फसेका पुरुष तथा महिलाहरुको लगत संकलन गरेर उनीहरुलाई एकै ठाउँमा जम्मा गरेर सम्मान मात्रै गरेको छैन उनीहरुको भविश्य सुधार्ने योजना समेत बनाएको छ ।

रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो । ‘हामीले पालिकाभरका ६५ जना यस्ता व्यक्तिहरुको नामावली तयारी गरेर खबर गरेका थियौं तर सबै समय नमिलेर आउनसक्नुभएन’ गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले नेपाल प्रेससँग भने ।

कार्यक्रममा सहभागीलाई माला र खादा पहि¥याएर सम्मानसमेत गरियो । त्यसअघि न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुटसमेत प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले भने, ‘खोजीखोजी ल्याइएका ४० जनालाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ ।’

‘विपन्न श्रमिक वर्गको धेरै ठूलो लगानी यसमा गएको छ, कमाएको रकम संरक्षण नहुने मात्रै होइन स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ, अकालमा धेरैको ज्यान गुमेको छ, यस्तो डरलाग्दो विषयमा केही परिवर्तन ल्याउन यस्तो कार्यक्रमको थालनी गरेका हौं’, उनले भने ।

उनका अनुसार जाँडरक्सी खानेलाई सम्मान गरिएको हो तर जाँडरक्सी खाएको कारणले भने होइन । कार्यक्रमको ब्यानरमा उनीहरुको सम्मानका लागि ‘विपन्न वर्ग (श्रमिकलाई सम्मान’ कार्यक्रम लेखिएको थियो ।

पालिका अध्यक्ष कार्कीले भने, ‘‘जाँडरक्सी खाएको कारणले उहाँहरूलाई सम्मान गरेका होइनौँ । जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरेका हौँ ।, अहिले धेरैको परिवार जुटाउन सकेनौ अब वडागत तहमै परिवारलाई जुटाएर यसलाई निरन्तरता दिनेछौं ।’

सम्मानित हुने ४० जना सबै श्रमिक हुन् । कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् ।

नियमित जाँडरक्सी खाएर आफ्नो स्वास्थ्य, घर परिवार र आर्थिक अवस्था दयनीय अवस्थामा पुगेकाहरूको वडा कार्यालयमार्फत् विवरण संकलन गरेर पालिकाले व्यङ्ग्यात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी ४० जनाको जनही ३५ सय रुपैयाँको दरले स्वास्थ्य बिमा गरिएको छ । पालिका अध्यक्ष कार्कीले स्वास्थ्य बिमा आफूले पाउने पारिश्रमिकबाट खर्च गर्ने प्रतिवद्धता गरेका छन् ।

सम्मान कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा गएका स्थानीय पत्रकार रामप्रसाद न्यौपानेले मेहनती व्यक्तिहरु कुलतमा लाएकै कारण परिवार, समाजमा समस्या आएकााले यस्ता कार्यक्रमले केही न केही परिवर्तन ल्याउने बताए ।

‘यस्तो कुलतमा पुरुष मात्र होइन महिला पनि सहभागी भए, यसलाई रोकथाम गर्ने यो एउटा विकल्प हुनसक्छ, यो चेतनामूलक कार्यक्रम हो । पालिकाभित्र जाँडरक्सी सेवनबाटै धेरै मानिसको घरबार बिग्रिएको, परिवार लथालिंग भएको, परिवार, समाजमा दिनहुँँ झैं झगडा कलह भएको, अन्त्यमा कम उमेरमै मृत्यु भइरहेका घटनाहरूलाई ध्यान दिएर यस्तो कार्यक्रम ल्याएको हो भनेर मैले सहभागीलाई सुनाएको हुँ’, न्यौपानेले भने ।

पालिकाले परिवारको स्वास्थ्य बिमा, ड्रेसको व्यवस्थापन, सीपमूलक तालिक र केही आर्थिकको व्यवस्थापन गरेपछि सहभागीहरु खुसी देखिए, ६५ जनालाई बोलाइएपनि सबै सहभागी भएनन्’ उनले भने । उनले सहभागीहरु पालिकाको यस्तो कार्यक्रममा खुसीसाथ सहभागी भएको र अबका दिनमा उनीहरुका परिवारसँग बसेर यस्ताखालका बसाई गर्न पाए थप प्रभावकारी हुने सुझाव दिएका छन् ।

गाउँपालिकाले पुरुष मात्र होइन नियमित रक्सी सेवन गरी घरवार लथालिंग भएका महिलालाई पनि फूलमालाले सम्मान गरेको छ । विकास निर्माणसँगै, सभ्य समाज निर्माण गर्नु, समाजमा हुने विकृति विसँगति हटाउनु, गलत बाटो तथा संस्कारमा लागेका व्यक्तिहरूलाई साहारा दिई सुधार गर्नु स्थानीय सरकारको कर्तव्य र दायित्व भएकोले यो अभियान सुरु गरेको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् ।

पालिकाले रक्सी छोड्ने युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीमा प्राथमिकता दिने जनाएको छ । जाड रक्सीमा भुलेका युवालाई श्रम र सिप, आय आर्जनसँग जोड्ने गरी गाउँपालिकाले नीतिगत व्यबस्था गर्ने विषयमा छलफल सुरु भएको पालिकाले जनाएको छ ।

साभारः रामप्रसाद आचार्यको लेख, नेपाल प्रेस


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...