Saturday 6th June 2026

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण


रासस -म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ। बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो। बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताए।

‘बेनी–३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला सङ्कलन गरेर राखेका छौँ,’ उनले भने, ‘सुुन्तलापछि जिल्ला भरका कृषकले उत्पादन गरेको आलुलगायत कृषिउपज भण्डारण गर्ने तयारी गरेका छौँ।’

नगरपालिकाले क्रेट र कृषकले सुन्तला उपलब्ध गराएका छन् । चिस्यान गृहमा राखेको सुन्तला अगामी फागुन चैत महिनाको बेमौसममा बजारमा पठाएर बढी मूल्य पार्न सकिने वडाध्यक्ष खड्काले बताए। कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले गत असोजमा चिस्यान गृह निर्माण सम्पन्न गरेको थियो ।

एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ रुपैयाँ लागत अनुमान गरिएको चिस्यान गृह बनाउन राजेशबाबु निर्माण सेवा जाजरकोटसँग एक करोड ५१ लख २० हजार सात सय ३८ मा २०७९ फागुन तेस्रो साता सम्झौता भएको थियो ।

तापक्रमलाई सन्तुलित बनाइराख्ने उपकरण र संरचना भएको सो चिस्यान गृहको क्षमता तीन सय मेट्रिक टन रहेको छ । नगर र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा चिस्यान गृह सहयोगी बन्ने अपेक्षा गरिएको छ । चिस्यान गृह नगरपालिकाको गत आर्थिक वर्षको सबैभन्दा ठूलो र प्राथमिकता प्राप्त योजना हो ।

तीन वर्षअघि बेनी नगरपालिकालाई चिस्यान गृह बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । चिस्यान गृह बनेपछि सुन्तला, आलुलगायत कृषिउपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिने कृषकसमेत रहेका वडासदस्य सन्दीप खत्रीले बताए ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा २० मेट्रिक टन र वडा नम्बर २ भगवतीमा २५ मेट्रिक टन क्षमताको चिस्यान गृह निर्माण भएको छ । झिँमा रु २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए।

भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले करबाहेक ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो । दुुई वटै चिस्यान गृह प्रयोगमा भने आएका छैनन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा बेनी –९ बियाडामा पाँच हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको छ । यसअघि गत वर्ष अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

प्रतिकृयाहरू
...