Wednesday 9th July 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २७


स्रष्टा परिचय

साहित्यिक नाम : मिलन समीर
बुबा/आमाको नाम : ज्ञानप्रसाद/कमला
जन्ममिति : वि. सं. २०४१ साउन ५ गते शुक्रबार
जन्मस्थल : करादीखोला, स्याङ्जा
हालको बसोबास : वालिङ, भुम्रे, स्याङ्जा
शैक्षिक योग्यता : स्नातकोत्तर ( त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं ) ।

जीवनको प्रमुख लक्ष्य :
सफल शिक्षण सहजकर्ता र साहित्यकारको रूपमा क्रियाशील रहेर समाजका लागि सदैव केही अर्थपूर्ण काम गरेर देखाउने ।

साहित्यमा प्रवेश :
वि. सं. २०५८ भदौ २६ गते मंगलबारका दिन ” मिर्मिरे बिहानी ” शीर्षकको कविता मार्फत ।

सर्वप्रथम प्रसारित साहित्यिक रचना :
वि. सं. २०५८ असोज १७ गते बुधबारका दिन रेडियो नेपालको तरंग तरेली अन्तर्गतको कार्यक्रम ” छिटोछिटो मिठोमीठो ” मार्फत ” मेरो जीवन ” शीर्षकको कविता ।

सर्वप्रथम प्रकाशित साहित्यिक रचना :
वि. सं. २०५८ माघको मासिक बालपत्रिका ” सुनकेस्रा ” को अंक – ७० मा ” शान्तिको देश नेपाल ” शीर्षकको कविता ।

भ्रमण : नेपाल र भारतका केही प्रमुख शहरहरु ।

पेशा : सिकाइ सहजीकरण ।

संलग्न साहित्यिक संघसंस्थाहरु :
संस्थापक सम्पादक : ” हाम्रो प्रयास ” साहित्यिक मासिक लघुपत्रिका ( २०५९ ) ।
संस्थापक अध्यक्ष : करादी युवा साहित्य सदन ( २०६० ) ।
संस्थापक सम्पादक : ” ध्रुवतारा ” साहित्यिक द्वैमासिक लघुपत्रिका ( २०६० ) ।
संस्थापक अध्यक्ष : गजल मञ्च नेपाल, स्याङ्जा ( २०६१ ) ।
सल्लाहकार : श्री करादी ” साहित्यिक द्वैमासिक लघुपत्रिका ( २०६१ ) ।
संस्थापक अध्यक्ष : हाइकुताङ्का उत्थान एवम संरक्षण मञ्च, नेपाल ( २०६१ ) ।
सम्पादक : ” गल्याङज्योति ” द्वैमासिक भित्तेपत्रिका ( २०६३ ) ।
अध्यक्ष : कालीगण्डकी साहित्य समाज ( २०६५ ) ।
सदस्य : गजलयात्रा साथी समूह, पोखरा ( २०६५ ) ।
क्षेत्रीय पार्षद सदस्य : हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन ( २०६६ ) ।
सल्लाहकार : करादी सामुदायिक पुस्तकालय ( २०६६ ) ।
सचिव : शब्द शल्यक्रिया ( २०६६ ) ।
सदस्य : छन्दनायक माधव वियोगी अभिनन्दन समारोह मुल समिति ( २०६७ ) ।
सदस्य : स्याङ्जा साहित्य प्रतिष्ठान ( २०६७ ) ।
सम्पादक : ” रजस्थल ” साहित्यिक त्रैमासिक पत्रिका ( २०६८ ) ।
विशेष सल्लाहकार : गजल संगम, पकवादी ( २०६८ ) ।
अतिथि सम्पादक : ” जनमत ” साहित्यिक मासिक पत्रिकाको वर्ष – २८, अंक – १०, साहित्यिक अंक – १७१, कार्तिक, २०७८ को स्याङ्जा साहित्य विशेष ।
गजल सम्पादक : ” बिस्कुन ” वर्ष – १, अंक – १ ( २०६८ ) ।
अतिथि सम्पादक : ” हाम्रो मातृभूमि ” साहित्यिक त्रैमासिक पत्रिकाको २०६९ साउन – असोज, वर्ष – १०, अंक – २, पुर्णाङ्क – २८ को स्याङ्जाली साहित्य विशेषाङ्क ।
सदस्य : नेपाल साहित्यिक पत्रकार संघ ( २०७० ) ।
सदस्य सचिव : तीलाकुमारी साहित्य प्रतिष्ठान ( २०७० ) ।
अध्यक्ष : स्याङ्जाली युवा सर्जक ( २०७० ) ।
संयोजक : ” भानु ” साहित्यिक मासिक पत्रिकाको अंक – १७३, वैशाख ( २०७१ ) ।
सम्पादन सहयोगी : ” भानु ” साहित्यिक मासिक पत्रिका ( २०७१ ) ।
सचिव : स्याङ्जा साहित्य प्रतिष्ठान ( २०७३ ) ।
संयोजक : नेपाली भाषा बचाऔं संघर्ष समिति, स्याङ्जा ( २०७३ ) ।
सल्लाहकार : स्याङ्जा साहित्य संगम ( २०७३ ) ।
अतिथि सम्पादक : ” नवप्रज्ञापन ” साहित्यिक त्रैमासिक पत्रिकाको पुर्णाङ्क – ८०, वैशाख – असार, २०७५ को प्रतिनिधि मुक्तक विशेषाङ्क ।
सचिव : स्थानेश्वर शर्मा स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार प्रतिष्ठान ( २०७५ ) ।
संस्थापक अभियन्ता : बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जा ।
सम्पादक : समकालीन नेपाली प्रतिनिधि लघुकथा ( २०७६ ) ।
संस्थापक सदस्य : वालिङ प्रज्ञा प्रतिष्ठान ( २०७६ ) ।
सल्लाहकार : सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल, गण्डकी प्रदेश समिति ( २०७७ ) ।
सम्पादक / संयोजक : विविधतामा वनवासी ( वनवासी वाङ्मय विविध – २०७७ ) ।
संस्थापक अभियन्ता : सधैंको शनिबार विशेष कविता अभियान ( २०७७ ) ।
सचिव : लघुकथा समाज नेपाल, गण्डकी प्रदेश समिति ( २०७८ ) ।
अभियन्ता : आधुनिक नेपाली गजल अभियान, गण्डकी ( २०७८ ) ।

प्रकाशित साहित्यिक कृतिहरु :
नेपाली बालकविता सङ्ग्रह ( संयुक्त – २०६२ )
जाउ हिंड पोखरा ( लोकदोहोरी गीति एल्बम – २०६२ )
गजलविम्ब ( संयुक्त – २०६२ )
गजलयात्रा ( संयुक्त – २०६४ )
ई समकालीन नेपाली गजल ( संयुक्त – २०६४ )
गजलपराग ( संयुक्त – २०६४ )
गजलयात्रा भाग – २ ( संयुक्त – २०६५ )
समयका स्वरहरु ( संयुक्त कविता – २०६५ )
देश – विदेशबाट ( संयुक्त गजल – सन् २००९ )
गजलगङ्गा ( संयुक्त – २०६६ )
समकालीन स्याङ्जाली गजलहरु ( २०६७ )
गजलउत्सव ( संयुक्त – २०६७ )
समकालीन नेपाली गजल ( २०६८ )
गजलका थुङ्गाहरु ( संयुक्त – २०६९ )
मुक्तकयात्रा ( संयुक्त – २०६९ )
गाउँमा साइरन बजेपछि ( कविता सङ्ग्रह – २०६९ )
प्रतिभाको पहिचान ( संयुक्त – २०७० )
समकालीन स्याङ्जाली मुक्तक ( २०७० )
ई प्रतिनिधि नेपाली गजल ( २०७० )
हाइकु : आलेख र अभिलेख ( संयुक्त – २०७० )
नेपाली कविताको समकालीन स्वर ( संयुक्त – २०७० )
अनेसास गीतमाला ( २०७० )
अनेसास गजलगङ्गा ( सन् २०१४ )
प्रस्फुटन ( संयुक्त गजल – २०७१ )
समकालीन स्याङ्जाली कविता ( २०७३ )
प्रज्ञा आधुनिक नेपाली लघुकथा ( २०७३ )
प्रज्ञा समकालीन नेपाली मुक्तक ( २०७४ )
नियतिचक्रको विमर्श ( संयुक्त समीक्षा – २०७४ )
मुक्तक माधुर्य भाग – १ ( संयुक्त – २०७५ )
मदुस ( संयुक्त लघुकथा – २०७६ )
कवितामा – बा ( संयुक्त – २०७६ )
समकालीन नेपाली प्रतिनिधि लघुकथा ( २०७६ )
कविताहरुको सगरमाथा ( संयुक्त – २०७७ )
झिल्को ( संयुक्त मुक्तक – २०७७ )
सौन्दर्यमा आमा ( संयुक्त लघुकथा – २०७८ )
लघुकथाको सुगन्ध – बा ! ( संयुक्त – २०७८ ) ।

( सम्पर्कका लागि मोबाइल नम्बर : ९८४६१३६१३७ ) ।

रचना
कविता – मिलन समीरको मृत्यु

अहिले भर्खरै पुष्टि गरिएको हुनेछ –
मिलन समीरको असामयिक मृत्यु भएको
अपुष्ट तर साच्चिकै सुखद समाचारको !

व्यस्त शहरको बीच बाटोमा
बेवारिसे जस्तै भेटिएको हुनेछ –
ज्युदो मिलन समीरको मृत शरीर
सोही शरीरमा पहिरिएको
निकै पुरानो कमेजको गोजीबाट
बरामद गर्न सफल भएको हुनेछ –
ड्युटीमा खटिएको प्रहरी टोलीले
केही थान अधकल्चा अकविताहरु !

अहिलेसम्म एक्लै बाचिरहेको
ज्युदो मिलन समीरको मृत शरीर
घेरिएको हुनेछ – असंख्य मानिसको भीडले
हेरिएको हुनेछ – अत्यन्तै उत्सुक आँखाहरुले
घोचिएको हुनेछ – संगीन प्रश्नहरुले
सोचिएको हुनेछ – कोणप्रतिकोणबाट
भ्रम छरिएको हुनेछ – सुनियोजित रूपमा
र, व्यक्त गरिएको हुनेछ – विभिन्न धारणा !

दिक्कै पारिरहेको थियोे, ठिकै भयो !
बल्ल खायो, स्वाद पायो भनेको सुनिनेछ –
कसै – कसैले
किन मर्‍यो ? कसरी मर्‍यो ?
भनिरहेका हुनेछन् – कोही
जिन मर्‍यो ! जसरी मर्‍यो !
कसलाई किन चाहियो ?
भनिरहेका हुनेछन् – कसैले ।

कोही डाको छोडेर रुदै गइरहेको देखिनेछ
कोही साच्चिकै खुशी भइरहेको देखिनेछ ।

हड्डी हासिरहेका मेरा प्रिय दुश्मनहरु !
मेरो लास नजिकै आइरहेका हुनेछन्
र, बगाइरहेका हुनेछन् – गोहीका आँसु ।

अहिलेसम्म मलाई मेरा प्रत्येक पाइलैपिच्छे
अफ्ठ्यारोमा पार्ने बाहेक अरु केही नगरेका
बलेसी जोडिएका मेरा सहृदयी परम हितैषी
ज्युदाका जन्ती, मर्दाका मलामी छिमेकीहरु,
अहिलेसम्म साधको ढुङ्गा मेरैतिर सारिरहेका
साध जोडिएका मेरा शुभचिन्तक सँधियारहरु,
पिठ्युँपछाडि मलाई धारे हात लगाएर
ठाउँको – ठाउँ ठहरै होस् भनेर सदैव
मनमनै मेरै अकाल मृत्युको कामनार्थ सराप्दै
मेरो अगाडि दीर्घायुको आशीर्वाद दिएर
जीवनमा कहिल्यै नथाक्ने मान्यजनहरु,
रस निचोरिएको उखुको छोक्रा जस्तै
भित्रभित्रै पुरै खोक्रो परिसकेर पनि
बाहिरी बोक्रो मात्रै बाकी रहेका
तथाकथित बोक्रे भलाद्मीहरु,
जो अहिलेसम्म मेरो छेउमा देखै परेका थिएनन् –
उनीहरुले नै सुम्सुम्याइरहेका हुनेछन् – मेरो शिर
र, गरिरहेका हुनेछन् – विशेष सहयोगको घोषणा
छरिरहेका हुनेछन् – पुरै भ्रमका बुर्की र टिलाहरु
झरिरहेका हुनेछन् – आफ्नै आत्माको नजरबाट
तरिरहेका हुनेछन् – मेरै नाम जपेर स्वार्थको सागर
परिरहेका हुनेछन् – के गर्ने भनेर आफैं अलपत्रमा
भरिरहेका हुनेछन् – कहिल्यै नभरिने लोभको भकारी
मरिरहेका हुनेछन् – ज्युदै रहेर पनि प्रत्येक पलहरुमा
डाकै छोडेर रोइरहेझैँ गरिरहेका हुनेछन् –
अविरल बगाएर हर्षका बलिन्द्रधारा आँसु !

मुट्ठी उठाइरहेको हुनेछ – अहिलेसम्म पनि
इन्क्लाब जिन्दावाद ! भन्लाझैँ देखिनेछ –
खुलै रहेको मेरो निमुखो मुखले
ठिक – बेठीक छुट्याएर हेरिरहेझैँ लाग्नेछ –
खुला दुई अविचलित आँखाहरुले ।

मेरो असामयिक मृत्युपश्चात्
चिन्ता लिनेहरु अधिक हुनेछन् –
मेरो असामयिक मृत्युको भन्दा पनि
आफू अत्यन्तै व्यस्त भइरहेको बेला
मलामी जानैपर्ने बाध्यता भयो भन्ने सन्दर्भमा !

जस्तो टोपी ढल्काएर लगाइरहेका हुन्छन्,
ठ्याक्कै दुरुस्तै – उस्तै मनमस्तिष्क भएका
दाजुभाइको नाममा कलङ्कित कुपात्रहरु,
तथाकथित स्थानीय नेताजी भनाउदा
किरै परेर पनि मर्न नसकिरहेका मुन्छेहरु,
जसले बाचुन्जेल दु:ख दिएर सताइरहेका थिए,
सबैभन्दा पहिले उनीहरु नै आउनेछन् – हतारिदै
पुरानो पार्टीको मैलो झण्डा ओढाउन
र, एक मिनेट मौनधारण गरिसकेपछि
सुनाउने छन् – केहीबेर बकम्फुसे भाषण
दिनेछन् – मेरो बारेमा हुँदै नभएको गफ
उस्तै परे गर्न समेत कत्ति बेर लगाउदैनन्
मेरो मृत्युमा आफूहरु बिक्षिप्त भएको नाटक !

जसलाई बाचुन्जेल मैले
दिइरहेको थिए – सबैभन्दा बढी समय
उसैसङ्ग अलिकति पनि बाकी हुनेछैन –
मेरो लास जलेर खरानी होउन्जेल
पर्खेर बस्ने फुर्सद चित्ताको छेउमा !

स्तब्ध भइयो भन्नेछन् – सुने जतिका सबैले
सम्झिने छन् – बाकी अरुले तेह्रौ दिनसम्म
भेट्न आउने छन् – एकैछिन् फुर्सद निकालेरै भए पनि
त्यसपछि फर्केर गएसङ्गै बिर्सिने छन् – सधैंसधैंका लागि
र, हराउने छ – क्रमशः मिलन समीरको अमुर्त अस्तित्व !

अहिलेसम्म पनि कहिल्यै मर्दै – नमरेको मान्छे
पहिलोपटक परिणत भएको हुनेछ – मृत लासमा
देखिएको हुनेछ – हरेक मान्छेको असली चरित्र
र, लेखिएको हुनेछ – अनौठो आवरणपृष्ठमा
अझै अनौठो स्वैर – काल्पनिक जीवन्त कविता !


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...