Friday 23rd October 2026

भिजिट भिसामा विदेश गएर नफर्किने बढेपछि सरकारले गर्‍यो कडाइ


सरकाले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि थप कडाइ गरेको छ । भिजिट भिसामा विदेश जाने र नफर्किनेहरुको संख्या बढेपछि सरकारले कडाइ गरेको हो ।

अध्यागमन विभागले बुधबारदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसा प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा नयाँ व्यवस्था गरेको हो ।

विभागले वेभसाइटमा ११ बुँदे यात्रा परामर्शपत्र जारी गर्दै बुधबारदेखि भिजिट भिसामा विदेश जानका लागि आवश्यक पर्ने कागजातबारे जानकारी गराएको हो । भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको छ ।

भिजिट भिसामा जानेहरुले अब दुई तर्फी हवाई टिकट बुझाउनेपर्नेछ भने सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिनेछ ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने विभागले जनाएको छ । त्यस्तै, कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण चाहिने व्यवस्था गरिएको छ ।

युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने विभागले जनाएको छ । अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने जनाएको छ ।

त्यस्तै, विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न विभागले आग्रह गरेको छ । भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्धग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन सुचित गरेको हो ।


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...