Tuesday 26th November 2024

चित्रमा पञ्चाङ्ग, भाग – ८५


चित्रमा पञ्चाङ्ग
===========
भाग: ८५
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०७/०२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
गुणनिधि घिमिरे
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पचासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
दशैँको दक्षिणा राख्ने झोला मेरो
अब बग्ने भो पैसाको खोला मेरो
भर्न सक्छु कि भनेर फुर्कँदैछु
पैसा नपाए के गति होला मेरो
ॐ जय शिव शंकर भोला मेरो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग २
मान्छे भन्दै झोला ठुलो
नदी भन्दा खोला ठुलो
रुने हो कि हाँस्ने यहाँ
डर भन्दा कोला ठुलो
गानो भन्दा गोला ठुलो ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २
मान्छे भन्दा ठूलो झोला कस्तो कस्तो
अब को जिन्दगी होला कस्तो कस्तो
दशैं कि दसा हो शान्ति छैन मन्मा
सधैं बग्ने सुक्यो खोला कस्तो कस्तो
हेर बेलुनको लोला कस्तो कस्तो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ३

बातले मात्र हाम्रो देश धानेका छन्
आफूले कुम्ल्याउन मात्र जानेका छन्
अचम्मै साउती गर्छन् जसरी पनि,
राम्रो गर्नेलाई त खुट्टा तानेका छन्‌
झोला जस्तै व्यङ्ग्य वाणले हानेका छन् ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४

आफू भन्दा ठुलो झोला भरे होलान अझै पुगेको छैन
चिम्टी मानबाट तल झरे होलान अझै पुगेको छैन
अन्न भर्न पाए त्यो झोलामा धन्य दशैंमा हुने थिए
जनतामा छारो हाल्न के के गरे अझै पुगेको छैन
भ्रस्ट पुल धेरै नै तरे होलान अझै पुगेको छैन ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग ५

झोलाभरि पैसा भर्नेले त भर्छन्,
भ्रष्टाचार मेसो गर्नेले त भर्छन्
आफ्नो भने थैली गोजी पनि रित्तो
झोला बोकि राति चर्नेले त भर्छन्
गरिबको श्रम हर्नेले त भर्छन् ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ६

महंगाईले पैसा झोलामा बोक्नु पर्ने भयो
कुरा सुनेपछि हेर जिब्रो टोक्नु पर्ने भयो
मान्छेले समान खल्तीमा ल्याउने दिन आए
कालो बजारी सरकारले रोक्नु पर्ने भयो
कानून नमान्नेलाई अब ठोक्नु पर्ने भयो ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ७

आशिर्वादले मात्रै कसैको झोला भरिन्न हजुर
जबसम्म त आफैंले मिहिनेत गरिन्न हजुर
आशिर्वादलाई त सधैं प्रेरणाको श्रोत ठानेर
कर्म गर्न छाड्नु हुन्न जबसम्म मरिन्न हजुर
कर्ममा विश्वास गरे कहिल्यै पछि परिन्न हजुर ।

-पशपती राई खोटाङ।

पञ्चाङ्ग ८

लोभ मात्र कति गर्छौ धनको धेरै
विचार ठुलो राख न मनको धेरै
झोला देखाएर व्यङ्ग्य मात्र हो ठूलो
दशैँ मान्न गाह्रो कति जनको धेरै
हेर्दा, पर्दा फरक जीवनको धेरै ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग ९

पैसै पैसाको खोला बग्ने छ अब
सुन चाँदीको तोला बग्ने छ अब
आफन्तसँग मित्र भाव राखेमा
नदिमा रित्ता झोला बग्ने छ अब
खुसीमा स्वयं चोला बग्ने छ अब ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग १०

प्यास मेट्छ धर्तीले हजारौँ हजार खोला बोकेर
बाँचिरहेछन् लोभीहरू बगर झैँ चोला बोकेर
आशीर्वाद एउटा बहाना मात्र हो चाहना अर्कै
टीका लगाउन आउँछन् घमन्डका लोला बोकेर
दक्षिणा हाल्न आफूभन्दा निकै ठुला झोला बोकेर ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग ११

यो पाली त राम्रैसङ्ग दसैँ मनाउनु छ
टीका थापेको पैसाले घर बनाउनु छ
धेरै साल भयो टीका मान्न नै नपाको
यो दॅसैँले केही दियो भन्ने जनाउनु छ
आहा!कति राम्रो दसॅ जस्तै भनाउनु छ ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १२

कसैले धन् खोज्न कसैले व़जन खोज्छन्
बिकृतीका लागी मात्र रनबन खोज्छन्
जहर पनि आउँदैन बिना पैसाको
बोकेर ठुलो झोला कोही लगन खोज्छन्
आखिर कथामै आफुलाई इञ्धन् खोज्छन् ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पन्चाङ्ग १३

नानी भन्दा आची ठुलो भन्नुहुन्थ्यो आमाले
जीवन यो धान्नलाई सारै भयो धामाले
चाड पर्व संधै जसो आईरन्छन् घुमेर
खाद्यान्नको गर्यो जोह केले किन्ने जामाले
ठूलो झोला बोकी जान्छु आफन्त छन् मामाले !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग १४

धोक्रो जस्तो देखिने तिम्रो कस्तो झोला यो
त्यस्तो झोला बोकेर कता हिड्या होला यो
देख्न पनि के के पर्छ फेसनको नाममा है
लुगाफाटो बोक्ने हो या गहनाका गोला यो
यस्तो फेसन गर्नेलाई भाँडा माझ्न बोला यो ।

प्रदीप के रिमाल
इटहरी सुनसरी।

पञ्चाङ्ग १५

नवरात्रि पछि रफ्तारमा आउँदै होला बडादशैँ
महङ्गीलेनै शायद जुरायो यो झोला बडादशैँ
आशिषसँग सबैकाे निधारमा राता अक्षता हुनेछ
शरद ऋतुले पनि फेर्नेछ आफ्नै चोला बडादशैँ
माया रत्ती आनामा होइन गरौं तोला बडादशैँ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग १६

कसैलाई दशै सजा भएको छ
कसैलाई दशै कजा भएको छ
पैसा राख्ने झोला मान्छे भन्दा ठुलो
गरिबलाई त लजा भएको छ
धनीलाई दशै मजा भएको छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १७

फेसनमा शान गर्नेहरू
बिकृतिको मान गर्नेहरू
कोही कतै देखिन्न मानिस
माटोप्रति गान गर्नेहरू
दु:खीलाई दान गर्नेहरू !

– आर्त अकुलीन

पञ्चाङ्ग १८

कहिले भरिने हो गरिबको झोला यहाँ
के नै पो रहेछ र ? मानिसको चोला यहाँ
जति दु:ख गरे पनि एक पेट खान हो
मान्छे कति स्वार्थमा भै भिडेका होला यहाँ
आखिर सबैले जाने त्यही हो खोला यहाँ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १९

कति समय लागने पो होला भर्नालाई
बगाएर यो पसिनाको खोला भर्नालाई
म कहिले ~~सम्म धाउँ हरेक गाउँगाउँ
मागेर दशैको दक्षिणा झोला भर्नालाई
बितने होकि यशै मेरो ~चोला भर्नालाई ।

मनोज राना बन्गाड कुपिण्डे नगर पालिका ३


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...