Thursday 23rd July 2026

चाइना इस्टर्नको जहाज दुर्घटनाले बोइङमाथि अर्को धक्का


सोमबार चीनमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको छ।लगातार बोइङ ७३७ म्याक्स मोडलका दुइटा जहाज दुर्घटनामा परेपछि तीन वर्षदेखि अमेरिकी जहाज निर्माता कम्पनीले समस्या भोगिरहेको छ।२०१९ मार्चमा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनामा परेपछि संसारभरिका वायुसेवा कम्पनी उक्त मोडलका जहाज ग्राउन्डेड गरेका थिए। अमेरिकी नियामक निकायले बोइङमाथि कडा निगरानी गरेका थिए। दुर्घटनामा ज्यान गुमाएका यात्रुका आफन्तले हालेकासहित अन्य मुद्दामा बोइङले करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको थियो।

२०२० अन्त्यतिरमा मात्रै अमेरिकी नियामकले उक्त मोडलका जहाज फेरि चलाउन अनुमति दिएका थिए। त्यसका लागि बोइङले जहाजको सिस्टममा केही परिवर्तन पनि गर्नुपरेको थियो। चीनले भने गत डिसेम्बरमा मात्रै बोइङ ७३७ म्याक्स जहाज चलाउन अनुमति दिएको थियो।चाइना इस्टर्नको ७३७-८०० एनजी मोडलको जहाज सोमबार के कारणले दुर्घटनामा परेको हो भन्ने कारण पत्ता लगाउन केही दिन होइन महिना लाग्न सक्छ। १२३ यात्रु र ९ चालक दलका सदस्यसहित दुर्घटनामा परेको उक्त जहाजको ब्ल्याक बक्स अझै फेला परेको छैन।

यो मोडलको जहाजले पछिल्ला दशकमा संसारभरि राम्रो बजार लिइरहेका थिए। सोमबारको दुर्घटनापछि बोइङको सेयर ३.६ प्रतिशतले घटेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

२०१८ पछि राम्ररी जहाज बेच्न नसकेको बोइङले गत वर्ष ५३५ जहाजका लागि अर्डर पाएको थियो। ७३७ म्याक्स दुर्घटनाको केही महिनापछि फैलिएको कोरोनाभाइरसको महामारीले कारण बोइङलाई झन् समस्यामा पारेको थियो। सोमबारको दुर्घटनापछि बोइङले चाइना इस्टर्न र चिनियाँ नागरिक उड्डयन प्राधिकरणसँग नियमित सम्पर्कमा रहेको बताएको छ।

बोइङ डाटाका अनुसार ७३७-८०० एनजी मोडलका जहाज संसारभरिका आकाशमा उड्थे। सन् १९९८ देखि २०२० सम्म बोइङले यो मोडलका ५ हजार जहाज बेचेको थियो। यात्रु क्षमता र दूरीका हिसाबले धेरै एयरलाइन्सले यो जहाजलाई आन्तरिक र छोटो दूरीको अन्तर्राष्ट्रिय उडानमा पनि प्रयोग गर्थे।बोइङका ७३७ मोडलका जहाजका लागि चीन निकै ठूलो बजार थियो। संसारभरि अहिले भएका २५ हजार यात्रुवाहक जहाजमध्ये ७३७-८०० एनजी मोडलका जहाज १७ प्रतिशत थिए। तीमध्ये चीनमा १२ सय वटा जहाज चीनमा थिए।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...