छायादत्त न्यौपाने ‘बगर’ – रातभर निदाएनन् दानवीर । चतुर्मान र सनकमान वल्लाेपल्लो खाटमा घुरिरहेका थिए । दानवीरले यताउता करबट फेर्दाफेर्दै उज्यालो भयाे।
झुलमुलेमै दानवीर पँधेराँ पुगे । नुहाइधाेइ गरी पानी लिएर घर आइपुगे । घामले डडाल्नु सेके पनि सनक र चतुर फ्वाँफ्वाँ गरिरहेका थिए।
छाेराहरूकाे पारा देखेर हैरान रहेका दानवीरले-हे घाम तिम्रो तापले मेरा छाेराकाे चेत पगालेर गति दिन सकेन त बा ! भनेर सुय्य सुस्केरा काढे ।
घामसँग बाले गुनासाे गरेकाे सुनेर दुवै जना बिउँझे । उनीहरू यताउता गर्न खाेज्दै थिए दानवीरले आफू नजिक बाेलाए । उनेले छानुमा घुसारेर राखेकाे बाैचाे झिकेर ल्याउने अह्राए ।
सनकमानले बौचाे ल्याएर बाका हातमा दिए । बाले बौचाेबाट कैँची र सियो झिकेर हातमा लिँदै भने- चतुर्मान तिमी कैँची लिन्छौ कि सियाे ? बाकाे कुराले सनकमान झस्के- कतै भाइले मलाई मन पर्ने कैँची लियाे भने ! संयाेग चतुर्मानले सियाे लिए । सनमकमान भित्र भित्रै खुसी भए ।
छाेराहरूले रुचि अनुसार हतियार समाते । दानवीर छाेराहरूलाई पछि लाएर नेता बेसुरकहाँ पुगे । उनले भलाकुसारी पछि बेसुरसँग जेठाे छाेरा सनकमानलाई आफ्नाे शिष्य बनाउन आग्रह गरे । बेसुरलाई ढुङ्गा खाेज्दा देवता भेटेझैं भाे । दानवीर धन्यवाद दिएर बाटा लागे ।
दानवीर व्यापारी धनपतिकहाँ पुगे । उनले शिष्टाचार पूरा गर्दै चतुर्मानलाई आफ्नाे चेलाे बनाउन अनुरोध गरे । दानवीरले के गर्न आँटे भनेर केही बेर घाेरिएका धनपतिले पनि सहमति जनाए ।
धनपतिलाई धन्यवाद दिएर दानवीर प्रवृत्ति अनुसार अनुकूल पात्रसँग छाेराहरू जिम्मा लाउन सफल भएँ । अब कैंचीले काट्छ, सियाले सिउँछ भनेर सन्तोषले सास फेर्दै घर फर्के ।
हाल – काठमाडौं