Tuesday 20th January 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ३१


स्रष्टा परिचय
नाम : गोम विक्रम
जन्म : पौष १५
मातापिता : रेवताकुमारी/जुद्धबहादुर क्षेत्री
जन्मस्थान : कल्लाबारी, पाल्पा ।
रूची : साहित्य, समाज सेवा, पत्रकारिता आदि ।

सम्बद्धता : गाउँले देउराली साप्ताहिक/ नेप्लिज डायस्पोरा डट कम/ उज्यालो आवाज
प्रकाशोन्मुख कृति
१. समयका अन्तर्ध्वनिहरू (मुक्तक सङ्ग्रह)
२. मगर संस्कृति, परम्परा र गरिमा (लोकसाहित्यिक कृति)

रचना
लघुकथा : बुबाको याद

म बुबाको स्नेहमा पौडिदै हुर्किएँ । बुबाको काँधाकुरी चढेर, सुत्दा गोडामा चाकाचुली खेलेर अनि अौंला समाएर हिँड्दै बाल्यकाल आमाको काखपछि बाबुकै छत्रछाँयामा बित्यो । संसारको सबैभन्दा ठूलो, महान र नजिकको व्यक्ति नै बाबु जस्तो लाग्थ्यो । अनि सोच्थेँ, ठूलो भएर त म पनि बुबा जस्तै ठुल्ठुला मुठे जुँगा पाल्छु चिटिक्क कोटमा ठाँटिएर हिँड्छु ।
बालावय सकियो । लगभग १६/१७ पछि मेरा पनि जुँगाका रेखी बस्न थाले । ऐनामा हेर्दै दिनहुँ मुसार्थेँ अब त म पनि बुबा जस्तै ठूलो भैसकेँ । कहाँ स्कुल पढेका बा कहाँ
कलेज पढेको म । फेरि बुबाको नियन्त्रण उति पचाउँदैनथिएँ ।
” हेर है बाबुु ! उमेर, संगत र विवेक पुगेन भने बाटो बिरिन्छ । त्यसपछि सच्चिन गाह्रो हुन्छ । हामीले कतै केही लच्चाघच्चा नगरी यत्तिको भइयो ।”

कलेजको झडप होस् या निरूतासितको हल्ला अनि कलेजमा कक्षा हापेका कुरा बाले कति छिट्टो थाहा पाइहाल्ने मानौं सि.आई.डी. जस्तै । वहाँले बनाएको परिधीभित्र खुम्चिएर रहन सक्दैन थिएँ, लक्ष्मण रेखा नाघिहाल्न पनि गाह्रो । त्यसपछि बिस्तारै बिस्तारै बुबामाथिका मेरा सदभावहरू फेरिदै जान थाले, उति महान देख्न छाडेँ ।

समय बित्दै गयो । म आफै ४० नाघिसकेँ अहिले । बुबाभन्दा अलग सोच छ वहाँभन्दा फरक म । कामले घरदेखि टाढा रहेकाले पनि सबै कुराहरूमा नजर पुगेन पनि । बुबा आमाकै कारण गृहस्थीको रथ गुड्दै रह्यो ।

” तेरा बा जस्ता मेरा बा भएका भए मेरो घर स्वर्ग हुन्थ्यो । ” साथीहरूले भन्दा म उचालेको सम्झिन्थेँ ।

अहिले भौतिक रूपमा बुबा हुनुहुन्न । बुबाबिनाको घर, बुबाबिनाको जिन्दगी, बुबाबिनाका भूमिकाहरू निभाएर हेरिसकेँ । उहाँको स्मरणबिना मेरा हरेक पाइला, कर्तव्य र योजनाहरू अधुरा हुन थालेका छन् । मभित्रको ‘म’ धूलोपिठो हुन्छ । श्राद्धमा पिण्ड दिन्छु, कुशे अौसी आउँछ भित्ताको तस्विरमा माला लगाइदिएको हुन्छु । अनि त्यही तस्विरबाट बुबा प्रकट भएर जुँगामा ताउ लाउँदै खबरदारी गर्नु हुन्छ – ” मलाई तस्विर र अौपचारिकतामा होइन मनमा राखेर काममा सम्झिएस् बाबु । ”


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...