Tuesday 4th August 2026

प्रधानमन्त्री प्रचण्डलाइ २६८ सांसदको विश्वासको मत


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा अभूतपूर्व विश्वासको मत प्राप्त गरेका छन् । १० पुसमा एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभामा दुई सय ६८ सांसदबाट विश्वासको मत पाएका हुन् ।

राष्ट्रपतिसमक्ष समर्थन पेस गरेभन्दा थप ९९ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका छन् । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले ९८.१८ प्रतिशत मत प्राप्त गरेका छन् । खसेको मत संख्याका आधारमा प्रधानमन्त्रीले पाएको मत ९९.२६ प्रतिशत हो ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलबाट समर्थन प्राप्त गरेर राष्ट्रिय सहमतिको केन्द्रमा आफूलाई उभ्याएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको समेत विश्वास जितेर प्रचण्ड नेपालको संसदीय इतिहासमै संख्यामा दुईतिहाइभन्दा बढी बहुमत प्राप्त गर्ने शक्तिशाली दोस्रो प्रधानमन्त्री बनेका छन् । यसअघि ०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी सर्वसम्मत बनेका थिए ।

प्रचण्डलाई कांग्रेसका ८५, एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १३, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्तिका चार–चार र तीनजना स्वतन्त्र सांसदले विश्वासको मत दिएको संसद् सचिवालयले जनाएको छ । विश्वासको मत प्रयोजनका लागि बसेको बैठकमा कांग्रेसका तीनजना सांसद किशोरसिंह राठोर, अम्बिका बस्नेत र मनोरमा शेरचन अनुपस्थित थिए ।

भ्रष्टाचार मुद्दा लागेर निलम्बित कांग्रेसकै टेकबहादुर गुरुङले मत दिन पाएनन् । ज्येष्ठ सदस्यका रूपमा सभाको अध्यक्षता गरिरहेकाले राप्रपाका पशुपतिशमशेर जबराले पनि मत दिन पाएनन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपक्षमा मतदान गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी रूसको क्रास्नोडार क्षेत्रस्थित कालो सागर (Black Sea) किनारको आर्खिपो-ओसिपोभ्का समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये…

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

प्रतिकृयाहरू
...