Monday 8th June 2026

रुसी सेनामा ४ हजार नेपाली


नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी भर्ती हुनेबित्तिकै युक्रेनविरुद्धको लडाइँमा होमिएका छन् ।

यहाँको स्थिति निकै नाजुक रहेको र आफूहरू पनि युद्ध लड्न खटिन लागेको ती युवाले बताए । आफूहरू पनि केही दिनमै युद्धका लागि मैदानमा उत्रने तयारीमा रहेको उनले बताए ।

‘यहाँ आएको दुई महिना भयो भोलि, पर्सि हामी पनि लडाइँ जाँदै छौं, के हुन्छ थाहा छैन, रुसी सेनामा हामी ३ देखि ४ हजार जनासम्म नेपाली छौं,’ नाम उल्लेख नगरिदिन आग्रह गर्दै ती युवाले राजधानीसँग भने, ‘यहाँ ठाउँनुसार खटाउँछ, खोइ कहाँ परिने हो ? थाहा छैन, ठूलो सपना बोकेर आइयो, युद्ध त लड्नैप¥यो, मरिने हो कि बाँचिने हो ? केही थाहा हुँदैन ।’ रुसी सेना अग्र मोर्चामा खटिने गरेको र आफूहरूले पछाडिबाट साथ दिने उनले बताए ।

‘अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ नि ? भन्ने प्रश्नमा उनले त्यो त बाहिर आएको मात्र ६ जना हो, मृत्यु भएका र बाहिर नआएका त धेरै भएको ती युवाले बताए । आफूहरू धेरै नेपालीसँग सम्पर्कमा नरहेको र ठूलो संख्यामा रुसी सेनामा भर्ती भएका नेपालीहरूले ज्यान गुमाएको हुनसक्ने ती युवाको भनाइ छ ।

त्यहाँ पछिल्लो अवस्था पनि भयावह रहेको रुसी सेनामा कार्यरत नेपालीहरू बताउँछन् । नेपाल सरकारको तथ्यांकनुसार अहिलेसम्म ६ नेपालीले रुस–युक्रेन लडाइँमा ज्यान गुमाइसकेका छन् भने दुई नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन् । सरकारले रुस जान रोक लगाए पनि मानव तस्करहरूले गैरकानुनी बाटो हुँदै मोटो रकम लिएर रुसी सेनामा नेपालीहरूलाई पठाइरहेका छन् ।

सामाजिक सञ्जाल टिकटकमा सयौं नेपाली युवा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लडिरहेको भनेर विभिन्न भिडियो पोस्ट भने भइरहेका छन् । सरकारले रुस जानुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट ‘एनओसी’ लिनुपर्ने जनाएको छ ।

अतः कसैको प्रलोभन वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन अनुरोध गर्दै आए पनि अझै रुसी सेनामा जाने नेपालीको संख्यामा कमी आएको छैन । प्रहरीले गत साता रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

सोमबार मात्र प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका थिए ।

राजधानी दैनिकबाट


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...