बन्दना घिमिरे – लघुकथाकार खेमलाल पहारीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ‘गाँणा तन्नेरी’ पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु ।
लघुकथाकार खेमलाल पहारीका लघुकथाहरु पढदै सामाजिक संजालको माध्यमबाट परिचित छु ।
पिता नन्दलाल पहारी र माता देउमायाका सुपुत्र खेमलाल पहारीको जन्म माडी अयोध्यापुरी -८,कृष्णनगर चितवनमा २०२९ माघ १६ गते भएको हो । हाल भरतपुर – ४, बैदिकनगरमा बसोबास गर्नुहुने साहित्यकारले अंग्रेजी भाषा साहित्यमा एम.ए, बि.एड. गरी शिक्षण पेशा अपनाउनु भएको छ ।
२०६६ देखि लघुकथा लेखनमा लाग्नुभएका लघुकथाकारको पहिलो लघुकथा ‘टीका’ हो । साहित्यिक पत्रिका शारदाको एकै अंकमा तीनवटा लघुकथाहरु जैसी, नतिजा र आतङ्ककारी पहिलो पटक नै छापिएको थियो ।अप्रिल २०,२०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर नियमित लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारका २०० भन्दा बढी लघुकथाहरु यस पेजमा पढन सकिन्छ ।
प्रस्तुत कथामा ईन्जीनियर, ठेकदार र उ पात्र रहेका छन् । कथा छिमेकीको घर बनाउदा ईन्जीनियरले ठेकदारलाई घरको नक्शा बुझाउने अबस्थालाई लिएर बुनिएको छ । कथा यसरी शुरु भएको छ ।
छिमेकीको घरको जग बसालेको दिन ऊ पनि नजिकै आएर हेरिरह्यो । ईन्जिनियरले ठेकदारलाई नक्सा देखाउँदै भन्दै थिए, “अब हप्ता दिन मजाले ढलानलाई पानी पिलाउने र त्यसपछि ऊ त्यहाँ १० ईञ्चको पर्खाल बनाउन शुरु गर्ने र दिनमा ३ फिटभन्दा उचाईमा काम नगर्ने ।” उसले ईन्जिनियरको हातबाट थुत्त नक्सा थुत्यो र तलदेखि माथि सम्म नक्सालाई नियालेर भन्यो, “यो घर डिफेक्टिभ छ; यसको भ-याङ्ग् र शौचालय यता हुनु पर्थ्यो र बरण्डा यता ,” उसले हातको ईशाराले भन्यो । “यो घर के कति कारणले ठिक छैन अलि विस्तारमा सम्झाउनु हुन्थ्योकि?” ईन्जिनियरले शान्त पूर्वक सोधे। उसले यसको वास्तु ठिक नभएको बतायो । ईन्जिनियरले ऊ ज्योतिष वा आर्किटेक्चर केही होकि भनेर जान्न चाहे । उसले कड्किंदै प्रतिप्रश्न गर्यो, ” यति जाबो कुरा जान्न ईन्जिनियर हुनैपर्छ भन्ने कहीं छ र ? अनुभवबाट जानिन्छ, युट्युब छ !” “हजुरले आजसम्म कतिवटा घर बनाएको अनुभव छ? “वहाँ त भाग्यमानी हो। वहाँकोलागि भनेजस्तो घर बाले नै बनाएर छोड्नुभयो । वहाँलाई त हाईसञ्चो छ । अर्काले गर्न लागेको काम हेर्यो, कुरा काट्यो ।उहाँको पेशानै यही हो, ” घरपट्टिले धोको फेर्यो ।
”इन्टरनेटमा फ्रीफायर र पब्जी खेलेर कोही सेनाको अधिकारी बन्दैन, त्यस्तै युट्युबको ओखती खाएर मन्थरालाई निको हुन्न, महाशय ” भन्दै ईन्जिनियरले उसले हेर्दै गरेको घरको नक्सा फरक्क फर्काएर सुल्टो बनाइदिए।
यसरी कथाको समापन गरिएको छ ।कथामा आजभोलि आफ्नो काम गर्न नआउने र अरुको कामलाई यसरी गर्नुपर्थ्यो यता मिलेन कस्तो नजानेको भनेर खोट देखाउने उपात्र जस्ता अति जान्ने सुन्ने पल्टने अजासु चरित्रको चित्रण गर्दै व्यङ्ग्य गरिएको छ । अहिले युट्युब हेरेर आकाशको तारा झार्ने कुरा गर्ने र काममा सिन्को भाच्न नसक्ने प्रवृत्तिमाथि दरो झिर उन्न सफल रहनु भएको छ कथाकार ।उल्टो र सुल्टो नक्शा छुट्याउन नसक्ने उ पात्रले घरको बास्तु नमिलेको भन्ने गफ लगाउछ । समाजमा रहेका गफाडीहरुको बिषयमा लेखिएको कथा सरल, सुबोध, चोटिलो र पोटिलो छ । शिर्षक सार्थक छ तर हामी शिक्षण पेशामा भएको कारण कुनै रोगीको उपमा दिएको उखानको अंशको सट्टामा उ वा अजासु जस्ता साकेंतिक शिर्षक राख्दा सकारात्मक हुन्थ्यो की ? जस्तो लाग्छ मलाई ।
अन्त्यमा साहित्यका बिभिन्न बिधामा कलम चलाउनुहुने साहित्यकारको साहित्यिक यात्रा नारायणी नदी झैं अविरल बगिरहोस । २०० भन्दा बढी लघुकथा लेखन गरिसक्नु भएका लघुकथाकारको लघुकथा संग्रह शिघ्र प्रकाशन होस् भन्दै सुस्वास्थ, दीर्घायु तथा अटल श्रीबृध्दीको कामना गर्दछु ।
बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल गठ्ठाघर, भक्तपुर
लघुकथा:- गाँणा तन्नेरी
खेमलाल पहारी
छिमेकीको घरको जग बसालेको दिन ऊ पनि नजिकै आएर हेरिरह्यो । काम सकिएपछि ईन्जिनियरले ठेकदारलाई नक्सा देखाउँदै भन्दै थिए, “अब हप्ता दिन मजाले ढलानलाई पानी पिलाउने र त्यसपछि ऊ त्यहनँबाट १० ईञ्चको पर्खाल बनाउन शुरु गर्ने र दिनमा ३ फिटभन्दा एकसुता पनि उचाईमा काम नगर्ने ।” उसले ईन्जिनियरको हातबाट थुत्त नक्सा थुत्यो र तलदेखि माथि सम्म नक्सालाई नियालेर भन्यो, “यो घर डिफेक्टिभ छ; यसको भ-याङ्ग् र शौचालय यता हुनु पर्थ्यो र बरण्डा यता ,” उसले हातको ईशाराले भन्यो । “यो घर के कति कारणले ठिक छैन अलि विस्तारमा सम्झाउनु हुन्थ्योकि?” ईन्जिनियरले शान्त पूर्वक सोधे। उसले यसको वास्तु ठिक नभएको बतायो । ईन्जिनियरले ऊ ज्योतिष वा आर्किटेक्चर केही होकि भनेर जान्न चाहे । उसले कड्किंदै प्रतिप्रश्न गर्यो, ” यति जाबो कुरा जान्न ईन्जिनियर हुनैपर्छ भन्ने कहीं छ र? अनुभवबाट जानिन्छ, युट्युब छ !” “हजुरले आजसम्म कतिवटा घर बनाएको अनुभव छ?” ईन्जिनियरको पारो चढ्दै गरेको देखिन्थ्यो । “वहाँ त भाग्यमानी हो। वहाँकोलागि भनेजस्तो घर बाले नै बनाएर छोड्नुभयो । वहाँलाई त हाईसञ्चो छ; अर्काले गर्न लागेको काम हेर्यो, कुरा काट्यो; वहाँको पेशानै यही हो, ” घरपट्टिले धोको फेर्यो । इन्टरनेटमा फ्रीफायर र पब्जी खेलेर कोही सेनाको अधिकारी बन्दैन, त्यस्तै युट्युबको ओखती खाएर मन्थरालाई निको हुन्न, महाशय भन्दै ईन्जिनियरले उसले हेर्दै गरेको घरको नक्सा फरक्क फर्काएर सुल्टो बनाइदिए।
भरतपुर-४, चितवन
२०७८/१२/२३