Wednesday 11th March 2026

लघु प्रबन्ध – छोरीको चाहना – शान्ता शाक्य


आन्तरिक चेतनाको द्वार खोलेर हेर्ने हो भने ‘छोरा र छोरी दुबै बराबरी’ र ‘आँखाका दुई नानी’ देखिन्छन् । कतिपयले उक्त द्वार खोलेर नहेर्ने हुनाले छोरालाई काखा र छोरीलाई पाखा लगाइएको पनि पाइन्छ । वास्तवमा यस्तो व्यवहार अज्ञानताको उपज हो भन्न सकिन्छ ।छोरालाई जस्तै छोरीलाई पनि समान व्यवहार, वातावरण र अवसर प्रदान गर्ने हो भने परिणाम भिन्न नहुन सक्छ । यदि उक्त अवसर पाएको खण्डमा समाजको हरक्षेत्रमा नारीले पुरूष समान योगदान अवश्य दिनसक्ने हुन्छ । फ्लोरेन्स नाइटिङ्गेल, मदर टेरेसा, झाँसीकी रानी, पासाङ्ल्हामु शेर्पा आदि जस्ता अनेक प्रशंसनीय एवं स्मरणीय नारी प्रतिभाहरू यसका उदाहरण हुन् ।

भनिन्छ, संसारमा दुई जाति मात्र छन् -लोग्नेमान्छे र स्वास्नीमान्छे । यी दुई जातिको समान सहभागितामा समाज र देश अगाडि बढ्न सक्छ त्यसैले नारी र पुरूषलाई एक सिक्काका दुई पाटा, रथका दुई पाङ्ग्रा, ताली बजाउने दुई हात आदिका रूपमा परिभाषित गरिएको पाइन्छ । उक्त कुरालाई मनन गर्ने हो भने नारी र पुरूष अर्थात् छोरा र छोरीलाई समान स्तरमा पु-याउन अभिभावक र समाजको दृष्टिकोण, भूमिका र अवसरलाई जिम्मेवार ठह-याउन सकिन्छ ।

हाम्रो समाजमा अहिले पनि वंश अगाडि बढाउन र आमाबाबुलाई पालन गर्न छोरा नै चाहिन्छ भन्ने धारणाले जरो गाडेको देखिन्छ ।जसले गर्दा छोरा प्राप्तिका लागि बहुविवाह गरेको पनि पाइन्छ ।छोरी जाति अर्काको घर जाने जात अवश्य हो तर परेको खण्डमा परिस्थिति हेरेर जन्मदिने आमाबुबाको स्याहारसुसार र रेखदेख गरेको उदाहरण पनि कम छैन ।

प्राय: हाम्रो समाजमा अंश खाने छोराहरूले नै आमाबाबुलाई पाल्नुपर्छ भन्ने परम्परा रहेको देखिन्छ तर ती छोराहरूले अभिभावकलाई सडकसम्म पनि पु-याएको देखिन्छ भने अंश विना नै छोरीहरूले मजाले पालेको पनि देखिन्छ । अचेल छोरा र छोरीको आमाबाबुप्रतिको भिन्न व्यवहारले गर्दा एउटा गुनासो धैरैजसोले पोख्ने गरेको पाइन्छ त्यो हो आमाबाबुका लागि एउटी छोरी त चाहिन्छ बा ।
समाजमा आमाबाबु बिरामी परे भने सबैभन्दा भरपर्दो र विश्वासिलो मान्छेको चयन गर्नुपरे छोरीलाई नै प्राथमिकतामा राख्ने गरेको देखिन्छ ।
हुन त छोरामान्छेलाई पन्छाउन खोजिएको होइन, उनीहरूको दायित्व पनि कम छैन तर मायाममता, हेरचाह र रेखदेखको मामलामा भने छोराको तुलनामा छोरीले नै बढी भूमिका निर्वाह गरेको देखिन्छ ।

वास्तवमा भन्ने हो भने छोरीको निस्वार्थ माया र हेरचाहबाट आमाबाबुले मानसिक उपचार पाउँछन् । धेरैबाट सुन्नमा आउँछ कि बिहे नहुँदासम्म छोरा आमाबाबुको हुन्छ, बिहेपछि श्रीमतीको हुन्छ रे ! हुन त यो भनाइ सबैमा लागू नहुन सक्छ तर व्यवहारमा देख्न र सुन्नमा आउँछ । समय र परिस्थितिको मागअनुसार मानिसको विचारमा परिवर्तन आउनु स्वाभाविकै हो जसबाट मानिसले अनुभव प्राप्त गर्छ नै ।छोरीको माया र व्यवहारले गर्दा भोलि गएर छोराको भन्दा छोरीको चाहना नबढ्ला भन्न सकिंदैन ।

-शान्ता शाक्य
तानसेन
पाल्पा


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...