तोयानाथ उपेक्षित, दाहाल
म काठमाण्डु को होईन, मलाई काठमाण्डु ले केही दिने पनि होईन र मैले काठमाण्डु सँग केही लिने पनि होईन बरु उल्टै काठमाण्डु ले म र म जस्ता लाखौ लाई लुटेको छ तर पनि काठमाण्डु को माया लाग्छ । काठमाण्डु हुदै मैले जीवन धान्न का लागि अन्त जानु पर्छ र खुशी साट्न बेला बेला त्यहि काठमाण्डु भएर फर्कनु पर्दछ । म जाँदा काठमाण्डु ले हप्काउछ, हेला गर्छ, उपहास गर्छ अनि जब म फर्कन्छु काठमाण्डु मलाई लुटन तम्सन्छ, धुत्न अग्रसर हुन्छ फेरी पनि मलाई काठमाण्डु को माया लाग्छ ।
काठमाण्डौको माटो टेके बापत होला शायद मैले काठमाण्डु को तिरस्कार सहनै पर्ने हुन्छ । अनेकथरी नाममा रकम बुझाउनु पर्ने हुन्छ, विमानस्थलको गेट देखि नै उपहास का शव्दहरु सुन्नु पर्दछ । विना कारण अनेक प्रकारका सास्ती भोग्न पर्दछ । श्रम को कागज मा छाँप हान भन्छ । अलिक पहिले त एक पटक कोभिड जाँच को पेपर प्रमाणीत गर्न अलग्गै लाईनमा जा भन्थ्यो, श्रम को छाँप लगाउन अलग लाईनमा सर्नु पर्ने हुन्थ्यो, लगेज जाँचको अलग लाईन, बोर्डिंग पास लिन अलग लाईन, ईमिग्रेसन जाँचको अलग लाईन । त्यहाँ बाट पास भए पछि फेरी अर्को पटक सुरक्षा जाँचका लाईन । विमानस्थल पुग्न भन्दा पहिलेका लाईन र सास्तीका कुरा नथपौ अर्को कथा बन्छ ।
जीवनमा अनेकौ जाँचहरुबाट फेल पारिएपछि बाटो मोडेको यात्रीका लागि यति बिधी परिक्षा, अनेकौ जाँच पास गर्न पर्ने अन्त कुन देशमा होलार ? देशका लागि केही दिन जान्छु भन्दा यस्ता जाँच पास मा सुपारी, सुर्ति समेत खोसेर पठाईन्छ । मनभरी कुरा खेलाउदै जहाँज कुर्ने ठाउँमा सुर्ति च्याप्न नपाउदा कम खटपटी हुन्न भन्या । यति मात्र कहाँ होर ? आतंककारी नै हो जस्तो गरिन्छ भन्या । कागती निचोरे जस्तो अनुहार, पुरानो खुईलिसकेको झोला, फुस्रो अनुहार, ढंग नपुरयाई लगाएको लुगा र जुत्ताले पनि चिन्नु पर्ने होनी । जुता खोल, जुराफ खोल, पेटी खोल, ज्याकेट खोल, के के खोल्नु पर्ने हो ? किलोकिलो सुन सजिलै छिर्ने विमानस्थलमा यो नांगो ज्यान छिराउन पनि हम्मेहम्मे पार्ने यो काठमाण्डु अति बैगुणी त छदैछ तै पनि यसको किन हो किन माया लाग्छ ।
कहिले आधारातमा एयरर्पोटमा झरिन्छ कहिले कति बेला । एयरर्पोटमा स्वागत होईन उपेक्षा र हेपाई पाईन्छ । क्वारकवारती लगेज हेर्ने र छाम्नेहरुलाई लाग्दो हो हामीले विदेशबाट चोरेर ल्याएको हो । कसरी कुन बहानामा यो सँग धुत्ने होला ? तिनका आँखा तेजिला देखिन्छन, तिनको मन लोभी र सोच धेरै पापी लाग्दछ । एक बर्ष पुरा भएकै रहेनछ लौ यो ३२ होस की १२ ईन्चको टिभि होस भन्सार त तिर्नै पर्दछरे । मिलाउने कुरा पनि गर्दछन । त्यो मिलाउने भनको घुस त हो नी । गलामा क्वारक्वारती हेर्दछन, गहना त लाउनै नपाउने ? कस्ता भोका र छट्टु स्यालहरु छन काठमाण्डौको एयरर्पोटमा । रिस पनि उठछ, घिन पनि लाग्छ । तर के गर्ने आफूले शिष्टता गुमाएर बोल्न जानिन्न । हजुर र सर तिनलाई पच्दैन ।
जब प्रवासको काष्ठी काटेर स्वदेश आउछु , एसीले सेतो पारेको ज्यान, बासी खानाले फुलेको पेट, दुःखले बेरेका नयाँ कपडा, र रहरले लगाएको गहना ले फेरिएको म, काठमाण्डौ ले चिन्दैन । मेरो परिचय खोजिन्छ । मेरो गला र खल्ती जाँचिन्छ, परिवार का लागि ल्याएको एउटा नाथ टेलिभिजनलाई ईन्चिटेपले नापिन्छ । लाग्छ त्यही टाउको फोरिदिउ । चोरेर ल्याए जस्तो किन गर्नु ? सामान लिन लाईन लाग्यो, व्याग फोरेको भेटिन्छ, सामान चोरेको देखिन्छ, एउटा ट्रली ल्याएर दिने सक्दैन काठमाण्डौले बरु बाहिर निस्कन नपाउदै अनेक प्रश्न सोधिन्छ र डलर, केडी, डिराम, रियाल साट्न बाटो छेकी छेकी बोलाईन्छ । निउ सानो भेटेकी डस्नै खोज्छन तर न्याय दिने मानिस सोधे कतै भेटिन्न । सवै सेटिंगले बनेको सिस्टम भित्र कस्ले कुरा सुनोस । यता हेरो चोर, उता हेरो चोर ! बचेर हिडनै गाहो । तै पनि काठमाण्डौको माया लाग्छ ।
कति न भारी बोकेर ल्याए जस्तै गरि बाहिर निस्कन पाको छैन, होटलका नाम, होटलका कार्ड, लिएर आउने ड्राईभर भाईहरुले उसरी नै तान्न थाल्छन । घर परिवार ले छाड्न वा लिन आएका छन भने त्यहाँ अलिक समय कुर्न पनि गाहो । दामकाम मिलाएर गयो । विदेशबाट आउनु भएको यसो त्यताको चिनो हुने, डलर,डिनार, डिराम, रियाल एक दुईवटा पाउन भन्दै लज्जित नै पारिदिन्छन । होटलमा पसे देखि निस्कदा सम्म अर्को लुट शुरु हुन्छ । चियाको विल, खानाको बील, कोठाको विल, विदेशबाट आउने भने पछि मार्जिन पनि कति हो कति ? तिर्नै परो । भोलीपल्ट गन्तव्यमा निस्के देखि घर नपुगे सम्म यति खर्च, कुरै नगरौ । काठमाण्डौ ले लगभग रित्तो पारेको खल्ति बाटोभरी लुटाउदै घर पुग्दा कहिलेकहि त बच्चालाई दिने दुई चार आना पनि रहन्न । तै पनि काठमाण्डौको माया लाग्छ किन थाहा छ ?
किनकी मलाई होईन मेरो देशलाई दुनियाले चिन्छ । काठमाण्डौ लाई दुनियाले हेर्छ । मेरो देशको ऐना हो काठमाण्डौ । यो सुन्दर होस जस्तो लाग्छ । काठमाण्डौको बागमती, विष्णुमतीमा सफा पानी बगेको देखोस जस्तो लाग्छ । नदि किनारामा सुन्दर फूलको बगैचा ले भरिएको होस जस्तो लाग्छ । सडक किनारा सफा र हराभरा भैदिउन जस्तो लाग्छ । सेकुवा पोलेको दुर्गन्ध बाटोमा नफैलियोस, पिसाब ले च्यापेर मानिस ले सडक पेटी किनारा मा सुसु नगरोस भन्ने लाग्छ । सडक पेटीमा मादल बजाएर माग्न कोही नबसोस, बस भित्र गित गाउँदै कसैले हात फैलाएको विदेशीले नदेखोस जस्तो लाग्छ । त्यहि भएर यो गरिब काठमाण्डौ, यो दुर्गन्धित काठमाण्डु , लुटाहा र चुसाहाले कागतीको खोष्टो जस्तो बनाएको काठमाण्डौको माया लाग्छ ।
काठमाण्डौ ! काठमाण्डौ !! भनेर काठमाण्डौ भरी भरिएका आशाहरु, छरिएका जीजीविशाहरु, रुमलिएका कदमहरु, अव्यक्त पिडाहरु, अस्तव्यस्त चाहानाहरु का बीचमा अर्को एउटा बोझ बन्न कुनै भिरमा साधसिमाना खोज्नु छैन । ती अभाव र असहिष्णुता ले भरिएका छिमेकीहरुका सामु निरिह बनेर मिसिनु छैन, मानसम्मान विनाको काठमाण्डौमा दौलत मात्र बोल्छ , मान्छे बोल्दैनन मलाई त्यहाँ आउनु छैन तर पनि तिम्रो काठमाण्डु को माया लाग्छ । कुनै साईनो सम्बन्ध नभएको काठमाण्डौ जबरजस्ती बोकेर बाहिर गएको पत्तै नहुदो रहेछ त्यही भएर पनि काठमाण्डु तिम्रो औधी माया लाग्छ ।