Thursday 25th April 2024

गठबन्धनको जितमा रमाउने एमालेहरु


तोयानाथ उपेक्षित, गठबन्धनले स्थानीय चुनाव जित्यो, एमालेले हार्यो भनेर रमाउनेहरुको कुनै कमी छैन । त्यसरी रमाउनेहरु गठबन्धनका मात्र नभएर एमाले भित्रका मानिसहरु छन । त्यही खुशीको बलमा घनश्याम भुसाल र भिम रावलहरुले अहिले पुन परोक्ष रुपमा ओलीको राजीनामा मागेका छन र अरु कसैकसैले घुमाई फिराई नेतृत्व माथि नैतिक सवाल खडा भएको तर्क गरेका छन । यो एमालेलाई थप कमजोर बनाउने प्रयास शिवाय केही होईन ।

के उसो भए एमालेले स्थानीय चुनाव हारेकै हो त ? यसको सिधा जवाफ हो भनेर भन्दा ठिक्कै जस्तो लाग्छ तर बास्तवमा एमालेले स्थानीय चुनाव हारेको छैन । उसको प्राविधिक हारलाई समग्र हारको रुपमा लिन हुदैन । अहिले पनि एमालेको मतभार घटेको देखिन्दैन । यसको मतलब के पनि हो भने माधव नेपालको विभाजनबाट एमालेलाई केही फरक परेन ।
हार त तिनीहरुको भएको छ जसले पाँच वा छ पार्टीको गठबन्धन बनाएर एमालेका विरुद्धमा मोर्चाबन्दी नै गरे । उनीहरुले यसरी मार्चाबन्दी गरेर जहाँ जहाँ जिते त्यो जित एउटा स्वतन्त्र उमेद्धारको जित जस्तै हो । त्यहाँ कुनपार्टीको गीत बज्छ कसको ढोल बज्छ भन्ने केही हुदैन । नीति विनाको भिडले कसको एजेन्डा बोक्ने र ? कसको मतदाताको भोटले जितेको हो भन्ने स्वय विजेता दलहरुलाई थाहा नभए पछि तिनको जित दलगत हुन सक्दैन । कानूनी रुपमा जसको जित भनिए पनि बास्तविकतामा ती सवैको स्वतन्त्र उमेद्धारकै हैसियतमा रहने भएकाले । त्यो जितलाई गठबन्धनले आफ्नो पार्टीमा जोडेर रमाउनुको कुनै तुक हुदैन । यसले भविश्यमा हुने निर्वाचनमा आफैलाई मुल्यांकन गर्न नसक्ने ठाउँमा पुर्याउँछ र सधैभरी गठबन्धनमा आश गर्न पर्ने हुन्छ । निष्ठा र सिद्धान्त हुर्मत लिने काम हुन्छ ।

एमाले भित्र दश भैयाहरुको रुन्चे सक्रियता बास्तवमा औपचारिकतामा सिमित रह्यो । उनीहरु पार्टी कारवाहीमा परिएला भनेर मात्र नेतृत्वका विरुद्धमा बोलेनन तर मतदानमा उनीहरुले धेरै ठाउँमा अन्तरघाती रोल नै खेले खेलाए । यसो गर्नका लागि उनीहरु एक प्रकारले स्वतन्त्र व्याक्ति जस्ता भईदिए । चितवनमा जे भयो, पोखरामा जे भयो र स्वयं काठमाण्डौमा पनि अनेक कुरा भयो । यी त अन्तरघातका देखिने स्थानहरु हुन । यसो भनेर निर्वाचित जनप्रतिनिधीको अवमुल्यन गरेको होईन । कुरो मात्र के हो भने एमाले भित्र एउटा घिनलाग्दो अनैतिक राजनीतिको जन्म भईसकेको चाही पक्का हो । धेरै नगरपालिका र गाउँ पालिकामा पनि यस्तै यस्तै भएर एमाले उमेद्धारले धेरै ठाउँ जित निकाल्न सकेनन । वडामा पनि धेरै तिर अन्तरघात भएको छ । यसलाई हेर्दा यो कांग्रेसको पुरानो रोग एमालेमा सरेको देखियो । एमालेमा व्याक्तिबादी प्रवृत्ति निक्कै झांगिएको यो चुनावको परिणामले देखायो ।

एमालेजनहरुले यसपटकको स्थानीय चुनावमा गुमाएको सिट संख्या मात्र हो मतदाता भने जोगाएको छ यो नै उसको जित हो । त्यसलै निराशा हुन पर्ने देखिन्दैन । कुन परिस्थितीको सामना गरेर एमालेले सिट संख्यामा दोश्रो र मतभारमा पहिलो हुन सक्यो भनेर हेर्न पर्दछ । गठबन्धनले त एमालेलाई चौथो वा पाँचौ बनाउछौ भनेर खुल्ला घोषणा नै गरेका थिए तर त्यस्तो भएन । यसर्थ गठबन्धनवालाहरुले चुनाव हारेकै हुन भन्दा पनि फरक पर्दैन । एमालेले एकाध ठाउँमा त्यहाको परिस्थिती र परिवेश अनुसार गठबन्धनले छाडेका झिना मसिना स्थानीय शक्तिलाई लिएर तालमेल गरेको कुरालाई अर्को तिर पनि गठबन्धन छ भनेर तुष्टि गर्ने प्रचार भए पनि त्यसको खासै अर्थ छैन एमालेले सवैलाई एकातिर आफू एक्लै भिडेर पछारेको हो ।

अब सवै राजनैतिक दलले बुझ्न पर्ने के देखियो भने निर्वाचित जे जति जनप्रतिनिधीहरु छन तिनलाई छाडा छाड्न भएन । तिनको कार्य दक्षताको जाँच गरेर निर्देशन दिने, उनीहरुको कामको मुल्यांकन गर्ने र कारबाही र दण्ड गर्ने निति अघि सार्न पर्ने देखियो । यदि होईन भने यो प्रष्ट छ की हर्क साम्पांग जस्ता स्वतन्त्र अभियान्ताहरुको विकल्प जनता सँग हुने छैन । हमाल र बालेन थप जन्मने निश्चित छ । यसो भयो भने पनि जनताको तहबाट हेर्दा त्यो खुशीको कुरा नै हुनेछ किनकी उल्लेखित पात्रहरु योग्यता, क्षमता, निष्ठा र लगन भएको मानिस हर्क भएर जन्मिदै जानेछन । बालेन भएर जरुक्कै उठनेछन र हमाल बनेर उदाउनेछन । यसमा जनताको के आपत्ति छ र ? त्यस्ता पात्र पार्टीले जन्माई दिने हो भने जनताले पाटीका प्रतिनिधीलाई छाडेर भोट अन्त हाल्न जानै पर्दैनथ्यो भन्ने बुझन जरुरी छ । शायद अब सवै राजनैतिक दलको ध्यान गंभिर रुपमा गएको हुन पर्दछ । नत्र यो देशमा निर्दलीय उमेद्धारले स्थानीय तह देखि देश पनि चलाउने ठाउँसम्म पुग्नेछन र यो व्यवस्थालाई नै एक दिन मिल्काउनेछन ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...