Saturday 27th April 2024

गुञ्जन काव्य यात्रा २०७९ सम्पन्न


गुञ्जन साहित्य संस्था काठमाडौँकाे आयोजना र पाल्पा साहित्य समाजको सहआयाेजनामा आज पाल्पामा बृहत् काव्यगाेष्ठी सम्पन्न भएको छ ।

गुञ्जन साहित्य संस्था काठमाडौँकी अध्यक्ष जलेश्वरी श्रेष्ठको अध्यक्षता तथा साहित्यकार पद्मावती सिंहको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथिका रूपमा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंह आमन्त्रित थिए । मदन देउराली, महासचिव सुस्मिता नेपाल, डा. रजनी ढकाल, सीता विष्ट कार्की, ललिता दाेषी, रश्मि रिमाल, प्रभा बराल, शान्ति रिसाल, हरि भट्टराई, शिक्षा राेहित ज्ञवाली, नारायण काेइराला, धातानन्द, राजेश्वर उदय, डा. शंकर गैरे, गाेविन्द नेपाल, गाेविन्द भट्टराई, डा अग्नि काफ्ले, वीणा श्रेष्ठ, डा शशि पण्डित, आर बी निश्चललगायत व्यक्तित्वहरू अतिथि रहेको उक्त काव्य यात्रा अत्यन्त भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।

उपस्थित प्रमुख अतिथि, अतिथिहरू र सहभागीहरूलाई स्वागत गर्ने काम समाजका काेषाध्यक्ष पुरुषाेत्तम अर्यालले गरे । प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे समुद्घाटन गरिएको थियो । पाल्पा प्यारागन स्कुलका विद्यार्थीहरूले स्वागतगान प्रस्तुत गरेका थिए ।

“स्रष्टादेखि स्रष्टासम्म सम्पर्ककाे निरन्तरता : सिर्जनामा जीवन्तता” भन्ने मान्यता राखी गुञ्जन साहित्य संस्थाकाे स्थापना भएको हाे । संस्था स्थापनाकाे पच्चीस वर्ष भएको सन्दर्भ पनि जाेडियाे । गञ्जन साहित्य संस्था र पाल्पा साहित्य समाजको परिचयात्मक सन्दर्भ पुष्कर अथक रेग्मीले उठाए । साे अवसरमा अध्यक्ष, प्रमुख अतिथि तथा साहित्य यात्रामा सहभागी काठमाडौँका स्रष्टाहरूलाई सम्मान गरिएको थियोे । गुञ्जन साहित्य संस्थाद्वारा पाल्पा साहित्य समाजलाई पनि सम्मान अर्पण गरिएको थियोे ।

गुञ्जन काव्य यात्राकाे अभियानअन्तर्गत सिर्जना वाचन प्रस्तुत गरियाे । कार्यक्रममा पचासभन्दा बढी स्रष्टाहरूले रचनावाचन गरे । कविता वाचन गर्नेहरूमा शान्ति रिसालले पलेती खाेज्दैखाेज्दै, प्रभा बरालले आमाको आँसु, रश्मि रिमालले आमा म यही देशमा हुन्छु, ललिता दाेषीले इन्द्रेणी सपनाहरू, सीता विष्ट कार्कीले पाल्पा, डा. शशि पण्डितले बाटाे शीर्षकको कविता पाठ गरिन् ।स्रष्टा तथा समालोचक व्यक्तित्व डा. रजनी ढकालले गुञ्जनका बारेमा प्रकाश पारिन् । गुञ्जन स्थापनाकाे प्रयाेजनलाई झल्काई गुञ्जले गरेका कामकाे विवरणसमेत प्रस्तुत गरिन् उनलेे । सहयात्री शीर्षकको कविता पनि उनलेे पाठ गरिन् । सुस्मिता नेपालले कि बाेर्डमा औँलाहरू चाल्न खाेज्दा, प्रविना कुवर समय र म, जानुका भाटले मुक्तक, विशाखा वज्राचार्यले आमाा, विष्णु तिमिल्सिनाले कविता बजारमा सर्वत्र उपलब्ध छन् , नारायणी सिग्देलले विद्या, शिखा पहारीले उमेर , पवन भुसालले सपना शीर्षकको कविता अनि रजत काेइराले बनिदेऊ शीर्षकको गीत प्रस्तुत गरे । जनक भण्डारी कथा प्रस्तुत गरे । अमर भाटले सत्यबाेध, सुशील बस्यालले जागिर शीर्षकको कविता पाठ गरे । स्मृति खनालले धन्यवाद व्यक्त गरिन् । चन्द्रकला खनालले वैदेशिक यात्रामा छाेरा, आयाम कार्की नेपाली हुँ म स्वाभिमानी भावकाे गीत प्रस्तुत गरे । असीम ढकाल म गीत गाउँछु म गीतै बाँच्छु बाेलकाे गीत प्रस्तुत गरे । सीता खनालले पानी शीर्षकको कविता, शारदा ढकाल नेपाल भन्दै मरूँ, धातानन्द शर्माले केही हाइकुहरू प्रस्तुत गरे । ज्ञानु न्याैपानेले सरकार म विदेशै जान्छु, जानका नेपालले गजल वाचन गरिन् । सराेज काफ्लेले बाेझ, गाेमविक्रमले मुक्तकहरू प्रस्तुत गरे । जनकलाल कंडेलले आशा, सा‌ैन्दर्यवती शाक्यले जन्मभूमिकाे महिमा, राधादेवी सेढाईले अपहेलित महिला शीर्षकमा गीत प्रस्तुत गरिन् । ढकाल, गाेमा पाण्डेले आमा, आर बी निश्चलले समय चिन्तन, नारायण काेइरालाले जिउँदा बा, सीताराम घिमिरेले मुक्तकहरू प्रस्तुत गरे । गाेविन्द खनालले पहाड राेइरहेछ, गाेविन्दप्रसाद नेपालले राजनीतिको माछा, गंगा खत्रीले बा’का कथाहरू र मेरा बा,राेहितप्रसाद ज्ञवाली पीडाहरू, गुणवती केसी गजल प्रस्तुत गरिन् । लक्ष्मणप्रसाद गाेदारले गाैरव गाथा शीर्षक, इन्दिरा ज्ञवालीले राधिका, हरिप्रसाद भट्टराई चाेटहरू, पुरुषाेत्तम अर्यालले बेला छ यो अमृत, महेन्द्र पन्थी आजकल सहर दुब्लाएकाे छ, टंक पन्थले कविता, पुष्कर अथक रेग्मीले मलाई अस्पतालमा भर्ना हुन मन लागेको छ शीर्षकको कविता पाठ गरे ।

विशिष्ट अतिथि राजेन्द्रगाेपाल सिंहले पाल्पा साहित्य समाजले इतिहास निर्माण गरेको सन्दर्भ उल्लेख गरे । वाद आफ्नो ठाउँमा छ, म विवादमा विश्वास गर्दिन । राजनीतिमा झैँ साहित्यमा पनि प्रतिबद्धता चाहिने कुरा व्यक्त गरे उनले । पाल्पाको साहित्यिक इतिहास गाैरव गर्नलायक रहेको सन्दर्भ पनि जाेडे उनलेे । सन्देश र तनाव शीर्षकका दुई छाेटा कविता पनि वाचन गरे उनलेे । कार्यक्रमकी प्रमुख अतिथि पद्मावती सिंहले साहित्यमा लाग्नु र यस्ता कार्यक्रमहरू सञ्चालन गर्नु चुनाैतीपूर्ण काम रहेको कुरा उठान गरी पाल्पा साहित्य समाजप्रति आभार तथा धन्यवाद व्यक्त गरिन् । धेरै दिनपछि तिमी याद आयाै, भिजेकाे परेलीमा फेरि चिहायाै बाेलकाे आफ्नै गीत सुमधुर स्वरमा प्रस्तुत गरिन् उनलेे । कार्यक्रमकी अध्यक्ष जलेश्वरी श्रेष्ठले उपस्थित सम्पूर्ण स्रष्टाहरूप्रति धन्यवाद व्यक्त गरिन् । वास्तविक आयोजक पाल्पा साहित्य समाज नै रहेको कुरामा जाेड दिइन् उनले । गुञ्जन काव्य यात्रा आयोजनाकाे उद्देश्य पनि उनलेे बताइन् । गुञ्जनले पुरस्कारहरू स्थापना गरेको कुरा पनि उनले व्यक्त गरिन् । सम्पूर्णलाई धन्यवाद व्यक्त गरी कार्यक्रमकाे समापन गरिन् । कार्यक्रमकाे सञ्चालन पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले गरेका थिए ।

भावले गम्भीर कविता प्रस्तुत भए । देशप्रेम र माटोको महिमा व्यक्त भए कवितामा । केही स्रष्टाहरूमा विद्रोही चेतना पनि सघन रूपमा प्रस्तुत भएको पाइयो । मानवीय छुद्र प्रवृत्तिमाथिकाे कटु प्रहार गरिएका केही कवितामा सुधारको आग्रह व्यक्त भएको थियोे । समसामयिक यथार्थलाई व्यक्त गरिएका सिर्जनामा विमतिका सशक्त स्वरहरू प्रतिबिम्बित भएको पाइयो । दर्शनको गम्भीर मर्म पनि केही कवितामा व्यक्त भएको थियो । मानिसमा बढ्दै गएको भाैतिकताप्रतिकाे माेह र विलासी संस्कृतिकाे मर्मलाई प्रस्तुत गरियो कवितामा । पुस्तान्तरणले निम्त्याएका निराशा अनि मानवीय संवेदनाका मर्मलाई प्रस्तुत गरे कविहरूले । उच्चकाेटिका परिष्कृत, मध्यम तथा सामान्य गरी सबै स्तरका कविता प्रस्तुत भए । शारीरिक अनि मानसिक पीडाका स्वरहरू व्यक्त भएको पाइयो केही सिर्जनामा । प्रेमिल भाव र शृङ्गारिक चेतनाका कविता पनि प्रस्तुत गरिएको थियोे ।शिल्पगत विविधता, रसगत विविधता र विधागत विविधताका रचनाहरू प्रस्तुत भए । वर्तमानको चेतनालाई टड्कारो रूपमा प्रस्तुत गरिएको थियोे सबैजसो रचनामा । बिम्ब, प्रतीक र अलङ्कारकाे स्वाभाविक प्रयोग अनि व्यञ्जनाकाे प्रस्तुतिले रचनाकाे कला पक्षलाई झल्काएकाे पाइयो । वर्तमानप्रतिकाे वितृष्णा भाव पनि रचनामा प्रस्तुत भएको थियो । गीत सङ्गीतकाे माहोलले कार्यक्रमलाई ततायाे नै । महत्त्वपूर्ण अनि बहुआयामिक कार्यक्रमकाे संयाेग जुटाउने आयाेजक अनि सहआयाेजकलाई हार्दिक धन्यवाद ।

साभारः डा. टंक पन्तको फेसबुक वालबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...