Saturday 20th April 2024

वैदेशिक रोजगारीमा जानेको समस्या समाधान गर्दैमा नेपाली दूतावासको समय जान्छ : सचिव पौडेल


काठमाडौँ – परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरू गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले विदेशस्थित नेपाली दूतावासहरू नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधान गर्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा आर्थिक आयामका बारेमा काम गर्न नसकिने अवस्था रहेको बताए ।

उनले विदेशस्थित नेपाली दूतावासहरू सानो क्षमताका भएकाले क्षमताको विकास गरी आगामी दिनमा संरचनाहरूको सुधार हुन जरुरी रहेको बताए । उनले भने, ‘हाम्रा झन्डै आधा भन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीलाई उहाँहरूको सेवामा धेरै लाग्नुपरेको छ । हाम्रा दूतावासहरू धेरै साना साइजका छन् । त्यहाँ पर्याप्त जनशक्ति छैन । भएको जनशक्ति नेपालीहरूको उद्धार लगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ । जसकारण अन्य कुराहरूमा ध्यान दिन सकेको छैन भन्ने गुनासो छ । ३,४ जनाले कति काम गर्न सक्छन् रु मुलुकको आर्थिक स्थिति पनि हेर्नुपर्छ तर आज भन्दा धेरै वर्ष पहिला खुलेका संरचनाहरूको सुधार हुनु जरुरी रहेको छ ।’

‘वैदेशिक रोजगारीमा जाने हाम्रा दाजुभाइहरूलाई कसरी सहयोग गरिरहेका छन् भन्नेबारेमा पनि हेर्न सकिन्छ । हाम्रो जस्तै वैदेशिक रोजगारीमा पठाउने अरू मुलुकका दूतावासको क्षमता बढी छ तर पनि यो हामीले सहजै भन्न सक्छौँ की हामी धेरै नै रेस्पोन्सीबिलिटी छौँ । हाम्रो वैदेशिक रोजगारीमा जाने जनशक्ति अति नै धेरै भइसकेको छ । यो चुनौती रहेको छ । उहाँहरूले वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधान गर्दैमा दिन बित्ने भएकाले आर्थिक विकासका लागि अन्य क्षेत्रमा बुझ्ने समय नै रहेको छैन,’ उनले भने, ‘अरू आयाममा चाहिएको आवश्यक काम गर्न सक्नुभएको छैन । देशभित्र नै केही काम गर्नुपर्ने अवस्था छ । लगानीको वातावरण देशभित्रै बनाउनुपर्छ । माहौल तयार गर्ने काम गरेको खण्डमा लगानी आउन सक्छ । उत्पादन नगरेसम्म निर्यात हुन सक्दैन । उत्पादन गर्ने परिस्थित बन्नुपर्छ । उत्पादन गुणस्तरीय हुन आवश्यक छ ।’

सचिव पौडेलले नेपालले पछिल्लो समय चियाको निर्यात बढाउँदै गएको पनि बताए । उनले भने, ‘नेपालको चिया केही मुलुकहरूमा पहिला जाँदो रहेनछ, जहाँ अलि धेरै चिया कन्ज्युम गर्दथे । त्यहाँ अहिले जान सुरु भएको छ । उहाँहरूको डिमान्ड अब अहिले उहाँहरूको मागलाई आपूर्ति गर्न सक्छौँ की सक्दैनौँ भन्ने रहेको छ । केही हस्तकलाजन्य वस्तुहरू पनि फेयर ट्रेड गर्ने कुरामा लिङ्क गर्नुभएको छ । गत सालको भन्दा ५० प्रतिशत निर्यात गरेको कुरा भन्नुभएको छ । आइटी सेक्टरको कुरा छ । काठमाडौँमा बसेर नै हाम्रा युवाहरू सफ्टवेयर र आइटी रिलेटेड सोलुसन बनाएर निर्यात गरिररहनु भएको छ । त्यसमा हामीले नीतिगत कुरामा सहयोग गर्ने हो भने राम्रो हुनेछ । यसको राम्रो फाइदा देखिरहेको छ ।’

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...