Thursday 6th February 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ३७


स्रष्टा परिचय
नाम – छायादत्त न्यौपाने बगर
जन्म – २०२२
-जन्मस्थान पैंयु-४,पर्वत
-मातापिता देवरूपा र कमलप्रसाद
-शिक्षा एमए बिएड्,नेपाली
-प्रथम रचना हाम्रो झन्डा निबन्ध २०४२
-कविताकाे उपविधा *साइनो*काे प्रथम लेखक
संस्थागत संलग्नता:
-सस्थापक अभियान साहित्य प्रतिष्ठान
-संस्थापक डायमनसमशेर साहित्य प्रतिष्ठान
-संस्थापक बालसिर्जना मञ्च ,नेपाल
-अाजीवन सदस्य ,नेपाल बालसाहित्य समाज
-अाजीवन सदस्य, जनमत वाङमय प्रतिष्ठान,बनेपा
-अाजीवन सदस्य ,जनमत साहित्यिक मासिक पत्रिका
-अाजीवन सदस्य ,नवप्रज्ञापन त्रैमासिक पत्रिका समेत
केन्द्रीय सदस्य अदिल नेपाल जनसांस्कृतिक महासङ्घ
उपाध्यक्ष अखिल नेपाल लेखक सङ्घ,नेपाल
-विभिन्न साहित्यिक संस्थाहरू
-सम्पादन विद्यालय तहका पाठ्यपुस्तक, साहित्यिक पत्रिकाहरू,स्मृतिग्रन्थहरू,स्मारिकाहरू
प्रकाशित कृतिहरू:
१.भाषा:सिकाइ,सिप र सिर्जना
२.बालदिवस,बाटाे बताउने नाति,साथीभाका कथा र डाँफे चरी बालकथा सङ्ग्रहहरू
३.बालदिवस र माेटरसाइकलकाे बिहे बालएकाङ्की सङ्ग्रहहरू
४.हजुरबाकने गाउँ ,परर ताली र उस्तै उस्तै छेपाराेजस्तै बालनिबन्ध सङ्ग्रहहरू
५.गुराँस झुल्दै छ बालदाेहाेरी गीत सङ्ग्रह
६.कति राम्रो क, पुतलीकाे बिहे,बाफसँग पानी ,प्वाँप्वाँ भ्वाँभ्वाँ, हामी साथी साथी र कमिला बालकविता सङ्ग्रहहरू
७.टुर्रटुर्र कराउँ,केरै केरा,म खेल्छु,मुनीपाठी करायाे,भ्यागुताकाे बिहे याे,नेपाल र फूलबुट्टे लुगा बालकाव्यहरू
८.धर्ती मुस्कुराउँछ । टिनिमिनी घुन्न किशोर कविता सङ्ग्रहहरू
९.अाइँपाडीले दूध खायाे बालउपन्यास
१०.हाम्रा कुरा सहसंवाद (कुराकानी )
११.केही असल मानिसहरू जीवन सङ्ग्रह
१२बाँसै बाँस तथ्य पुस्तक
१३.खल्तीका कुरा चल्तीका सूत्र,सूत्रदृष्टि
१४.खेल्दै पढ्दै विधा चानचुन
१५.कदर नभए पछि र बादलका रेसाहरू निबन्ध सङ्ग्रहहरू
१६.वाङमयका कुरा समालाेचना सङ्ग्रह
१७.मान्छे कविता सङ्ग्रह
१८.विभिन्न पत्रपत्रिकामा फुटकर लेख/रचनाहरू……..
१९.बालनिबन्धहरू ९५, निबन्धहरू १२५,लघुकथाहरू५२, बालकविताहरू ३५ र बालनाटकहरू ७ वटा प्रकाशनकाे पर्खाइमा।

रचना
निबन्ध
शीर्षक : गजबको सूत्र

हाे नि समय बलियो हुन्छ । त्यही बलियो समयले तानेर मान्छेलाई यहाँसम्म ल्यायाे धेरै परिवर्तन देखायो। हिजोको मान्छे आजसम्म आइपुग्दा धेरै उथलपुथल देखेको छ। याे उथलपुथलले मान्छेलाई आफन्तबाट उछिट्याएर पर पुर्‍याएकाे छ । आपसी सद्भावमा बालुवा मिसाइदिएर फरक स्वाद चखाएको छ यसैमा जनता दङ्ग छ।
विज्ञानकाे चमत्कारले चम्केकाे मान्छे विलासमा लाेभिन पाउँछ । नैतिक मूल्य थिथेर बहादुर बन्न सक्छ । कस्तो मजा छ आज मान्छेलाई ! नीति नियम अनुशासनमा अडिएर गर्नुपर्ने मानवीय संवेदनायुक्त सहिष्णु व्यवहार बिर्सन पाइन्छ । किन बिर्सिस् ? कसैले साेध्दैन ।
आज त धेरैको प्रिय पेसा छलकपट धाेका धुर्त्याइँ बनेको छ । मान्छे यसैकाे सहारामा रमाउँछ । खै के विधि मच्चिएको हाे याे नयाँपन मान्छेसित मान्छे बाँच्नै नसक्ने आधुनिक पाे भा छ त !
आज मान्छे कुरा ठुला जान्दछ । ऊ आफू जत्तिकै जान्ने सुन्ने अरु कसैलाई देख्दैन । म त संसार जानेको मान्छे । मसँग के छैन काम नगरी दाम खाने कला छ । सरकारी कर्मचारीसँग मिलेर विधि पुर्‍याई पुर्‍याई नजराना हात पार्न दाउ छ, बजारमा मेरै भाउ छ । ठाउँ ठाउँमा उपस्थिति छ, याेजना र जनताकाे सक्रियता चिनेर कमिसन थाप्ने हैकम छ । यिनै अनन्त सिपले सम्पन्न छु ,अगाडि छु भन्छ निर्धक्कसित।
आज त पृथ्वी खुम्चिएर विश्व समुदाय छिमेकी बनेकोमा मख्ख छ । यस मौकामा चौका चलाएर कहाँ गाे दुनाँ पाेखियाे भागाँ भन्ने भनाइ अनुसार सातु खान जाने पछि सजिलै आफन्त काेट्याएर पेच कस्न सकिने रहेछ भनेर बुर्कुसी मार्छ ।
इमानकाे आलु राेपेर बस्ने समय हाेइन रहेछ आज । बाेलीमा अकरण प्रयाेग नगर्ने कर्ममा सकेजति धर्म छाड्ने शैलीले विजयाेत्सव मनाउने समय रहेछ । याे गूढ रहस्य पत्तो लागेपछि मान्छे पनि ढुकक छ । काम गरेर हाेइन दाम खाने , दाम खाने र कामकाे विषयमा भाका राख्ने हाे । भाका जति पर पर पुर्‍याएर आजभाेलि, भाेलिपर्सि गर्दै हप्ता, महिना, वर्ष, वर्षौं धकेल्न सक्यो त्यति नै बढी सफल । यस्ताे गजबको सूत्र फेला पारेपछि कसैले छाड्छ ?
हाेरहेछ नि ! जति भाका सारेर कमिसन वितरण गर्न सक्याे उही क वर्गीय ठेकेदार बनिरहन पाउने ! थाहा पाउनु पर्‍याे नि आजको समय कमिसन र भागबिलाेकाे रहेछ भनेर । कमिसन मिलेपछि काम, कामकाे परिणाम , काम सक्ने हदम्याद यस्ता यस्ती विषय सब थन्किन्छन् फाइलमा । जाबाे नीति नियम त कमिसनको बिटाेसँग जाेख्ने त हाे !
यहाँ कसले खाेज्छ अनियमितता ? सबैकाे चरित्र उस्तै तैंचुप मैचुप ! जनता जागेर हकअधिकारकाे उपयोग गर्ने गल्ती गर्नै भएन । जनता नबिउँझेकै राम्रो ! जहाँ जे भए पनि चाराे फाल्दिएर हाइसन्च बस्न पाइन्छ । जनता जुटे त यस्तो अवसर गुमिहाल्छ नि ! जनता जाग्ने र जगाउने गल्ती नहाेस् है ! यसैमा भलाे छ ! अस्तु ।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...