Wednesday 24th September 2025

सोमनाथ लुइटेल “रवि पाल्पाली” का पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
===================
समापञ्चाङ्ग १

जनताको जायज नै माग हुनुपर्छ
विकास गर्नलाई त घाग हुनुपर्छ
उत्तर-दक्षिण मिलाउन नेता हुनु
परिपक्व नेता भैइ खाग हुनुपर्छ
तिष्ण बुद्धि चलाखमा काग हुनुपर्छ ।

स्वच्छ छबि नलागेको दाग हुनुपर्छ
सुन्दर संगीत जस्तै राग हुनुपर्छ
सोझा जनतालाई धोका कैले नदिनु
बैरीलाई डस्न सक्ने नाग हुनुपर्छ
सबैलाई चित्त बुझ्ने भाग हुनुपर्छ ।

समपञ्चाङ्ग २

राम्रो जति सबै चालेर गयो त्यो मानव
नराम्रो प्रवृत्ति फालेर गयो त्यो मानव
हामी सबैले साथ दिनुपर्छ हेर अब
सत्यतालाई नै टालेर गयो त्यो मानव
कुरिती साच्चीकै ढालेर गयो त्यो मानव ।

निभेको दिपक बालेर गयो त्यो मानव
विश्वासको दोयो पालेर गयो त्यो मानव
आस्थाको बन्धन तोडन सजिलो छैन अब
यज्ञ-कुण्डमा घ्यू हालेर गयो त्यो मानव
नवीन बिचार थालेर गयो त्यो मानाव ।

पञ्चाङ्ग १

तिमी झगडा नगर हल गर्छु
भनेको जस्तो नभए कल गर्छु
सानो कोसिस गरेमा हुन्छ होला
भ्यासम्म प्रयत्न बल गर्छु
नत्रभने सबैलाई छल गर्छु ।

पञ्चाङ्ग २

चुनाव नै जितेर फर्की को आएकोछ हजुर
भलो गर्न गाउँ घरमा को धाएकोछ हजुर
नानाथरीका वाचा गरेर बन्धनमा फसायौ
दु:खि गरिब जनताले के खाएकोछ हजुर
प्रतिबद्धता अनुसार के पाएकोछ हजुर ।

पञ्चाङ्ग ३

एक्काइसौँ शताब्दीमा पनि आज जात चलेन हजुर
मानिस त एकै होनि तर किन भात चलेन हजुर
परम्परादेखिको जरो गडेको उखेल्न गाह्रो भएको
मुखले भनेर के भो ? दलितको हात चलेन हजुर
सम्भ्रान्त भनिनेको बिचमा हाम्रो बात चलेन हजुर ।

पञ्चाङ्ग ४

तिमी स्वर्ग गएपछि धेरै पार्टी बनाएको देखिन्छ
खाने लगाउने काममा सबैले मनाएको देखिन्छ
नेपालमा भ्रष्ट,भ्रस्टाचार गर्नेको सिमा नाघी सक्यो
बालुवामा बजेट सबै मिलेर खनाएको देखिन्छ
राजा बिरेन्द्रको कार्यकाल पछि गनाएको देक्गिन्छ ।

पञ्चाङ्ग ५

मेरो जीवन हुर्काएँ बेचेर सपना
बाँच्न बाध्य भएपछि मेटेर सपना
जिउँदो रहदाको भोगाइ हो बिपना
साँची राखेँ सिरानीमा लेखेर सपना
हेर्दैछु आज खुट्टाले टेकेर सपना ।

पञ्चाङ्ग ६

आँखालाई मात्र किन?भाँचो बनायौ तिमीले
सदैव विचार गर्ने साँचो बनायौ तिमीले
वियोगको साथी भनेको संजोग मात्र भयो
नपुग्दाखेरिमा सधैँ खाँचो बनायौ तिमीले
जहिले पनि किन हो ? काँचो बनायौ तिमीले ।
नवीन बिचार थालेर गयो त्यो मानव ।

पञ्चाङ्ग ७

कसैको खुट्टामा जुत्ता छ कसैको फुटेको पाउ छ
धनी त हिँडेकै छन् नाङ्गै हिँडेर टुटेको पाउ छ
महलमा नि तातो पर्ने बस्तुले पारेकै छन् खुट्टा
गरिबीको सधैँ असिना पानीले चुटेको पाउ छ
दु:ख गरेर खानलाई काममा जुटेको पाउ छ ।

पञ्चाङ्ग ८

कामले गर्दा खुट्टा फुटेको देखेन कसैले
गरिवको यहाँ नीर दु:ख मेटेन कसैले
मर्ने भयो बिचरा तनाव पीडा झेली झेली
जनताको आवाज कहिले टेरेन कसैले
औषधि मुलो कतैबाटनि फेकेन कसैले।

पञ्चाङ्ग ९

नेपाल पनि अब श्रीलंका जस्तै हुन लाग्दै छ
भ्रष्टाचार अति हुँदै श्रीनेपाल रुन लाग्दै छ
राजनीति राज नेतालाई अझै होस् छैन यहाँ
खाटा बसेको रगत पसिनाले धुन लाग्दै छ
महङ्गिले त चाडैं सगरमाथा छुन लाग्दै छ ।

पञ्चाङ्ग १०

छोरा भएर के काम कमाउन सक्दैन भने
बिचल्ली घर बनाई जमाउन सक्दैन भने
साहारा देख्दछन् ती छोराछोरीहरू माथी
दु:ख-पीडा पर्दा हात समाउन सक्दैन भने
त्यो छोरो कस्तो भविष्य थमाउन सक्दैन भने ।

पञ्चाङ्ग ११

हान्ने मार्ने भएपछि आफै जान्नु पर्छ
बुझकारीले गलति स्वयं ठान्नु पर्छ
स्वभाव जस्तो बनाए बन्छ हेर त्यस्तै
केही नलागेपछि भनेको मान्नु पर्छ
नत्र घर व्यबहार आफै धान्नु पर्छ ।

पञ्चाङ्ग १२

दया मात्र होइन माया पनि दिन्छु
वर-पिपल जस्तै छायाँ पनि दिन्छु
उजाड जीवनमा मलजल गर्दै
अस्वस्थ शरीरमा काया पनि दिन्छु
लगाउने भएमा साया पनि दिन्छु ।

पञ्चाङ्ग १३

दुर-दुर धेरै टाढा चन्दा मामालाई देख्छु
अशक्त भएका ती वृद्ध बाबा आमालाई देख्छु
छोरा भइ कर्तव्य पूरा नगर्ने सन्ततिलाई
बाँसको मुना कलिलै टुटे झैँ तामालाई देख्छु
आफ्ना बाबुआमा छोडि उभेको रामालाई देख्छु ।

पञ्चाङ्ग १४

बिदेशको डलर चल्छ हाम्रो नेपालमा
नपाए सरकार ढल्छ हाम्रो नेपालमा
सुनको कमण्डलुमा भिख माग्छन् नेताले
नेताले खाएको त गल्छ हाम्रो नेपालमा
नेताकै घरमा बत्ति बल्छ हाम्रो नेपालमा ।

पञ्चाङ्ग १५

देशै भरी चुनाव अब लड्ने भए स्वतन्त्रमा
इमानदार युवाहरू नै बढ्ने भए स्वतन्त्रमा
जनताहरू बिक्ने छैनन् नेताको पैसामा अब
गाउँ शहर समाजमा खट्ने भए स्वतन्त्रमा
सत्ताको साँचो बागडोर लग्ने भए स्वतन्त्रमा ।

🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...