Friday 26th April 2024

चित्रमा पञ्चाङ्ग, भाग-५४


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/११/१८
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
लक्ष्मीप्रसाद मिश्र
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चउन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

के रहेछ वास्तविकता बोलिरहेछ तस्बिर यहाँ
परिस्थितिमा बाध्यताले लगाइदियो जन्जिर यहाँ
यो भन्दा बढी कति हुनु जस्तो लाग्छ, बेलाको खेल
देखेर बेवास्ता गरे, कति जना भए गम्भीर यहाँ
मूर्ति ढोगेर खुसी मिल्ने भए कहाँ छ, मन्दिर यहाँ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

पीडाको कुण्ड रहर जिन्दगीको ।
आँसुको ठुलो नहर जिन्दगीको ।
लेक र बेंसी दु:खको सागर,
कस्तो अनौठो कहर जिन्दगीको ।
व्यग्र वेदना सहर जिन्दगीको ।
– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

चाहेर पनि केही गर्न पो सकिदैन
ठुला ठुला जँघार तर्न पो सकिदैन
रहर त मनभरि के के थियो थियो
तरपनि ओराली झर्न पो सकिदैन
लालावालको अघि मर्न पो सकिदैन।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे

पञ्चाङ्ग ४

कर्तव्यमा आमा सुकेकि छन्
स्नेह भित्र आमा लुकेकि छन्
जति दुःख भोगे पनि आमा
माया गर्न मा नचुकेकि छन्
स्याहार गर्दा नै झूकेकि छन् ।

म प्र धि

पञ्चाङ्ग ५

पृथ्वीको हर क्षेत्रमा प्रेरणादायी धर खोज्नु कहाँ
कहाँ खोजुँ भर भित्र दीर्घकालीन घर खोज्नु कहाँ
बुझौं है आमाको जस्तो ममता कहिँ कतै पाइदैन
अबोधपनमा साथ दिने नारी र नर खोज्नु कहाँ
कहाँ पाऊँ आमाको माया जस्तो अनि भर खोज्नु कहाँ ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ६

सानो ठुलो काम गरेर जानुपर्छ
उकाली ओराली झरेर जानुपर्छ
फेरिएला नफेरिएला जीवन यो
समस्या थाप्लोमा धरेर जानुपर्छ
पीडामाथि पीडा हरेर जानुपर्छ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ७

उकाली ओराली गरेर भिरपाखा
भिजेको छ आँसु झरेर भिरपाखा
गरिबीले थिचेको छ रात र दिन,
गर्नु पर्छ आखाँ भरेर भिरपाखा
माटोमै पसिना छरेर भिरपाखा ।

रतन बिष्ट _ आलिताल, डडेल्धुरा

पञ्चाङ्ग ८
रहर हैन बाध्यता हो बच्चालाई साथमा लान
पिठ्यूमा छ घाँसको भारि भारि माथि छ बच्चा साना
दुखि जीवन दुखै दु:ख छ मेला पात गर्नै पर्छ
गाउँ बेसि दाउरा घाँस वन जङ्गल पर्छ जान
मेला पात नगरि त पुग्ने हैन दुई छाक खान ।

चेतना पोखरेल
मोरङ

पञ्चाङ्ग ९

बाध्यता नै सबैको परिस्थिति हुन्छ
गर्नु पर्ने कर्मको तिथिमिति हुन्छ
भनेर लेखेर मात्र के असर होला ?
मान्छेको त आफ्नै नियम नीति हुन्छ
त्यसैले कोही श्वेत कोही शिति हुन्छ !!

गुणनिधि घिमिरे

पञ्चाङ्ग १०

घाँसको भारी बोकेर उकाली ओह्राली गर्नु छ
दुखै दुःखमा डुबी ठूला ठूला जंघार तर्नु छ
अझै कति के के भोग्नु छ जीवनमा बाचुन्जेल
दुःखमा नि सन्तानलाई मायै मायाले भर्नु छ
आमाको कोखमा बास लिए कहाँ पुगी मर्नु छ ।
सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ११

आमाले यहाँ सिङ्गै सृष्टिलाई बोकेकी हुन्छिन्
सृष्टि चलाउन अनेक मन्त्र घोकेकी हुन्छिन्
धर्ति रहेसम्म यो सृष्टि रोकिनु हुन्न भन्दै
जस्तोसुकै खडेरी परोस् डल्ला ठोकेकी हुन्छिन्
मातृत्व बचाउन आफ्नै सास रोकेकी हुन्छिन्।

पशपती राई
-खोटाङ

पञ्चाङ्ग १२

पहेँलिदैछ बाला पानीबिना बोट फलेको हेर यो
परालिदैछ हरियो फर्किन्न भाग्य छलेको हेर यो
सपना झैँ बिलाए प्यारा दिन प्रिय सँग रमाएका
खुइलिदैछ तालु झर्दैछ केस ज्यान गलेको हेर यो
ओइलिदैछ बैँस हर्दैछ बल प्राण ढलेको हेर यो ।

टिकाराम जोशी, इमाडोल


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...