Friday 26th April 2024

देउवाको सफलता कांग्रेसको लागि दुर्भाग्य हो


तोयानाथ उपेक्षित, तीतोपाटी/ शेखर कोईरालालाई कांग्रेस विधि र पद्धतीमा चल्ने पार्टी हो भन्ने भ्रम रहेछ शायद यो भ्रम जीवनभर समाप्त नहोला । यसै कारण शेखर कोईराला सधैका लागि कांग्रेसको भरिया मात्र भईरहने छन । भ्रममा बाँच्नेहरु भनेका नै कांग्रेसीजनहरु हुन भन्दा गाली जति गरुन तितो सत्य यहि हो । जहाँ विधी र पद्धती कुरा गरेर नथाक्ने माधव नेपाल समेत अहिले जोडिएका छन । अब कोईराला समुहले देउवाको विरुद्धमा बोल्न भन्दा चुप लागेर बसेकै राम्रो किनकी माधव नेपाल र प्रचण्डले उनको भ्रमको पर्दा च्यातेर देखाई दिने छन । यो सँगै यस्ता दिनहरुको शुरुवात भईसकेको छ की कांग्रेस दिन दुई गुणा रात चौगुणा घटदै जानेछ र एक दिन भारतको कांग्रेस आईमा परिणत भएछ भने अचम्म मान्न पर्ने हुदैन ।

प्रचण्ड जहाँ पस्यो त्यो फस्यो । ओली बल्लतल्ल उनको जालबाट फुत्किएको देउवाले देखेनन ? देख्दा देख्दै देउवालाई किन दशा लागेको हो बुझ्न सकिएको छैन । अहिले देशभरीका कांग्रेसीहरु भकाभक नेपाली कांग्रेस छाडी रहेका छन । त्यसरी कांग्रेस परित्याग गर्नेहरुको विकल्प राजेन्द्र लिंगदेनको राप्रपा मुख्य रुपमा अगाडी आएको छ । त्यसो त अरुले पनि अलिअलि भाग भेट्ने छन । कांग्रेसको तौल देउवाले आफै घटाएका छन र केही जस त माधव नेपाल र प्रचण्डलाई पनि जानु पर्दछ । गठबन्धनले गर्दा यसै त उनीहरु सवैलाई सिमीत उमेद्वार संख्या मा झारिदियो भने त्यसमा पनि कति नै पो जित्छन र गठबन्धनका उमेद्धारहरुले भन्ने पिरलो थपिदिएको छ । एमालेले गठबन्धनका उमेद्धारहरु मध्ये आधा संख्यालाई मात्र पनि हराई दियो भने बचेको आधालाई पाँच भाग लगाउदा कांग्रेस कत्रो दल बन्ला ? बागी उमेद्धारलाई प्रचण्ड र माधवको दवावले कांग्रेसले धम्क्याउदा झन परिणाम भयावह हुदै गएको छ । कांग्रेसमा तल्लो तहमा ठुलै विचलन पैदा भईसकेको बुझाई सवत्र छ र अब बागीलाई चलाउन हुन्न भन्ने निर्णयमा कांग्रेस नेतृत्व पुगेको देखिन्छ तर माधव र प्रचण्डको दवावमा परेका देउवाले अझै काम विर्गान सक्ने देखिन्छ । अब बागीलाई कारबाही नगर्ने भन्ने एक काग्रेसका नेताको पछिल्लो अभिव्याक्तिले त्यही कुरालाई स्पष्ट पार्छ ।

विगतमा आफै सभापती र प्रधानमन्त्री हुदा गराएको चुनावमा समेत शर्मनाक पराजय भोगका शेर बहादुरले गठबन्धन गरेर एमालेले विगतमा ल्याएको झण्डै दुई तिहाई मत लाई यसपाली आफूतिर पार्न जे सिको गरे गल्ती यहि भईसकेको छ । बाम पृष्ठभूमिका दलहरुबीचको गठबन्धन प्राकृतिक थियो र अहिलेको अप्राकृतिक छ भने कुनै विद्धान कांग्रेसीले देउवालाई बुझाउन सकेको देखिएन । माधब नेपाल र प्रचण्डले उनलाई प्रधानमन्त्री बनाएको गुन तिर्न नै देउवाको ध्यान देखियो । यो उनको ऐतिहासिक भुललाई समयले देखाउने छ । हिजो विचारको सामिप्यता हुनेहरुको गठबन्धन थियो जसलाई तल्लो स्तरका मतदाता र कार्यकर्ताले सहजै स्वीकारेका थिए तर आज स्वार्थको सामिप्यतामा आधारित गठबन्धन हो भन्नेमा उनीहरुका मतदाता पनि प्रष्ट छन त्यही भएर देशव्यापी रुपमा कांग्रेसमा विद्रोह भईरहेको छ । पाँच दलिय गठबन्धनमा उनीहरुका कार्यकर्ताहरुको किन्चित रुची र उत्साह छैन ।

चार तारे झण्डा समाएर चुनावमा हिडने अधिकांस मतदाताले हसिया हतौडा, छाता वा कलममा भोट हाल्दैनन । कांग्रेसका कमसेकम १० प्रतिशत मतदाता हिजोका दिनमा माओवादीबाट कुनै न कुनै रुपमा प्रताडित छन जसको हात उनीहरुका चुनाव चिन्ह सम्म पुग्दैन । केन्द्रले सिद्धान्त र विचार त्यागेर स्वार्थीहरुको गठजोठ गर्यो भन्नेमा सवै सहमत छन । उनीहरु विपीको सिद्धान्त र विचार बुझेर कांग्रेसमा लागेका हुन भने यो गठबन्धन उनीहरुको भावनाका विरुद्ध छ भन्ने पनि जान्दछन ।

शेखर कोईरालाले हिजो मात्र एक कार्यक्रममा कांग्रेसको आलोचना गरे । अरु त देउवाका सामु बाघका अगाडी लम्पसार परेको घोडा झै भएकै छन । सृजनालाई कानपा को मेयर दिने सर्तमा प्रकाशमानले घुडा टेकेका रहेछन भन्ने बल्ल छर्लंग भएको छ भने रामचन्द्र पौडेलले देउवाको स्तुती किन गाउदैछन भन्ने बुझ्न पनि गाहो छैन । कांग्रेस सत्तामा आयो भने सवै खुल्दै जानेछ ।

अब यो विधी र पद्दतीका कुरा गर्ने माधव नेपाल र प्रचण्डको पार्टी किन अहिले सम्म एकिकरण भईरहेको छैन भन्ने कुरा समेत देउवाले चाल पाईरहेका छैनन । उनीहरु आउदो संघिय चुनाव नभएसम्म कांग्रेससँग बार्गेनिंग गरेर टिकटको भागबण्डा आफू तिर बहुमत हुने गरी खोज्नेछन र त्यस पछि पार्टी एकिकरण मा जानेछन । यसो हुदा देउवालाई सधै साईजमा राख्न पाईन्छ र आफूहरु उनको नेतृत्वमा सरकार बनाउन पर्ने अवस्थामा जान परे पनि सरकार आफ्नै डाईरेक्सनमा चलोस भन्ने प्रचण्डको रणनितीले काम गर्ने छ । यो कुरा कांग्रेसमा सवैले बुझे पनि देउवाले नबुझेसम्म कसैको केही नलाग्ने रहेछ । देउवा साँच्चैका राजनैतिक खेलाडी नै रहेछन । उनलाई सवैले असफल भने पनि उनी स्वयंम मा भने एकदमै सफल व्याक्ति हुन जुन सफलता कांग्रेस पार्टीका लागि चाही ठुलो दुर्भाग्य हो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...