Tuesday 15th July 2025

लघुकथाकार शुभ शर्माको लघुकथा “पहिचान” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – हाम्रो लघुकथा पाठशालाकी सक्रिय व्यवस्थापक, सुमधुर स्वरकी धनी एवम् कुशल प्रस्तोता, लघुकथाकार शुभ शर्माले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा आज प्रेषित गर्नुभएको लघुकथा ”पहिचान”पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार तथा कुशल प्रस्तोता शुभ शर्मासँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथा र सामाजिक संजालको माध्यमबाट परिचित छु ।लघुकथाकार शुभ शर्माको वास्तविक नाम गीता बराल हो । उहाँको जन्म २०३८/०४/०७ गते माता मिठुमाया गैरे तथा पिता झगलाल गैरे( आचार्य )को सुपुत्रीको रुपमा रत्न नगर-१३,चितवनमा भएको हो ।स्थायी ठेगाना पोखरा-११,कास्की भएपनि हाल वैदेशिक रोजगारीको क्रममा मलेशियाको पेनाङ शहरमा रहेर नेपाली साहित्यको श्रीवृध्दीमा अहोरात्र खटिरहनु भएको छ ।

लघुकथाको अलावा गीत, गजल,मुक्तक,कवितामा कलम चलाउनुहुने साहित्यकार शुभ शर्मा मुहारपुस्तिका मार्फत विभिन्न साहित्यिक कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै प्रत्येक बुधवार नेपाल भित्र बोलिने विभिन्न राष्ट्र भाषामा अनुवादित लघुकथाहरुको वाचन गरेर भिडियो युट्युवमा राख्ने गर्नुहुन्छ ।

हाम्रो लघुकथा पाठशालाको व्यवस्थापक,मझेरी साहित्य प्रतिष्ठानको आजीवन सदस्य तथा उज्यालोमन परिवारको व्यवस्थापक जस्ता विभिन्न साहित्यिक संघ संस्थाहरुमा समेत आवध्द हुनुहुन्छ ।

२०७३/१०/२१ गते पहिलो लघुकथा ”दार” बाट लघुकथा लेखनयात्रा शुरु गर्नुभएकी लघुकथाकारको पत्रिकामा पहिलोपटक छापिएको लघुकथा ‘ज्ञान’ शब्द संयोजन मासिक पत्रिकाको २०७६को वैशाख अंकमा प्रकाशित भएको थियो ।

हालसम्म कुनै कृति प्रकाशित नभएपनि विभिन्न संयुक्त लघुकथा सङ्ग्रहमा लघुकथाहरू समेटिएका छन् ।उहाँका लघुकथाहरु विभिन्न अनलाईन तथा छापा पत्रपत्रिकाहरुमा पढ्न पाईन्छ ।साहित्यपोस्टद्वारा संचालित लघुकथा लेखन प्रतियोगिताको २१ओैं चरणमा उहाँको ‘प्रतिप्रश्न’ शिर्षकको लघुकथा विजयी समेत भएको थियो ।

प्रस्तुत लघुकथामा बुबा,सानो छोरो र दिदी मुख्य पात्रको रुपमा रहेका छन् भने हजुरबुबा गौण पात्र छन् । लघुकथा यसरी शुरु गरिएको छ ।
”बाबा ! हजुर र म, को राम्रो ? सानो छोराले सोध्यो ।बुबाले तिमी राम्रो छोरा भने । कसरी म राम्रो उसले प्रश्न तेर्स्यायो । तिमी बढदो उमेरको मान्छे, म बुढो भएँ । मेरो जोश र जाँगर मरिसक्यो भन्दै बुबाले आश्वस्त बनाउन खोजेँ । मख्ख परेर हजुरबुबालाई देखाउँदै भन्यो उहाँ झन् बूढो, झन् नराम्रो है ।
बुबाले बाबु मभन्दा हजुरबुबा धेरै राम्रो मान्छे हो ।आजसम्म मैले हरेक काम उहाँबाट नै सिकेँ ।आज म जे छु बाकै देन हो भन्दै संम्झाए ।कुरा बुझेझैँ गरि ऊ हाँस्यो र उसो भए हामी तीन जनामा हजुर नै नराम्रो मान्छे भन्दै दिदी नजिक गयो। ”हाम्रो बुबा त हाम्रो लागि संरक्षक हुनुहुन्छ, उहाँ हारेर पनि हामीलाई जिताउनु हुन्छ । यस्तो कर्मयोगी मान्छे कसरी नराम्रो हुन्छ ? ”दिदीले पनि प्रतिप्रश्न गरिन ।उसले त्यसोभए नराम्रो मान्छे नै हुँदैनन् त दिदी भन्ने जिज्ञासा राख्यो ।
छन् नि बाबु ! आफू पनि सही मार्गमा नहिँडने,अरूलाई पनि गलत मार्गमा हिड्न उत्प्रेरित गर्ने अनि नचाहिने कुरामा बढी चासो राख्ने मान्छे नै नराम्रा हुन् भन्दै दिदीले संम्झाईन् ।
उसको अनुहार एक्कासी मलिन भयो । घरभरिको नराम्रो मान्छे को हो ? भनेर अनावश्यक चासो राख्ने म आफैँ पो नराम्रो मान्छे रहेछु ।” यसरी लघुकथा समापन गरिएको छ ।

करिब २२२ शब्दमा बुनिएको कथा संम्वादात्मक शैलीमा लेखिएको छ । सानो छोरोले आफ्नो पहिचान खोजेको कथानक भएको कारण शिर्षक सार्थक छ । कथामा पात्रहरु बोलेका छन् ।सानो छोराको म नै सबैभन्दा राम्रो छु भन्ने भावबाट शुरु भएको कथा घरभरिको नराम्रो मान्छे को हो ? भनेर अनावश्यक चासो राख्ने म आफै पो नराम्रो मान्छे रहेछु भन्दै विपरित भावमा समापन भएकोले लघुकथाको मापनमा थपक्क बसेको छ । बाल मनोविज्ञान उजागर गरिएको कथाको उठान वाक्य देखिनै कौतुहल शुरु भएर मिठासपुर्ण समापन भएकोले लघुकथा बेजोड बनेको छ ।लघुकथा सरल र सुबोध छ ।

यति हुदाँहुदै पनि लघुकथामा एउटैखाले प्रश्न र उत्तर दोहोरिएकोले केही कथ्य विस्तार भएको छ र यसले लघुकथाको बहाव तिव्र हुनबाट रोकेको हो की ? जस्तो लाग्छ मलाई ।

अन्त्यमा, साहित्यकार शुभ शर्माको साहित्यिक यात्रा माछापुच्छ्रे झैं अटल र चम्कीरहोस् । दर्जनौ लघुकथा लेखीसक्नु भएकी लघुकथाकार शर्माका लघुकथाका संङ्ग्रहरु यथाशिघ्र पढन पाईयोस् भन्ने कामना सहित सुस्वास्थ्य, दीर्घायु तथा अटल श्रीवृध्दीको कामना गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०,सर्लाही
हाल म.थि.न.पा-३, भक्तपुर

लघुकथा : पहिचान
शुभ शर्मा

`बाबा ! हजुर र म, को राम्रो ?´अचानक सानो छोराले सोध्यो ।
मैले उसको कपाल सुम्सुम्याउँदै भनेँ, `तिमी राम्रो छोेरा !´
`कसरी म राम्रो ?´ उसले प्रश्न तेर्स्यायो ।
`तिमी बढदो उमेरको मान्छे, म बुढो भएँ । मेरो जोश र जाँगर मरिसक्यो नि !´ मैले आश्वस्त बनाउन खोजेँ ।
ऊ मख्ख पर्यो । हजुरबुबालाई देखाउँदै भन्यो, `उसोभए उहाँ झन् बूढो, झन् नराम्रो है ?´
मैले सम्झाउँदै भनेँ, `होइन नि बाबु ! मभन्दा हजुरबुबा धेरै राम्रो मान्छे हो । आजसम्म मैले हरेक काम उहाँबाट नै सिकेँ । हरेक दु:खसुखमा उहाँले देखाउनु भएकै मार्ग समातेँ। आज म जे छु, बाकै देन त हो ।´
कुरा बुझेझैँ गरि ऊ हाँस्यो । `उसो भए हामी तीन जनामा हजुर नै नराम्रो मान्छे !´ भन्दै दिदी नजिक गयो।
उनले भाइलाई सम्झाइन् , `हाम्रो बुबा त हाम्रो लागि संरक्षक हुनुहुन्छ, भाइ! उहाँ हारेर पनि हामीलाई जिताउनु हुन्छ । यस्तो कर्मयोगी मान्छे कसरी नराम्रो हुन्छ ?´

उसले झिँझिँदै सोध्यो, `त्यसोभए नराम्रो मान्छे नै हुँदैनन् त दिदी ?

`छन् नि बाबु ! आफू पनि सही मार्गमा नहिँडने,अरूलाई पनि गलत मार्गमा हिड्न उत्प्रेरित गर्ने अनि नचाहिने कुरामा बढी चासो राख्ने मान्छे नै नराम्रा हुन् ।´
उसको अनुहार एक्कासी मलिन भयो । `के भयो ?´ भनेर दिदीले सोधिन् ।
उसले भन्यो, `घरभरिको नराम्रो मान्छे को हो ? भनेर अनावश्यक चासो राख्ने म आफैँ पो नराम्रो मान्छे रहेछु ।´


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...