Saturday 27th April 2024

पाल्पामा साहित्य : संभावनाको खोजी


पुष्कर अथक रेग्मी – पवित्र धार्मिक तिर्थस्थल रुरु क्षेत्र स्थित रिडी खोलादेखि पश्चिम र कालीगण्डकीदेखि दक्षिणमा रहेका क्षेत्रलाई समेटी धर्मपाल सेनले वि.स. १४२० मा रिब्दीकोट नामक एउटा स्वतन्त्र रियासतको स्थापना गरी पाल्पा राज्यको जग बसाए । पछि वि.स.१५५० मा राजा रुद्र सेनले राजधानी पुरानाकोट अर्थात् पाल्पामा कायम गरी शासन गरेपछि यिनी पाल्पा राज्यका संस्थापक भए । सेनकालीन पाल्पा वीरता र धीरता सहित सैन्य शक्ति मजबूत हुनुका साथै कला,कौशल, रीतिरिवाज, भेषभूषा, भाषा संस्कृतिको विकास सहित समृद्ध थियो । सेन राजाहरु स्वंय भाषा साहित्यका मर्मज्ञ थिए ।

पाल्पामा साहित्यको इतिहास खोजीनिति गर्दा चक्रवर्ती महाराजा मणिमुकुन्द सेन प्रथमले ‘नारद स्मृति’ ग्रन्थ रचना गरेका थिए । राजा मण्मिुकुन्द सेन द्धितीयको समयमा पाल्पा राज्यमा नौ जना विद्धानहरु थिए । जसलाई नवरत्न भनिन्थ्यो । अन्तिम सेन वंशीय राजा पृथ्वीपाल सेनले हस्तलिखित ग्रन्थ प्रसाद कौमुदी पूर्वाद्ध र उत्तराद्र्ध तयार पारेका थिए । सेनकालीन ग्रन्थहरुको खोजीनिति गर्दा करीब तीन दर्जन हस्तलिखित ग्रन्थ सूचिकृत गर्न सकिन्छ । सबै ग्रन्थहरु संस्कृतमै लेखिएका छन् र आज पनि यी ग्रन्थहरुले नेपाली साहित्य समाजलाई निकै नै गौरवान्वित तुल्याएका छन् ।
वि.स. १८६१ मा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय भएपछि ‘पाल्पा गौडा’ भनियो । पाल्पा गौडाकालीन समयको प्रारम्भमा पाल्पामा साहित्यिक विकास हुन नसकेता पनि आदिकवि भानुभक्त आचार्यबाट प्रभावित भएर नेपाली साहित्यमा विकास भएको भक्ति धारालाई पछ्याउँदै नेपाली भाषाको माध्यमद्धारा साहित्यको श्रीवृद्धि गर्न पं. छविलाल नेपाल (१९०५–१९७९) लागी परे । राणाकालीन समयमा आफ्नै घरबाट पुस्तक पढ्ने दलान (१९८३) को शुभारम्भ गरी धवल पुस्तकालय (२००३) को स्वरुप दिदै अक्षर पुरुष अम्बिका प्रसाद लाकौलले पाल्पाको साहित्यलाई राष्ट्रियस्तरमा उठाउन संस्थागत योगदान पु¥याए । पश्चिमका चिरागको रुपमा प्रतिष्ठापित कवि पं. माधवप्रसाद देवकोटाले पाल्पाको साहित्यिक योगदानलाई राष्ट्रियस्तरकै उत्कर्षमा पु¥याए पश्चात पाल्पाको साहित्यले व्यापिकरण पाउँदै गयो ।
चक्रवर्ति महाराज मणिमुकुन्द सेन(प्रथम), डम्बर सेन, राजा पृथ्वीपाल सेन, रणबहादुर सेन, लक्ष्मीनारायण, गंगादास द्धिवेदी, पं.काशिराज, कुलनिधि शर्मा, त्रिलोक कुँवर, जगन्नाथ, भवदत्त पण्डित आदि सेनकालिन साहित्यकारहरु हुन् । रेसुंगाका सन्त शशीधर स्वामी, छविलाल नेपाल, कृष्ण प्रसाद लाकौल, अम्बिका प्रसाद लाकौल, मथुरा प्रसाद प्रधान, बहादुर सिंह बराल आदि पाल्पा गौंडाकालीन समयका स्रष्टाहरु हुन् । पाल्पा साहित्य समाजले पाल्पाली अंग्रज अमर पन्ध्रजना साहित्यकारहरुको जीवनी संग्रह अमृताञ्जली (२०७२)प्रकाशन गरेको छ । जसभित्र राजा पृथ्वीपाल सेन, आदिकवि छविलाल नेपाल, अक्षर पुरुष अम्बिका प्रसाद लाकौल, शिक्षाका पिता अयोध्याप्रसाद प्रधान, शास्त्रकवि पं.माधवप्रसाद देवकोटा, आशुकवि भुपेन्द्रजंग के.सी., दर्शन शिरोमणि मिन प्रसाद नेपाल, सुधारवादी साहित्यकार रिपलाल विश्वकर्मा, आध्यात्मिक कवि यादवनाथ कोइराला, दार्शनिक साहित्यकार जगतबहादुर जोशी, हाँस्य शुत्रधार कवि कुलमणि देवककोटा , रोमान्टिक कवि कविन्द्रमान सिंह ,जनककवि चन्द्र प्रसाद अधिकारी , भक्तिकवि मिनप्रसाद ज्ञवाली र छन्दकवि कृष्णचन्द्र देवकोटाका संक्षिप्त जीवनी संग्रहित रहेका छन् ।
पवनकुमारी देवी श्रेष्ठ, कमलराज रेग्मी, रामेश्वर श्रेष्ठ, शुभ श्रेष्ठ, पुष्पलता श्रेष्ठ आदिले पाल्पाको साहित्यलाई राष्ट्रव्यापी बनाएका छन् । पवन कुमारी देवी श्रेष्ठ प्रथम नेपाली उपन्यासकार हुन् भने पंं. माधवप्रसाद देवकोटा साहित्यका धु्रर्वतारा हुन् । मिनप्रसाद नेपाल दर्शन शिरोमणि र शास्त्रार्थ महारथी हुन् । हाँस्यव्यग्य धाराका नेतृत्व गर्ने कुलमणि देवकोटा, अनुभूतिगर्व रोमाण्टिक काव्यधारामा रमाउने कविन्द्रमान सिंह र पाश्चात्य काव्य शैलिको नेतृत्व गर्ने जगतबहादुर जोशी पाल्पाली साहित्य आकाशका तीन नक्षत्रहरु हुन् । उल्लेखित अग्रज अमर साहित्यकारका साथै अन्य थुप्रै अमर साहित्यकारहरुको समय सापेक्ष योगदान पाल्पाको साहित्यिक विकासमा रहेको छ । जसले पाल्पालाई नेपाली साहित्यको फाँटमा अग्रपंक्तिमै उभ्याउन महत्वपूर्ण योगदान पु¥याएका छन् ।
पंं.पुष्करनाथ देवकोटा र ज्योतिष चन्द्रकान्त त्रिपाठीले वि.स. १९७२ मा पाल्पाको तानसेनमा निःशुल्क संस्कृत पाठशाला खोलेपछि पं. माधवप्रसाद देवकोटाले समेत पाठशालामा शिक्षण गर्न लागेपछि देवकोटामा साहित्यको साधना जागृत भयो र यहीँबाट साहित्यको शुभारम्भ हुँदै गयो । नाटक मण्डली (१९८०), पुस्तक पढ्ने दलान (१९८३) को रुपान्तरित संस्था धवल पुस्तकालय (२००३), पाल्पा सहायक मण्डल(२००४) सञ्चालनमा आए । लाकौल प्रेस (२००७) पाल्पा तानसेन ठाँडोगल्लीमा खुलेपछि पत्रपत्रिका, पाठ्यपुस्तक एवं साहित्य संगालो समेत छापिन लागे । नेपाली साहित्य परिषद (२०१३) र साहित्य मन्दिर पाल्पा (२०१४) गठन भयो । पाल्पाली युवक साहित्य संगठन (२०१९÷२०२०), युवा चौतारो (२०२४), देउराली परिवार (२०२७), देवकोटा साहित्य परिषद् (२०३७), साहित्य सेवा संगम (२०३८), साहित्य सेवा समिति (२०४०), कोपिला साहित्यिक परिवार (२०३८) तरंग साहित्य संगम (२०५०), पाल्पा साहित्य समाज(२०५१), स्थापना भई समय सापेक्ष सांगठनिक रुपमा साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिदै आएको छ ।
यहीँ क्रममा वाङ्मय प्रज्ञा प्रतिष्ठान (२०५२) पोखराथोक साहित्य संगम (२०५७) कला विमर्श केन्द्र(२०६२), शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल (२०६३), लुम्बिनी वाङ्मय प्रतिष्ठान पाल्पा (२०७०) अनेसास पाल्पा (२०७२) नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पा (२०७२), बगनासकाली साहित्य परिषद (२०७५), नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पा (२०७६), विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पा (२०७८), शीत काव्य समाज नेपाल (२०७८) गठन भएका छन् ।

उल्लेखित साहित्य संस्थाहरुले समय सापेक्ष रुपमा गोष्ठी, साहित्यिक कार्यक्रम, साहित्यिक यात्रा, प्रतिभा सम्मान, पुस्तक तथा संगालो प्रकाशन लोकार्पण तथा विमर्श कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।
पाल्पामा हुने साहित्यिक गतिविधिहरु विशेषतः तानसेन केन्द्रित नै हुने गर्दछ । यसलाई सबै क्षेत्रमा पु¥याउन सकिएको छैन । विभिन्न दिवस र जयन्तीहरुका साथै वार्षिक रुपमा संस्थाहरुले कार्यक्रम त आयोजना गर्दै रहेका छन् तर योजनावद्ध ढङ्गले कार्यक्रम हुन सकेका छैनन् । पाल्पास्थित साहित्यिक संस्थाहरु सबै स्वयंसेवी रुपमा चलेका छन् । आर्थिक अभावमा कार्यक्रमलाई निरन्तरता दिन र गतिशिलता प्रदान गर्न सकिएको छैन । साहित्यिक कार्यक्रम आयोजना हुने उपयुक्त र निश्चित हल तथा सभाकक्षहरु छैनन् । कतिपय संस्थाहरुसँग आर्थिक कोष नहुँदा हल भाडा तिर्न र चियापान खर्च व्यवस्थापन गर्न समेत समस्या परेको छ । राज्यकोष र स्थानीय निकायहरुद्धारा साहित्यिक गतिविधिहरु सञ्चालनका लागि प्रभावकारी र दीगो आर्थिक सहयोगहरु प्राप्त भएका छैनन् । संस्थाहरु खुलेता पनि कतिपय निष्क्रिय रहनु, संस्थाको दर्ता नविकरण नहुनु,संस्थागत समन्वय गरी सामुहिक रुपमा कार्यक्रमहरु आयोजना गर्न नसक्नु कमजोरीको रुपमा रहेका छन् ।
“साहित्य भनेको पुस्तकालय हो र राजनीति भनेको सौचालय” भन्ने उद्गार महनीय भएता पनि कतिपय साहित्यिक कार्यक्रमहरु र केही श्रष्टाहरु राजनैतिक निकट पार्टीबाट माथि उठ्न नसकिरहेको अवस्था साहित्यिक कार्यक्रमहरुमा समेत स्पष्ट देखिन्छ । समयमा कार्यक्रम सुरु नहुने, लामो समयसम्म चल्ने, ढिलो आउने चाँडो जाने, वक्ताले अरुको समयको महत्व नबुझ्ने, श्रष्टाले एउटा भन्दा भन्दै २–३ वटा रचना सुनाउने जस्ता सामान्य समस्याहरुले कार्यक्रमलाई अलमल्याई रहेको पाईन्छ । प्रभावकारी रुपमा पदीय दायित्व वहन नगर्नु, नियमित रुपमा वार्षिक सदस्यता शुल्क र आवश्यक खर्च पदाधिकारी सदस्यहरुबाट नउठ्नु, सर्जकहरुले आफ्नै लगानीमा कृतिहरु प्रकाशन गर्नु तर विक्रीका लागि बजार नहुनु र साहित्यकार एवं पाठकहरुले पुस्तक खरिद गरी सहयोग गर्न नसक्नु जस्ता प्राविधिक समस्याहरु समेत रहेका छन् । वार्षिक दिवस समारोह, सम्मान , लोकार्पण, विमर्श,सिर्जना वाचन जस्ता गतिविधिहरु सञ्चालन भएता पनि साहित्यिक गोष्ठी,अन्तक्र्रिया,योजना निर्माण तथा नियमित सिर्जना वाचन कार्यक्रमहरु हुन सकेका छैनन् ।

आख्यान,निबन्ध र नाटक साहित्य केन्द्रीत कार्यक्रमहरु अति नै न्यून हुन्छन् भने काव्य केन्द्रीत कार्यक्रमहरु बढी भएता पनि छन्दको विकासांत्मक प्रशिक्षण हुन सकिराखेको छैन । अचेल विद्यालय, शिक्षालय र विश्वविद्यालयका साहित्यिक गतिविधिहरुमा मन्दी आएको छ , जस्ले गर्दा विद्यार्थी जीवनदेखि नै साहित्य साधक, श्रष्टाहरुको प्रतिभा, प्रष्फुटन हुन सकिरहेको छैन । आधारभूत तहमा विषयान्तर शिक्षण हुँदा र विद्यालय तहबाट नै साहित्यका चारवटै विधा केन्द्रीत विषयवस्तुहरुमा विशेष ज्ञान,सीप र प्रयोग नदिदा वास्तविक साहित्यिक प्रतिभा प्रष्फुटन, विजारोपण, उत्पादन र व्यापिकरणका लागि समस्या परेको छ ।
पाल्पामा हुने साहित्यिक गतिविधिहरुलाई अझ सशक्त र नियमित गराउन साहित्यिक संस्थाहरु नै सवल र सक्षम हुनुपर्दछ । संस्था स्वंयले आफुलाई सदैव वैधानिकता,नियमिता, निरन्तरता,क्रियाशिलता र पारदर्शीताको रुपमा राखिरहनुपर्दछ । संस्थाको प्रकृति अनुसार गैर साहित्यिक भन्दा साहित्यिक व्यक्तित्वहरुलाई योगदानको आधारमा जिम्मेवारी दिने, सम्मान गर्ने, स्थान दिने वातावरणको निर्माण गर्नुपर्दछ । एकै प्रकृतिका कार्यक्रम अर्थात् कविता वाचन बाहेकका गतिविधिहरु जस्तै ः लघुकथा वाचन,छन्द कविता वाचन,नियात्रा वर्णन, समीक्षा, साहित्यिक ÷ वौद्धिक सम्वाद आदि आयोजना गरिनुपर्दछ । यसका साथै विभिन्न साहित्यिक प्रतियोगिता,प्रशिक्षण, नाटक मञ्चन , गजल साँझ, साहित्यिक वनभोज, तथा साहित्यिक यात्राको समेत नियमित आयोजना गरिनाले पाल्पाको साहित्यिक गतिविधिले व्यापकता पाउँछ ।
पाल्पास्थित सम्पूर्ण साहित्यिक संस्थाहरुको प्रतिनिधित्व रहने गरी साहित्यिक संस्था÷साहित्यकारहरुको एउटा सामुहिक साहित्यक सञ्जाल निर्माण गरिनुपर्दछ । जसबाट सबैलाई काम गर्न र सहयोग जुटाउन सजिलो पर्दछ । साहित्यिक संस्थाहरुले गर्दै आएका नियमित कार्यक्रमहरुलाई निरन्तरता दिनुको अतिरिक्त सबै साहित्यिक संस्थाहरुसँग समन्वय गरी योजनावद्ध तरिकाले आलोपालो गर्दै पाक्षिक÷मासिक रुपमा साहित्यिक गतिविधहरु सञ्चालन गरिनुपर्दछ । यसका लागि संस्थागत समन्वय र सहयोग जुटाउनुपर्दछ । संस्थाहरुले कोष दरिलो बनाउदै लैजानुका साथै अक्षकोषदाताहरुको खोजी गरी अक्षयकोष र पुरस्कारका लागि सहयोग रकम जुटाउँदै जानु पर्दछ । सूचना तथा सञ्चारका माध्यमहरुको व्यापक पहुँच बढाउनुपर्दछ । जसले गर्दा प्रचार– प्रसारमा सहयोग पुग्न जान्छ । संस्थाहरुले समय सापेक्ष वार्षिक संगालो र विशेषाङ्कहरु प्रकाशन गर्दै आएका छन् । यद्यपि ति पर्याप्त छैनन् । पाल्पाबाटै पाक्षिक,मासिक रुपमा विशुद्ध साहित्यिक पत्रिका प्रकाशन हुनु जरुरी छ । साहित्यिक क्षेत्रमा देखिएका समस्याहरुलाई सामन्य र विशिष्ट रुपमा पहिचान गरी सो को न्यूनिकरण गर्दै जानाले साहित्यिक गतिविधिहरुमा नियमितता, गतिशिलता र प्रभावकारीता आउँछ ।

पाल्पा साहित्य समाजले “नेपाली साहित्यको श्रीवृद्धिको लागि पाल्पा साहित्य समाज”भन्ने नाराका साथ स्थापनाकालदेखिनै पाल्पाको साहित्यको व्यापिकरण गर्दै आइरहेको छ । पाल्पा साहित्य समाजको स्थापना वि.स. २०५१ साल वैशाख ४ गते भएको हो । बनमाली निराकार, डा.विष्णु खनाल, चित्रवलीराम सुवाल, राजेन्द्र गोपाल सिंह, चिरञ्जीवी शर्मा अध्यक्ष भइसके पश्चात वि.स २०७५ कार्तिक १५ देखि पुष्कर अथक रेग्मी समाजका अध्यक्ष रहेका छन् । समाजले आफ्नो स्थापनाको २५ वर्षको दौरान २०७५÷०७६ को वर्ष भरि नै रजत महोत्सव समारोह मनायो । पाल्पाली आदिकवि छविलाल नेपालको सम्मानमा स्थापित छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार यस क्षेत्रकै गरिमामय पुरस्कार हो । हाल सम

यस पुरस्कारद्धारा समाजले २३ जना व्यक्तित्वलाई सम्मान गरिसकेको छ भने अन्य विभिन्न पुरस्कार र संस्थाद्धारा करीब तीन दर्जन स्रष्टा– सेवकहरुलाई सम्मान गरिसकेको छ ।
समाजले हालसम्म साहित्यिक संग्रालोको रुपमा जागरण (२०६५) र जागरण रजत महोत्सव विशेषाङ्क (२०७६) का साथै विभिन्न विधामा सत्रवटा कृतिहरु प्रकाशित गरिसकेको छ । स्थापनाकालदेखि नै साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिदैँ आएको समाजले थुप्रै कवि, लेखक, कथाकार, समिक्षक लगायतका साहित्यकारहरुलाई जन्मदिई सकेको छ । समाजले विशेषतःशास्त्रकवि पंं. माधवप्रसाद देवकोटाको जन्मजयन्ती (मंसिर ३) को अवसरमा हरेक वर्ष माधव प्रसाद देवकोटा जन्मजयन्ती र पाल्पाली आदिकवि छविलाल नेपाल जन्मजयन्ती मनाउँदै आएको छ । पाल्पा साहित्य समाजका वर्तमान संरक्षक तात्कालिन अध्यक्ष राजेन्द्र गोपाल सिंह र तत्कालिन सचिव पुष्कर अथक रेग्मी(२०६४÷०७४) को कार्यकालमा पाल्पाका केन्द्रीय प्रतिभा पश्चिम नेपालका चिराग शास्त्र कवि पंं. माधव प्रसाद देवकोटाको शालिक निर्माण गरी उपर्युक्त स्थानमा अनावरण गर्ने ठाउँको खोजि भइरहेको छ । यसै परिपे्रक्ष्यमा तानसेन नगरपालिकाले तानसेन –३ (साविक तानसेन –८, पंं. माधव प्रसाद देवकोटाको जन्म घर) स्थित शिवालय चोकमा शास्त्र कविमाधव प्रसाद देवकोटाको सालिक सहितको पार्क निर्माण गर्ने योजनाले साहित्य जगतमा तरङ्गित ल्याएको छ ।
मुलुकमा अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारहरु छन् । सरकारले मुलुकमा विकासका गतिविधिहरुलाई उच्च प्राथमिकता दिँदै आएका छन् । यसै परिप्रेक्ष्यमा पाल्पाको भाषा, कला, संस्कृति र साहित्यको विकासका लागि दीगो कार्य हुनुपर्दछ भन्ने पाल्पा साहित्य समाजको निष्कर्ष छ । यसैलाई मध्यनजर गरी पाल्पाको भाषा, कला, संस्कृति र साहित्यको दीगो विकासका लागि तत्काल गर्न सकिने केही कार्यक्रमहरुतर्फ सम्पूर्ण सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्दै पाल्पा साहित्य समाज सार्वजनिक रुपमा हार्दिक अपील गर्दछ ।
(क) भाषा, कला, संस्कृति र साहित्यको संरक्षण र सम्वद्र्धनका लागि व्यवस्थित एवं योजनावद्ध कार्यक्रमहरुको निर्माण र कार्यान्वयन ।
(ख) सरोकारवाला निकायहरु र साहित्यिक संघसंस्थाहरु बिच समन्वयात्मक संस्कृतिको विकास ।
(ग) पाल्पामा क्रियाशील वैधानिक साहित्यिक संस्थाहरुका लागि साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय निकायबाट बजेट विनियोजन ।
(घ) पाल्पाली अंग्रज एवं अमर साहित्यकारहरुको स्मृतिमा सार्वजनिक सडक, बाटो, गल्ली, चोक, चौपारीहरुको नामाकरण ।
(ङ) दीगो र नियमित रुपमा कार्यक्रम सञ्चालन गर्न सकिने भवन÷हलको निर्माण । यसका लागि सरोकारवाला निकायहरुले चाहेको खण्डमा ता.न.पा –२ नारायणस्थान,अम्बर नारायण मन्दिर पारिसर फूलबारीमा रहेको टहराहरु मध्येका एउटा टहरालाई साहित्यको श्रीवृद्धिका लागि करिब २०० जना बस्न सकिने हलको रुपमा रुपान्तरण गर्न सकिने सम्भावना देखिन्छ ।
पाल्पा साहित्य समाजले जारी गरेको संभावनार्थ अपीलपत्रलाई परिमार्जन गरेरै भएपनि सरोकारवालाहरुले कार्यान्वयनमा ल्याउने हो भने पाल्पाको साहित्यिक गतिविधिले राष्ट्रिस्तरमै अझ उचो स्थान पाउनेछ । यसका लागि अविलम्ब स्थानीय निकायको ध्यानाकर्षण हुन जरुरी छ । विभिन्न जिल्लाहरुमा साहित्यि प्रतिष्ठान गठन भइसकेका छन् । पाल्पामा पनि हुन जरुरी छ । पाल्पाका दशवटै स्थानीय निकायमा साहित्यिक प्रतिष्ठान समावेशी रुपमा शिघ्र गठन गरिनुपर्दछ । तानसेन नगर क्षेत्र समग्र पाल्पा जिल्लाको साहित्यिक केन्द्रविन्दु समेत रहेकाले तानसेन नगरपालिका वडा नं.–२ अम्बरनारायण परिसर फूलवारी क्षेत्रको खाली स्थानमा (उपर्युक्त भए अन्य स्थान पनि हुन सक्छ ) अल्प, मध्य एवं दीर्घकालिन साहित्यिक योजना निर्माण गरी साहित्य क्षेत्र घोषणा गर्ने, साहित्यिक भवन तथा हल बनाउने, साहित्यिक संग्रहालय बनाउने, साहित्यिक पुस्तकालय र वाचनालय सञ्चालन गर्ने, अग्रज अमर साहित्यिक व्यक्तित्वहरुको शालिक निर्माण गर्ने जस्ता कार्य गर्नाले पाल्पाको इतिहासदेखि वर्तमानसम्मका साहित्यहरु सुरक्षित, संरक्षित र प्रवद्धिंत हुने छन् । यसका साथै वर्तमानले भविष्यका लागि साहित्यिक मार्गहरु प्रशस्त गर्दै जाने छन् । भाषा, कला र संस्कृतिको केन्द्र विन्दु पाल्पा साहित्यिको पनि केन्द्रविन्दु रहनेछ । ‘शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योग’को लागि पाल्पा‘शिक्षा स्वास्थ्य,साहित्य, पर्यटन र कुटीर उद्योग’का साथ अघि बढ्नेछ । पाल्पामा राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय स्तरदेखिनै बौद्धिक ÷प्राज्ञिक÷साहित्यिक पर्यटकहरु भित्रने छन्् जसले पाल्पाको साहित्यिक गतिविधिहरुका साथै पाल्पाको इतिहास र उत्पादनलाई समेत अन्र्तराष्ट्रियकरण गर्नमा सघाउ पुग्नेछ ।
स्रोत ः पाल्पा साहित्य समाजको अपिल पत्र, जागरण रजत महोत्सव विशेषाङ्क (२०७५/०७६) र विभिन्न पत्रपत्रिकाहरु !
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष हुन् । )साभार:पाल्पा दर्पण २०७९ पौष


सम्बन्धित शीर्षकहरु

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते…

प्रतिकृयाहरू
...