मै किन जानुपर्यो र !
धेरै तयार छन् तिम्रो जन्ती जान ।
मलाई आरक्षित गरिराख
तिम्रो मलामीको रूपमा ।
जब तिमी
आफ्नो मलामी बनाउँछौ कसैलाई
तबमात्र
तिमी आफ्नो दानवीय रूपबाट मुक्त भएका हुन्छौ ।
तिम्रा दुष्ट आकांक्षाहरू पूरा गर्न
तिमीले स्वरूप दिएका
लडाइँका बर्बर शृङ्खलाको निर्देशकको भूमिकाबाट
तिमी त्यही दिनमात्र
निवृत्त भएका हुन्छौ
र त्यही दिनदेखि मात्र
तिमी
मेरो मित्र भएका हुन्छौ ।
तिम्रो निर्देशनमा चलेको
कुनै पनि नाटकको पात्र भएर
मलाई खेल्ने रहर छैन ।
कृपया
नायक बनाएर खेलाउँछु भन्दै
जाल नथाप ।
मै किन चाहियो र !
अरू नै तयार छन् तिम्रो नाटकको नायक बन्न
दम्भको लडाइँमा
मार्न र मर्न – मर्न र मार्न !
कोही बँच्दैन तिम्रो नाटकमा
तिम्रो द्वन्द्वको दृश्यपछि ।
नाटकको समाप्तिपछि
रङ्गमञ्चको पर्दा झार्न पनि कोही त चाहियो !
त्यसैले त भन्दैछु
जबर्जस्ती नगरेर नाटकको मूल पात्र बनाउन
मलाई आरक्षित गरिराख
तिम्रो मलामीको रूपमा ।