चित्रमा पञ्चाङ्ग
===========
भाग: ८९
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०७/३०
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उनान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
हिमाल पहाड तराईले राष्ट्र बनेको छ
त्रिभुज हाम्रो देशको झण्डा कोण गनेको छ
सेतो हिउँ निश्चल झरना नेपालको माटो
यही माटोमा जन्मेर यही माटो खनेको छ
माथि चन्द्र तल सूर्य मेरो आफ्नो भनेको छ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
बिश्वको सर्बोच्च हिमाल देखिन्छ यहाँ
हिमालको काखमा झन्डा भेटिन्छ यहाँ
हिमाल झन्डा नेपालको गौरव हुन
चन्द्र सूर्य त्रिकोणी भित्र केरिन्छ यहाँ
अटल अमर नेपाल छेकिन्छ यहाँ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ३
आह! कति सुन्दर छ मेरो देश भन्नेहरु धेरै छन्
सुन्दरताको बयान गर्दै देश छाड्नेहरू जेरै छन्
अरु त के हिमालको हिउँ पनि पग्लेर जान्छ उतै
यहीँ बस भन्ने कसले अघि अघि जाने त मेरै छन्
कसरी रोकुँ मान्छेहरुलाई, मान्छे सुविधा नेरै छन् ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ४
नेपाल हाम्रो गौरवशाली विश्वको सान हो
चन्द्र र सूर्य अंकित ध्वजा बोकेर लान हो
सदियौँदेखि पुर्खाले आर्जी राखेको देश यो
फूलका थुंगा जसरी बस्ने राष्ट्रिय गान हो
खोजेर हेर्दा के छेन यहाँ प्रकृति दान हो ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ५
हिउँमा पनि सूर्य र चन्द्रमा अङ्कित भेट्यौँ
हाम्रो देशको झण्डा सँग हिउँकै मित भेट्यौँ
प्रकृतीको राम्रो बनावट यो मायाँ रहिरहोस्
दुनियाँभरीमा गोर्खालीको सधै जित भेट्यौँ
स्वर्गतुल्य देशमा सबै मान्छिको हित भेट्यौँ ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ६
कचौरा हिमको अग्लो सजाऊँ दिलभित्र म
फोहोरी मनका खाल्डा बजाऊँ दिलभित्र म
उन्माद मृत्यु हो मान्छे भगाएर अझै उता
बाँध संयमको बाँधी कँजाऊँ दिलभित्र म
हिमपाँजा मिलाएर पँजाऊँ दिलभित्र म!!
कलानिधि दाहाल
पञ्चाङ्ग ७
मेरा अनि सबैका दुर्बलता खार्न खोज्दैछु
राष्ट्र भाव मनमा राख्न बानी पार्न खोज्दैछु
सबैमा हेक्का रहोस् सम्पदाको रक्षाका लागि
आफ्ना रहरहरू सीमा भित्रै बार्न खोज्दैछु
समस्याहरू हिमशृङ्खलामै तार्न खोज्दैछु ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ८
मौरीकै छ रानो यो देश मेरो
संस्कारको पानो यो देश मेरो
चन्द्र सुर्य अङ्कित आहा झण्डा
छैन कहीँ सानो यो देश मेरो
सँसारको छानो यो देश मेरो ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ९
नेपालीको गुणगान सम्झेर
उर्वर खेतको धान सम्झेर
चन्द्र सूर्य अङ्कित मेरो झण्डा
फहरिन्छ उच्च मान सम्झेर
बढेको छ पहिचान सम्झेर ।
– आर्त अकुलीन
पञ्चाङ्ग १०
हिमालमा नेपाली पहिचान देखियो
नेपालीको सान झण्डाको मान देखियो
झण्डा, हिमाल हुन हाम्रो देशका गौरव
हिमाल, चन्द्र, सूर्य अंकित सान देखियो
यो संयोजन हाम्रो देशको जान देखियो ।
शोभा आचार्य गौतम
काठमाडौँ ।
पञ्चाङ्ग ११
यो संसाराले चिनेको छ हिमशृङ्खलाको देश नेपाल
आकर्षणको केन्द्र पर्यटकको थलाको देश नेपाल
वीर गोर्खाली स्वाभिमानी कहलिएका नामी पनि हौं
विभिन्न धर्म, संस्कार, परम्परा तलाको देश नेपाल
भरपूर काष्ठ देखि राम्रो ठाउँ कलाको देश नेपाल ।
#पृथक प्रकृति,झापा
पञ्चाङ्ग १२
कहिले बाहिर त कहिले भित्र देखियो
हिमाल पहाड र तराई मित्र देखियो
यो संसारकै सुन्दर देश मेरो नेपाल
पार्वतीको जन्मस्थल हो पवित्र देखियो
हिमालमा झन्डाको विचित्र चित्र देखियो ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १३
सर्वोच्च शिखर सगरमाथा मान हाम्रो
चन्द्र र सूर्य अङ्कित यो झण्डा सान हाम्रो
रणभूमिमा प्राणाहुति दिनु परे पनि,
शत्रुसामु कहिल्यै नझुक्ने त्यो बान हाम्रो
नेपालीको ढुकढुकी राष्ट्रीय गान हाम्रो ।
टीकाराम जोशी, टीकापुर
पञ्चाङ्ग १४
आँखैभरि नेपाल छ हेर्न जान्यो भने
अँगालोमा नेपाल छ बेर्न जान्यो भने
हावा पानी माटोभरि नेपाल यो हाँस्छ
शब्दभरि नेपाल छ केर्न जान्यो भने
सासैभरि नेपाल छ फेर्न जान्यो भने ।
चन्द्रावती अधिकारी
कोहलपुर बाँके ।
पञ्चाङ्ग १५
राष्ट्रिय झण्डा हाम्रो शान हो
हामी सबै नेपालीको मान हो
सगरमाथापनि छ हाम्रै देशमा
नेपाल देशनै बुद्धको ज्ञान हो
श्रद्धा गर्नुपर्ने हाम्रो ध्यान हो ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग १६
नमुना झण्डा भएको विश्वको एक देश हजुर
कला र संस्कृतिले भरिपूर्ण भाषा भेष हजुर
उच्च शिखर सगरमाथा नेपालीको सान होनि
सुन्दर र शान्त प्रकृतिपूर्ण परिवेश हजुर
विरता कहानि बनाउने पृथ्वी नरेश हजुर ।
संगीता खरेल
चन्द्रागिरी ८ मातातिर्थ
काठमाडौँ