“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०८/१९
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट : यो साता स्वतन्त्र आफूलाई इच्छा लागेको पञ्चाङ्ग पोष्ट गर्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
अधिकारका कुरा, पछि पार्छन् दासी भन्छन्
रात रह्यो मार्सी चामल भात बासी भन्छन्
दबाउने उति शिक्षा दिने उस्तै हुन्न नी
कुण्ठामा डुबाएर राख्छन् अझ हाँसी भन्छन्
समताका कुरा नगर्नु बदमासी भन्छन् ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
मलजल नगरी जरा काट्ने छन् यहाँ
अझ पैसासँग इज्जत साट्ने छन् यहाँ
देखिनेछ छर्लङ्ग , यो मन हुन्छ दङ्ग
छोडिएका ती वस्तु पनि चाट्ने छन् यहाँ
रिसले कुरा रुपी डोरी बाट्नेछन् यहाँ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ३
सोचेर हेर मुटुमा बेर गाँसेर साधन
मायाको जाल बुनेर हेर टाँसेर साधन
जीवन राम्रो बनाउ हेर मायाले चिनेको
अलग हुनु त्यागेर पीर मासेर साधन
यथार्थलाई उचित मान्नु चासेर साधन ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग ४
हॅसाउने भन्दा रूवाउने धेरै छन्
आफैलाई धोका खुवाउने धेरै छन्
कसैको विश्वास गर्न सकिदैन यहाँ
गर्भभित्रै भ्रुण तुवाउने धेरै छन्
भगवानको फोटो छुवाउने धेरै छन् ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ५
बारीमा कोदो पाकेको छ
काट्ने समय नाघेको छ
एक्लैले गरुँ त के गरुँ
समयले नै मागेको छ
एउटा साथी चाहेको छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ६
मङ्सिर छोटा दिन चाँडो छैन
मङ्सिर मास पनि जाडो छैन
पहिलाको जाडो कता हरायो
दिनमा रोम पनि ठाडो छैन
मकल ताप्न पनि भाडो छैन ।
मधुसूदन प्रसाद धिमिरे
पञ्चाङ्ग ७
अनेक रूपरङ्गका यहाँ कपटी जाली छन्
जरा नै यहाँ उखेली फाल्ने अनौठा माली छन्
कामको कुनै खोजी नै छैन नामको खोजी छ
चौतारीभरि लेखियो नाम सुकेका डाली छन्
भोजमा निम्तो गरियो तर चुहिने थाली छन् ।
चन्द्रावती अधिकारी
पञ्चाङ्ग ८
१
भाग्यमा कपट जाल भयो
नसोचेको यहाँ चाल भयो
भोग्दैछु दुःख थेग्दैछु कष्ट
जेलमा कैदी झैँ ताल भयो
जिन्दगी मेरो बेहाल भयो ॥
२
पक्कै अब सद्भावना जोड्नुपर्छ
कुबिचारहरू च्वाट्टै छोड्नुपर्छ
काम क्रोध लोभ मोह अहङ्कार
फोस्रा रुढीवादहरू तोड्नुपर्छ
शान्ति मार्गमा दुनियाँ मोड्नुपर्छ ॥
३
पर्म लगाउन म आउँछु त्यहाँ
कोदो टिपेर गीत गाउँछु त्यहाँ
पाकेको बाली नास हुन नदिऊँ
मन मिलेमा माया लाउँछु त्यहाँ
कुरा मिल्यो भने त धाउँछु त्यहाँ ।।
४
रुवाउँछन् भन्दैमा नरुनु भाई
फेरी तिमी रोएको नसुनुँ भाई
पहिले आफैँमाथी विश्वास गर्नु
अरूको मात्र भर नहुनु भाई
नहिड्ने बाटो छुँदै नछुनु भाई ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ९
आऊ हामी सुन्दर संसार जोडौँ अब
मनमा आएका कुविचार छोडौँ अब
बस्न हुन्न रिस राग द्वेसलाई बोकी
सुख्खा जमीन् रूपी मनलाई गोडौँ अब
अहंकारी ती भावना सबै तोडौँ अब ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १०
भावनालाई प्रदर्शन गरी प्रेमको सितलता छर्न सक्छौ
सितल- सितल प्रेमले मानव संस्कृतिको रंग भर्न सक्छौ
भावनाले जोड्छ स्नेह र प्रेमलाई,शान्तिको मार्ग भेट्टिनेछ
यदि स्नेह र प्रेमको डोरी चुट्यो भने तिमी तल झर्न सक्छौ
अघि जाने मार्ग रोक्किनेछ तिमी अलपत्र परि मर्न सक्छौ ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ११
माटो ओल्टाई पल्टाई गरि खानुपर्छ
पसिना चुहाई वरिपरि खानुपर्छ
नगरी काम कसरी छाक टर्छर हो
त्यसैलेे दु:ख गर्दै यसरी खानुपर्छ
भोको नबसेर पेटभरि खानुपर्छ ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३काभ्रे
पञ्चाङ्ग १२
हामी मिलेपछि देश सुन्दर हुन्छ
एकले अर्कामा सबैको भर हुन्छ
सरकार अनुसाशित बनौँ हामी
यो एकताले दुष्टलाई डर हुन्छ
मिलेर बस्ने सबैलाई कर हुन्छ ।
सुरेशकुमार पाण्डे
पञ्चाङ्ग १३
आफ्नो मुटु आफै काट्न सकिएन
एक थियो मन साट्न सकिएन
गरिब भएकै कारणले होला
पिरतीको डोरी बाट्न सकिएन
दोबाटोको जस्तै फाट्न सकिएन ।
– आर्त अकुलीन
पञ्चाङ्ग १४
बाँड्न सकिन्छ भने माया बाँडौँ संसारमा
रागद्वेष,ईर्ष्या, हिँसा सदा फाँडौँ संसारमा
सबैका मनमा सद्भाव पलाओस् हे!प्रभु
आपसी एकता तोड्नेलाई छाडौँ संसारमा
कुसंस्कार-कुरीतिलाई अब गाडौँ संसारमा ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग १५
दिउँसै रात पार्न खोजी अचम्म छ
लठ्ठीले नै तारा झार्न खोजी अचम्म छ
अचेल त्यो केटी पनि के भाकी हो कुन्नि
बन्दुकले माखो मार्न खोजी अचम्म छ
कुवाभित्र खुट्टो पार्न खोजी अचम्म छ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १६
खेतबारी बाँझो गर्न हुन्न हामीले
रोपी हेरौँ मकै छर्न हुन्न हामीले
गरि खानेहरूको इज्जत सम्मान
गरौँ कसैआँखा तर्न हुन्न हामीले
मिलौँ छिमेकीमा लर्न हुन्न हामीले ।
भगवती दवाडी ,झापा
पञ्चाङ्ग १७
धनि को गरिब अन्याय गरेको छैन
देशको कानुन फुल झै झरेको छैन
न्याय नपाए काँसी जानू भन्नेहरूले
ढिला चाँडो मात्र हो न्याय मरेको छैन
बिटोको भरमा नियम सरेको छैन ।।
संगीता खरेल
चन्द्रागिरी वडा नं आठ मातातिर्थ
काठमाडौँ
पञ्चाङ्ग १८
माया नै मायाले संसार बनाउनु छ
गरि खाने प्रसस्त आधार बनाउनु छ
सत्मार्गमा मन लगाई कुमार्ग छोडेर
आफुलाई समयानुसार बनाउनु छ
सबै खुसी हुने व्यबहार बनाउनु छ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १९
जहाँ भेट्यो त्यहीँ निमोठ्ने बसेको छ बानी यहाँ
कसैले भनोस् नभनोस् आफैँ बन्दछ ज्ञानी यहाँ
सोझो रुख पहिल्यै काट्ने यो पुरानो चलन हो
आफ्नै बलमा उभिन खोज्ने कहन्छ कहानी यहाँ
सधैँ अशक्त ट्याग लाग्ने खै कहाँ छ जवानी यहाँ ?
प्रदीप के रिमाल
सुनसरी ।