Tuesday 1st September 2026

राम्राे जागिरकाे प्रलाेभनमा ठगकाे पछि नलाग्न साउदीस्थित नेपाली राजदूतावासकाे अनुराेध


राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ ।

साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रूपमा नेपाली श्रमिकहरू ठगिएका र ट्राभल्समा पुगेकालाई समेत ठगिएको गुनासो आएकाले दूतावासले प्रेस विज्ञप्तिमार्फत सचेत रहन सबैलाई सूचीत गरेको हो ।

साउदी अरबमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरूले छद्म नाम/परिचयबाट र फेरिरहने टेलिफोनबाट सिधासादा नेपाली कामदारलाई सम्पर्क गरी ठग्ने गरेका गुनासाहरू दूतावासमा आएका छन् ।

दूतावासले भनेको छ, ‘भखरै ईकामा (नयाँ भिसा)बनाएका श्रमिकहरूलाई उनीहरूले खाइपाइ आएको तलब भत्ताभन्दा बढी दिने बाहनामा भइरहेको रोजगारी छाड्न प्रेरित गर्ने र गैर–कानूनी हिसाबले काममा लगाउने गरिएको छ । कम्पनी छोडेर भाग्नु गैरकानूनी र अनैतिक हो भने त्यस्ता कामदार भगाउनु अपराध हो ।’

नेपाली दूतावासले साउदी अरवमा कामदारलाई भगाउने र कामदार भाग्ने क्रम बढेकोले यस प्रकारको निन्दनीय काम नगर्न÷नगराउन सम्बन्धित सबैलाइ अनुरोध गरेको छ ।

साथै मानव तस्करीका रूपमा रहेको कामदार भगाउने अपराधमा संलग्नहरूको अधिकारीहरूले सूक्ष्म हिसाबले खोजी गरिरहेको हुँदा यस प्रकारका आपराधिक क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गरेको छ ।

नेपाली दूतावासले साउदी अरबमा गैर–कानूनी हैसियतमा रहेको व्यक्ति बिरामी भएर उपचार गर्नुपर्दा अस्पतालमा छिर्न नपाइने, दुर्घटना भएर घाइते वा अंगभंग वा अपांग भयो भने त्यसको उपचार र क्षतिपूर्ति नपाइनेसमेत बताएको छ ।

साथै त्यस्तो व्यक्तिको मृत्यु हुन गएमा मृतकको शव नेपाल पठाउने जिम्मा समेत कसैले नलिने हुँदा कसैको प्रलोभनमा परी वा क्षणिक लाभ हेरेर आफ्नो कम्पनीबाट भाग्ने र गैर कानूनी हैसियतमा बस्ने काम कदापि नगर्न÷नगराउनु सम्बन्धित सबैमा दूतावासले सचेत गराएको छ ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...