Tuesday 31st March 2026

लघुकथाकार खेमलाल पहारीको लघुकथा “गाँणा तन्नेरी” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार खेमलाल पहारीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ‘गाँणा तन्नेरी’ पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु ।

लघुकथाकार खेमलाल पहारीका लघुकथाहरु पढदै सामाजिक संजालको माध्यमबाट परिचित छु ।
पिता नन्दलाल पहारी र माता देउमायाका सुपुत्र खेमलाल पहारीको जन्म माडी अयोध्यापुरी -८,कृष्णनगर चितवनमा २०२९ माघ १६ गते भएको हो । हाल भरतपुर – ४, बैदिकनगरमा बसोबास गर्नुहुने साहित्यकारले अंग्रेजी भाषा साहित्यमा एम.ए, बि.एड. गरी शिक्षण पेशा अपनाउनु भएको छ ।

२०६६ देखि लघुकथा लेखनमा लाग्नुभएका लघुकथाकारको पहिलो लघुकथा ‘टीका’ हो । साहित्यिक पत्रिका शारदाको एकै अंकमा तीनवटा लघुकथाहरु जैसी, नतिजा र आतङ्ककारी पहिलो पटक नै छापिएको थियो ।अप्रिल २०,२०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर नियमित लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारका २०० भन्दा बढी लघुकथाहरु यस पेजमा पढन सकिन्छ ।

प्रस्तुत कथामा ईन्जीनियर, ठेकदार र उ पात्र रहेका छन् । कथा छिमेकीको घर बनाउदा ईन्जीनियरले ठेकदारलाई घरको नक्शा बुझाउने अबस्थालाई लिएर बुनिएको छ । कथा यसरी शुरु भएको छ ।
छिमेकीको घरको जग बसालेको दिन ऊ पनि नजिकै आएर हेरिरह्यो । ईन्जिनियरले ठेकदारलाई नक्सा देखाउँदै भन्दै थिए, “अब हप्ता दिन मजाले ढलानलाई पानी पिलाउने र त्यसपछि ऊ त्यहाँ १० ईञ्चको पर्खाल बनाउन शुरु गर्ने र दिनमा ३ फिटभन्दा उचाईमा काम नगर्ने ।” उसले ईन्जिनियरको हातबाट थुत्त नक्सा थुत्यो र तलदेखि माथि सम्म नक्सालाई नियालेर भन्यो, “यो घर डिफेक्टिभ छ; यसको भ-याङ्ग् र शौचालय यता हुनु पर्थ्यो र बरण्डा यता ,” उसले हातको ईशाराले भन्यो । “यो घर के कति कारणले ठिक छैन अलि विस्तारमा सम्झाउनु हुन्थ्योकि?” ईन्जिनियरले शान्त पूर्वक सोधे। उसले यसको वास्तु ठिक नभएको बतायो । ईन्जिनियरले ऊ ज्योतिष वा आर्किटेक्चर केही होकि भनेर जान्न चाहे । उसले कड्किंदै प्रतिप्रश्न गर्यो, ” यति जाबो कुरा जान्न ईन्जिनियर हुनैपर्छ भन्ने कहीं छ र ? अनुभवबाट जानिन्छ, युट्युब छ !” “हजुरले आजसम्म कतिवटा घर बनाएको अनुभव छ? “वहाँ त भाग्यमानी हो। वहाँकोलागि भनेजस्तो घर बाले नै बनाएर छोड्नुभयो । वहाँलाई त हाईसञ्चो छ । अर्काले गर्न लागेको काम हेर्यो, कुरा काट्यो ।उहाँको पेशानै यही हो, ” घरपट्टिले धोको फेर्यो ।

”इन्टरनेटमा फ्रीफायर र पब्जी खेलेर कोही सेनाको अधिकारी बन्दैन, त्यस्तै युट्युबको ओखती खाएर मन्थरालाई निको हुन्न, महाशय ” भन्दै ईन्जिनियरले उसले हेर्दै गरेको घरको नक्सा फरक्क फर्काएर सुल्टो बनाइदिए।

यसरी कथाको समापन गरिएको छ ।कथामा आजभोलि आफ्नो काम गर्न नआउने र अरुको कामलाई यसरी गर्नुपर्थ्यो यता मिलेन कस्तो नजानेको भनेर खोट देखाउने उपात्र जस्ता अति जान्ने सुन्ने पल्टने अजासु चरित्रको चित्रण गर्दै व्यङ्ग्य गरिएको छ । अहिले युट्युब हेरेर आकाशको तारा झार्ने कुरा गर्ने र काममा सिन्को भाच्न नसक्ने प्रवृत्तिमाथि दरो झिर उन्न सफल रहनु भएको छ कथाकार ।उल्टो र सुल्टो नक्शा छुट्याउन नसक्ने उ पात्रले घरको बास्तु नमिलेको भन्ने गफ लगाउछ । समाजमा रहेका गफाडीहरुको बिषयमा लेखिएको कथा सरल, सुबोध, चोटिलो र पोटिलो छ । शिर्षक सार्थक छ तर हामी शिक्षण पेशामा भएको कारण कुनै रोगीको उपमा दिएको उखानको अंशको सट्टामा उ वा अजासु जस्ता साकेंतिक शिर्षक राख्दा सकारात्मक हुन्थ्यो की ? जस्तो लाग्छ मलाई ।

अन्त्यमा साहित्यका बिभिन्न बिधामा कलम चलाउनुहुने साहित्यकारको साहित्यिक यात्रा नारायणी नदी झैं अविरल बगिरहोस । २०० भन्दा बढी लघुकथा लेखन गरिसक्नु भएका लघुकथाकारको लघुकथा संग्रह शिघ्र प्रकाशन होस् भन्दै सुस्वास्थ, दीर्घायु तथा अटल श्रीबृध्दीको कामना गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल गठ्ठाघर, भक्तपुर

लघुकथा:- गाँणा तन्नेरी
खेमलाल पहारी

छिमेकीको घरको जग बसालेको दिन ऊ पनि नजिकै आएर हेरिरह्यो । काम सकिएपछि ईन्जिनियरले ठेकदारलाई नक्सा देखाउँदै भन्दै थिए, “अब हप्ता दिन मजाले ढलानलाई पानी पिलाउने र त्यसपछि ऊ त्यहनँबाट १० ईञ्चको पर्खाल बनाउन शुरु गर्ने र दिनमा ३ फिटभन्दा एकसुता पनि उचाईमा काम नगर्ने ।” उसले ईन्जिनियरको हातबाट थुत्त नक्सा थुत्यो र तलदेखि माथि सम्म नक्सालाई नियालेर भन्यो, “यो घर डिफेक्टिभ छ; यसको भ-याङ्ग् र शौचालय यता हुनु पर्थ्यो र बरण्डा यता ,” उसले हातको ईशाराले भन्यो । “यो घर के कति कारणले ठिक छैन अलि विस्तारमा सम्झाउनु हुन्थ्योकि?” ईन्जिनियरले शान्त पूर्वक सोधे। उसले यसको वास्तु ठिक नभएको बतायो । ईन्जिनियरले ऊ ज्योतिष वा आर्किटेक्चर केही होकि भनेर जान्न चाहे । उसले कड्किंदै प्रतिप्रश्न गर्यो, ” यति जाबो कुरा जान्न ईन्जिनियर हुनैपर्छ भन्ने कहीं छ र? अनुभवबाट जानिन्छ, युट्युब छ !” “हजुरले आजसम्म कतिवटा घर बनाएको अनुभव छ?” ईन्जिनियरको पारो चढ्दै गरेको देखिन्थ्यो । “वहाँ त भाग्यमानी हो। वहाँकोलागि भनेजस्तो घर बाले नै बनाएर छोड्नुभयो । वहाँलाई त हाईसञ्चो छ; अर्काले गर्न लागेको काम हेर्यो, कुरा काट्यो; वहाँको पेशानै यही हो, ” घरपट्टिले धोको फेर्यो । इन्टरनेटमा फ्रीफायर र पब्जी खेलेर कोही सेनाको अधिकारी बन्दैन, त्यस्तै युट्युबको ओखती खाएर मन्थरालाई निको हुन्न, महाशय भन्दै ईन्जिनियरले उसले हेर्दै गरेको घरको नक्सा फरक्क फर्काएर सुल्टो बनाइदिए।

भरतपुर-४, चितवन
२०७८/१२/२३


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...