Tuesday 10th March 2026

लघुकथाकार राजन सिलवालको लघुकथा “अपराजित” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – हाम्रो लघुकथा पाठशालाकी संस्थापक लता के.सी.ले मन पराएर हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथाकार राजन सिलवालको लघुकथा ‘अपराजित’ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

साहित्यकार राजन सिलवालसँग सात्क्षात्कार नभएपनि २०७२ देखि लघुकथाको माध्यमबाट परिचित छु ।
उहाँ लघुकथा संसारका संस्थापक एडमिन हुनुहुन्छ ।उहाँका लघुकथाहरु लघुकथा कुनो, लघुकथा संसार जस्ता लघुकथाका फेसबुक पेजहरुको साथै अनलाईन पत्रपत्रिका,छापाहरु र लघुकथा संग्रह ‘बाको कोट’ मा पढन सकिन्छ ।

लघुकथाकार राजन सिलवालको जन्म माता चेतकुमारी सिलवाल तथा पिता रणबहादुर सिलवालको सुपुत्रको रुपमा खोपासी, काभ्रेपलान्चोकमा २०२६ असारमा भएको हो । हाल लोकन्थली, भक्तपुरमा बसोबास गर्नुहुने साहित्यकारले अर्थशास्त्र र नेपालीमा त्रिभुवन विश्वविद्यालयबाट र विकासशास्त्रमा नेदरल्याण्डबाट स्नातकोत्तर गर्नुभएको छ । निजामती सेवामा सेवारत लघुकथाकार हाल केन्द्रिय तथ्याङ्क विभागमा निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँका The causes of Trade deficit of Nepal (2011) , दुईहजार सोह्र पाइला मुक्तक संग्रह र बाको कोट लघुकथा संग्रह प्रकाशित छन् । विगत दश बर्ष देखि लघुकथा लेख्दै आउनुभएका लघुकथाकारको रुची कथा, कविता,निवन्ध र समालोचनामा पनि रहेको छ ।लघुकथाकार सिलवाल वर्तमान नेपालको दुरावस्था, मानवीय आकाङ्क्षा, चाहना, संवेदनाजस्ता यत्रतत्र देखिने दैनिक घटनाहरुलाई आफ्नो शिल्पकारीको माध्यमबाट मिठो स्वादमा पस्कन सफल हुनुहुन्छ ।उहाँका लघुकथाहरुमा लघुकथाको मुख्य तत्व लघुत्व र समापनमा प्रतिध्वन्यात्मकता मैले पाएकी छु ।

प्रस्तुत लघुकथा ‘अपराजित’ मा युवक र युवती दुई मुख्य पात्र रहेका छन् ।कथा यसरी शुरु भएको छ ।
”प्रेम थियो, निष्ठा थिएन । दुबैलाई एक अर्कामाथि शंका थियो । युवती भन्थी, मैले बाटो बिराउन सक्छु । तिमीले सम्हाल्नू । मलाई जतन गर्नू ।युवक भन्थ्यो, लोग्नेमान्छेले पो बिराउँछन् । बरु यताउति भड्किन नदिने,भड्किई हाले पनि ठेगानमा ल्याउने ठेक्का लिऊ ।युवतीले जिद्दी गरी,यो छुट पनि दिन सक्तिनँ म । यो ठेक्कासेक्का पनि लिन्न । म त झन् स्वभावैले कोमल, कमजोर छु । लल्याकलुलुक् हुन्छु । स्कुस वा तरुलको लहराजस्तो । तिमी रुख बनेर मलाई सम्हाल ।युवक हाँस्यो तर पराजित हुन मानेन ।
युवकले भन्यो,हैन स्वास्नीमान्छे भनेका नडग्मगाउने धरती हुन् । हामी आकाश पो बादल र सादल बोकेर चराचर व्याप्त हुन्छौँ । बरू तिमी नै रुख बन र मजस्तो अस्थिर चित्त भएको लहरालाई आफूमा समाहित गर । अन्त कतै जान नदेऊ ।ती दुवैबीच को लहरा र को रुख बन्ने भनेर नाइँनास्ति चलिरह्यो । युवतीले लहरा नै बन्ने हठ गरी । युवकले हार खायो ।
हिँड्दै जाँदा एउटा किसानको बारीको डिलमा अनौठो दृश्य देखियो । अग्लो पैयुँको रुखलाई तरुल, स्कुस र इन्द्रेनीका लहराले सक्कली रूपै नदेखिने गरी बेरेका थिए । युवतीतिर हेरेर युवकले सोध्यो,अब देख्यौ त ?”
युवतीले भनी, “तिमी लोग्नेमान्छेहरूसँग सकिँदैन । बरू मै रुख …।” युवकले त्यस रुखलाई हेरिरह्यो ।” यसरी कथा समापन गरिएको छ ।

करिब २१० शब्दमा अटाएको लघुकथामा कौतुहलपुर्ण रुपले प्रेम भएको तर निष्ठा नभएकोबाट शुरु भएर अन्त्यमा तिमी लोग्नेमानिसहरु सँग सकिदैन म रुख नैं बनौला भन्ने भावमा विपर्यास भएर कथा समापन गरिएको छ । शिर्षक सार्थक छ । लघुकथा सुबोध, सरल र सलल बगेको छ ।युवक युवतीहरुको पराजित हुन नसक्ने प्रवृत्तिलाई प्रेमले पराजित गराउछँ र प्रेममा पराजित हुदाँ पनि मानिसले अपराजित महसुस गर्छ भन्ने सन्देश दिएको लघुकथा म जस्ता सिकारु लघुकथाकारहरुको लागि मानक लघुकथा हो ।

चार दशकदेखि साहित्यमा रमाउनुहुने साहित्यकार राजन सिलवालको साहित्यिक यात्रा अझ संम्वृध्द हुदै जाओस् भन्दै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०,सर्लाही
मध्यपुर थिमी -३,गठ्ठाघर

लघुकथा संसारका एडमिन राजन सिलवालले सन् २०१२ मा लेखेको यो लघुकथा निकै मन पर्यो अनि अनुमतीले यता पोष्ट गरेकी छु । -लता के.सी.

लघुकथाः अपराजित
राजन सिलवाल
लोकन्थली, भक्तपुर

प्रेम थियो, निष्ठा थिएन । दुबैलाई एक अर्कामाथि शंका थियो । युवती भन्थी, “मैले बाटो बिराउन सक्छु । तिमीले सम्हाल्नू । मलाई जतन गर्नू ।” युवक भन्थ्यो, “त्यस्तो कहाँ हुन्छ ? बाटो त प्रायः लोग्नेमान्छेले पो बिराउँछन् । बरु तिमी नै मलाई सम्हाल्ने, यताउति भड्किन नदिने, भड्किई हाले पनि ठेगानमा ल्याउने ठेक्का लिऊ ।” युवतीले नि जिद्दी गरी, “त्यो छुट पनि दिन सक्तिनँ म । यो ठेक्कासेक्का पनि लिन्न । म त झन् स्वभावैले कोमल, कमजोर छु । लल्याकलुलुक् हुन्छु । स्कुस वा तरुलको लहराजस्तो । तिमी रुख बनेर मलाई सम्हाल ।” युवक हाँस्यो तर पराजित हुन मानेन ।
युवकले फेरि भन्यो, “हैन स्वास्नीमान्छे भनेका नडग्मगाउने धरती हुन् । हामी आकाश पो बादल र सादल बोकेर चराचर व्याप्त हुन्छौँ । बरू तिमी नै रुख बन र मजस्तो अस्थिर चित्त भएको लहरालाई आफूमा समाहित गर । अन्त कतै जान नदेऊ ।” ती दुैवबीच को लहरा र को रुख बन्ने भनेर नाइँनास्ति चलिरह्यो । युवतीले लहरा नै बन्ने हठ गरी । युवकले हार खायो ।
हिँड्दै जाँदा एउटा किसानको बारीको डिलमा अनौठो दृश्य देखियो । अग्लो पैयुँको रुखलाई तरुल, स्कुस र इन्द्रेनीका लहराले सक्कली रूपै नदेखिने गरी बेरेका थिए । युवतीतिर हेरेर युवकले सोध्यो, “अब देख्यौ त ?”
युवतीले भनी, “तिमी लोग्नेमान्छेहरूसँग सकिँदैन । बरू मै रुख …।” युवकले त्यस रुखलाई हेरिरह्यो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...