Saturday 27th December 2025

ड्राइभर बिरामी परेपछि साहु आफैंले हाँकेका थिए संखुवासभामा दुर्घटना भएको बस


संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो।झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सातघुम्ती पुगेको थियो।छोटोछोटो घुम्ती रहेको पहिलो टर्निङ काट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरैभीर खस्यो।

तीव्र गतिमा रहेको उक्त बस तेह्रथुम छथर गाउँपालिका-४ फाक्चामाराका ३१ वर्षीय विपिन निरौलाले हाँकेका थिए। सहचालक संखुवासभा मादी नगरपालिका-५ का उमेश भट्टराई थिए। बसका धनी निरौला नै हुन्। बसका कन्डक्टर २४ वर्षीय सुवास तामाङ थिए। उनी संखुवासभा मादी नगरपालिका-४ का हुन्।बसका स्टाफमध्ये तामाङ मात्रै जीवित छन्। उनको अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। घटनास्थलबाट हेलिकप्टरमा उद्धार गरी चैनपुर ल्याउँदा उनले घटनाबारे केही बोलेका छन्।

संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार तामाङले चालकले यत्ति मात्रै भनेको सुने- भाग्। गाडी यति तीव्र गतिमा थियो कि कोही पनि निस्किनै पाएनन्। तामाङ गाडीले एक बल्ड्याङ मारेपछि गाडीबाट निस्केका थिए।‘पहिलो बल्डयाङ खाँदा म निस्किन सकें, अरू कोही पनि निस्किन भ्याएनन्,’ तामाङको भनाइ उद्धृत गर्दै सुवेदीले सेतोपाटीसँग भने, ‘गाडीले तीन-चार बल्ड्याङ खायो।’पहिलो बल्ड्याङ खाँदा गाडीबाट झर्न सकेकाहरू बाँचेको हुनसक्ने अनुमान गरिएको सुवेदीले बताए।

बसमा सवार १९ यात्रुमध्ये मादी नगरपालिका-६ का ५० वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीया तुलसा कटवाल, मादी नगरपालिका-४ की २४ वर्षीया करिश्मा तामाङ र कन्डक्टर २४ वर्षीय तामाङ घाइते छन्। उनीहरूको अवस्था सामान्य छ गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी मादी नगरपालिका-५ की २७ वर्षीया युका पोखरेलको उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको सुवेदीले बताए।

घटनास्थल पुगेका सुवेदीले दुर्घटना हुनुका केही कारण अनुमान गरिएको बताए। पहिलो, बाटो एकदमै भिरालो र घुम्तीका कारण दुर्घटना भएको अनुमान गरिएको छ।दोस्रो, तीव्र गतिका कारण टर्निङ काट्न नसकेर दुर्घटना भएको अनुमान गरिएको छ। उक्त गाडी एक महिनादेखि मात्रै सञ्चालनमा आएको थियो। गाडी नयाँ थियो।

‘अचानक ब्रेक फेल भएर टर्निङमा ब्रेक नलागी खसेको पनि हुनसक्छ। यी सबैबारे अनुसन्धान भइरहेको छ,’ सुवेदीले भने, ‘पिच बाटोमा चालकले तीव्र गतिमा चलाउनु दुर्घटनाको मुख्य कारण देखिन्छ।’वडाध्यक्ष धननारायण तामाङले पनि तीव्र गतिका कारण टर्निङ काट्न नसकेर दुर्घटना भएको देखिएको बताए।

‘टर्निङमा गाडी मोड्नु पर्नेमा नमोडिकन सिधै भीरमा गएको देखिन्छ,’ वडाध्यक्ष तामाङले सेतोपाटीसँग भने।उनका अनुसार यो रूटमा नियमित चल्ने अन्य गाडीहरू छन्, तर मादी-दमक रूटमा सिधा उक्त गाडी डेढ महिनादेखि सञ्चालन हुन थालेको हो। वडाध्यक्ष र स्थानीयहरूका अनुसार गाडीका धनी निरौला नियमित चालक थिएनन्। लाइसेन्स भएता पनि उनले कहिलेकाहीँ मात्र गाडी चलाउथे। उनी बुधबार बेलुका गाडी चलाएर मादी पुगेका थिए।

‘नियमित चलाउने चालक बिरामी भएर छुट्टीमा बसेको बेला निरौलाले हिजो गाडी ल्याएको, आज बिहान यात्रु लिएर फर्किएको बुझिएको छ,’ वडाध्यक्ष तामाङले भने। एकाबिहानै दुर्घटना भएर ठूलो संख्यामा मानिसहरूको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको तामाङले बताए।

मृतकहरू

३५ वर्षीय विपिन निरौला (सवारी धनी तथा चालक) छथर गाउँपालिका-४, फाक्चामारा, तेह्रथुम
३५ वर्षीय उमेश भट्टराई (सहचालक) मादी-६, संखुवासभा
४५ वर्षीय दीपक दाहाल- मादी ५, संखुवासभा
५२ वर्षीय श्याम शेर्पा- मादी ५, संखुवासभा
५५ वर्षीय भवानी दाहाल- मादी ५, संखुवासभा
३८ वर्षीय इन्द्रबहादुर अधिकारी- मादी ६, संखुवासभा
५ वर्षीया दिक्षा कटवाल- मादी ६, संखुवासभा
३२ वर्षीया अन्जना कटवाल, मादी ६ संखुवासभा
३८ वर्षीय आइतबहादुर तामाङ- मादी ४, संखुवासभा
३५ वर्षीया सविता राउत कार्की- मादी ४, संखुवासभा
३० वर्षीया सीता विक- मादी ६, संखुवासभा
६० वर्षीया बलबहादुर कार्की-मादी ४, संखुवासभा
३१ वर्षीया समिक्षा योन्जन- ताप्लेजुङ
८ वर्षिय सुदीप घिसिङ- ताप्लेजुङ
३० वर्षिया युका पोखरेल- मादी ५, संखुवासभा

सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...