तोयानाथ दाहाल, उपेक्षित, संसार भरी जहाँ जहाँ नेपाली छन त्यहाँ त्यहाँ एनआरएन को संगठन पुग्ने क्रममा छ तर यसै बीच दुई बर्ष पहिले एनआरएन मा विभाजन आयो । जसले गर्दा प्रवासमा रहेका नेपालीहरु एनआरएनको आर्कषण बाट टाढिन थाले । आज भोली दुवै एनआरएन नेतृत्वले त्यो कुरालाई बुझे वा आपसमा बाझिएको स्वार्थ मिल्यो र एकाएक एकता भएको समाचार आएको छ ।
मिल्नु पक्कै राम्रो कुरा हो । फुटेर कसैको भलो हुदैन तर विभाजन किन र केका लागि भएको थियो अनि अहिले आएर मिलन कसरी भयो भन्ने कुरा एनआरएन का साधारण सदस्यहरुले प्रष्ट जान्न पाउने गरी औचित्य पुष्टि गर्न पर्दछ । शायद यो कुरा सवैले थाहा नपाउलान । नेतृत्वले हिजोको विबाद आज मिलनका बेला सतहमा ल्याएर प्रचार नगर्ला तर यी सवै घटनाहरुका पछाडीको मुल कारण नै राजनीती नै हो भन्ने बुझ्न गाहो छैन ।
गैर राजनैतिक सँस्था भनिए पनि एनआरएन अन्तराष्ट्रिय समिती देखि विदेशमा रहेका सवै शाखाहरुमा राजनिती घुसेको छ । यदि कहि राजनिती घुसेको छैन भने त्यहाँ जातिवाद हावी भएको देख्न सकिन्छ । विगतको चुनाव देखि नै पन्त र आचार्य समुहहरुले, बाम र प्रजातान्त्रिक समुहका रुपमा खुल्लम खुल्ला प्रचार गरेकै हो । त्यहि हिसावले एनआरएनका झगडाहरु वा उमेद्धारहरुको छनौट राजनैतिक नेतृत्वले गर्ने गरेको कुरा कहि छिपेको छैन । तर यो गैर राजनैतिक संस्था हो भन्न पर्ने विधान बनाईएको छ ।
अब अक्टोवर महिनामा एनआरएन को अन्तराष्ट्रिय सम्मेलन हुने छ तब तमासा त्यहाँ देख्न पाईनेछ । “पैसा फयाको तमासा देखो” भन्ने चटकेको खेल एनआरएनको चुनावमा हुने छ । त्यसलाई अनलाईन नै गरिएछ भने पनि त्यहाँ समुह समुह तयार भएर नेतृत्वमा जान खोज्नेहरुलाई मत बेच्ने दोकान चलाउने छन । खाडीमा आफै खर्च गरेर केही अगुवा एनआरएनहरुले मतदाता संख्या विस्तार गर्ने छन । त्यो अभियान धेरै पहिले बाट शुरु पनि भैसकेको छ र तिनै टाउका देखाएर पाकेटका मानिसहरुलाई प्रतिनिधी का रुपमा सम्मेलनमा पठाईनेछ र अगुवाहरुले काठमाण्डौमा तिनको सौदाबाजी गरेर फर्कनेछन । अझ अलिक अमर्यादित लाग्ला तर सत्य के हो भने खाडीका दुई पैसे एनआरएन का सदस्यहरु लाई भेडा बाख्रा सरह खरिद विक्रि गरिने छ ।
सम्मेलनमा गल्फ बाट आएका महाधिवेशन प्रतिनिधीहरुलाई हेर्ने दृष्टिकोण नै वेग्लै हुने छ । उनीहरुका लागि काठमाण्डौमा कस्ले होटल बुक गरेर राख्ने, कसले वियर र मासुको जोह गर्ने भनेर प्लेन चढन अघि नै सेटिंग भईसकेको हुनेछ । कसैले प्याच्च भन्नै पर्दैन तिनका आँखा ले खाडीका महाधिवेन प्रतिनिधीलाई हेर्दै थाहा हुन्छ । उसको मनमा के कुरा खेलिरहेको छ ।
एनआरएन मा लाग्ने नेतृत्वमा पुग्न मरिहत्ते गर्नेहरुका विभिन्न स्वार्थ छन । त्यो तहमा जान खोज्ने कुनै प्रोफेसर,ईन्जिनियर, बैज्ञानिक, समाजशास्त्री, अर्थशास्त्री नभएर व्यपारीहरु मात्र हुनेछन । विदेशमा स्थायी बसोबास गरेर ठुलठुला व्यपार गर्नेहरु ले नै नेतृत्वमा दावी गर्ने गरेका हुन्छन । अहिले सम्मको एनआरएनको नेृतत्व लाई हेरर्यो भने आफै स्पष्ट हुन्छ । उनीहरु एनआरएनको तागतका भरमा नेपालको निति निर्माण तहमा समेत पहुच बढाउन वा हावी हुन चाहान्छन । हाम्रा देशका विकाउ नेताहरुलाई खरिद गर्न सक्ने सामर्थ उनीहरुले राख्ने गर्दछन । त्यही भएर नेपालमा लगानी गर्न सजिलो होस भनेर एनआरएनको छाता समाउने उनीहरुको मुल ध्येय रहन्छ । बैंकिंग, हाईड्रो, हस्पिटालिटी, केवल कार, सुपरमार्केट , अस्पताल, आईटी जस्ता धेरै सेक्टरहरु मा उनीहरुले लगानी गरिसकेका छन र नाफामुलक अन्य क्षेत्रमा समेत उनीहरु त्यही एनआरएन मार्फत प्रयत्न गर्दछन ।
युरोप, अमेरिका तथा अष्ट्रेलियाका एनआरएनहरुलाई दोहरो नागरिकता चाहिएको छ , नेपालमा लगानी गर्ने बाताबरण चाहिएको छ । नेपालमा भएको पुखौली सम्पतीको संरक्षण गर्न पाउने बातावरण चाहिएको छ । उनीहरुलाई त्यागेको नेपाल भए पनि कहिले कही घुम्न फिर्न पुखौली थलो लाई कामत का रुपमा कायम राख्नु छ । तर खाडीका एनआरएनका लागि ति सव चाहिने कुरा भएन । उनीहरुलाई दुई बर्षमा एक पटक तिनको लगानीमा काठमाण्डौका पाँचतारे होटलमा मस्ती गर्न पाए भैगयो । यसर्थ खाडीका गैर एनआरएनहरु पनि आफूलाई एनआरएन भनाउन का लागि मरिहत्ते गरेको देखिन्छ । युरोप को तागत ले मात्र नेपाल सरकारलाई झुकाउन र गलाउन नसकेको अवस्थामा आधा नेपाल नेपाल बाहिर लेबर का रुपमा छ भन्ने बुझेका एनआरएन नेतृत्वले डोरी लाउरे लाई पनि एनआरएन हौ भन्दिएका न हुन । कुनै कुनै ले आफ्नो कमाईको केही अंश यसो खाडी तिर सेवाका नाममा कहिले कसो चारो फाल्ने गर्दछन त्यहि चारो टिप्न पाए यसो एनआरएन को हल्लाखल्ला हुन्छ नत्र चुनावको मुखमा मात्र एनआरएन भेटिने गरको त यर्थाथ कुरा हो नै । यो समग्र खाडी र मलेशिया तथा केही हदसम्म कोरियाको हकमा लागु हुने कुरा हो ।
यहाँ एनआरएन हुन हुदैन भन्ने आशय होईन , एनआरएन भएको राम्रै हो । कतिपय खाडीका एनआरएनले सकिनसकी राम्रो काम गर्ने कोशिष बेलामौकामा गरेका पनि छन तर त्यसको सस्थागत गतिविधी र भूमिका स्थायी प्रकृतिको हुन सकेको छैन । खाडीका एनआरएनहरु मा अधिकांश सदस्यहरु म्यानपावर व्यवशायका मानिसहरु हुने गरेको पनि देखिन्छ जसले मजदुर को शोषण गरेको छ उसले तिनको सेवक हुन सक्दैन भन्ने सैदान्तिक तर्क पनि नाजायज हुदैन । दुतावासहरुसँग नितीगत रुपमा नै के गरे मजदुरका गुनासा सम्बोधन गर्न सकिन्छ भनेर समेत प्रभावकारी भूमिका खेलेको पाईन्दैन । राजदुतावासको माताहातको कर्मचारीले जस्तो जी हजुरीको भूमिकामा नै उनीहरु रमाएको देखिन्छ । शक्ति केन्द्रहरुमा होस वा नियोगहरुमा कुनै पनि शसक्त भूमिका निर्वाह गर्न नसक्ने एनआरएनहरु खाडीको यर्थाथता हो । यसर्थ मानिसहरुको एनआरएन प्रति खासै चासो देखिन्दैन । बरु जातिय, राजनैतिक , क्षेत्रिय संस्थाहरु ले धेरै काम गरेका छन । उनीहरुले आफ्नो उद्देश्य बमोजिम राम्रा काम हरु गरेको देखिन्छन ।
खुशी को कुरा खाडीमा समेत विभाजित एनआरएन हरु अब मिल्लान । टाउको जोडिए पछि पुच्छर दुईटा रहन सक्ने कुरा हुदैन । तर उनीहरुले थाहा चाही पाएको राम्रो हिजो हामीलाई नेतृत्वले के स्वार्थले जुधायो र आज मिलाउदैछ । मिले पछि मिलेको जस्तो तागत का साथ एनआरएनहरु जागुन महाधिवेशनको अग्रिम शुभकामना ।