Friday 21st June 2024

फैसला(लघुकथा ) -मित्र ‘उराठी’ गाैतम


“हेर हेर उठ्नै सकेन नि पाठो त !”
“कस्तो जेउवा तालले चलाएको हो ? झण्डै आफू पनि मरेन।”
“ए ! खुट्टै पो भाँचिएछ त पाठोको।”
“यसलाई छोड्न हुन्न है काका।”
“हो नि, बोयर जातको पाठो पो हो त।”
भिड जम्मा भएर एक से एक बोल्दै थिए।बाइकमा पल्टिएको सुमनलाई उठाउने कसैलाई चासो थिएन।
बल्ल तल्ल उठेको सुमनको घुँडामा पाइन्ट प्वाल परेको थियो।बायाँ हात लछारीएकोले सर्टको बाउलो च्यातिएको थियो।दायाँ हत्केलाबाट रगत बग्दै थियो।बाइकको ऐना र इण्डिकेटर फुटेको थियो।
“यस्तो बेहोसी तालले पनि बाइक चलाउने हो ? ल यो पाठोको मूल्य तिर्ने, अनि मात्र जाने।”-वुजुर्ग बन्दै आदेश गर्यो भिमसेनले।
“मेरो केही गल्ति छैन।पाठो कान्लाबाट बुर्लुक्क उफ्रँदै मेरो बाइक माथि आएर खसेको हो।मलाई यति चोट लागेको देख्नुहुन्न ? बाइकको के हालत छ हेर्नुहुन्न ? अझ मलाई पैसा तिराउने ?” – सुमनले प्रतिवाद गर्यो।
“ढङ्गले बाइक चलाउनु छैन अझ ठुल्ठूला कुरा गर्ने ? ल हिँड् पुलिस चौकी।” – भिडबाट अर्को बोल्यो।
“जाऊँ जाऊँ पुलिस चौकी जाऊँ उहीँ कुरा हुन्छ।”- भिडबाट आवाज घन्कियो।
“चौकी इन्चार्जलाई अलि अलि मिलाउनु पर्छ, दह्रो माल झर्छ काका।तपाई चुपचाप लाग्नु हामी कुरा मिलाउँछौँ।”- भिमसेनले एकान्त लग्दै काकालाई सम्झायो।
घाइते सुमन भिडसँगै नजिकको पुलिस चौकी पुग्यो।
अस्ति मात्र हाजिर भएका चौकी इन्चार्जले दुबै पक्षको कुरा राम्ररी सुनेपछि फैसला सुनाउँदै भने – “आफ्ना पशु चौपाया जथाभावी सडकमा छोडेर सवारी दुर्घटना गराउने मूल दोषी तपाई हो।सुमनको घाउको उपचार गराउने र उसको बाइकको मर्मत खर्च कति लाग्छ त्यो पैसा तपाईले तिर्ने।आइन्दा कसैले पनि आफ्ना पशु चौपाया जथाभावी छाडा छोडेमा सोहि वमोजिम कार्वाही हुने छ, ख्याल गर्नुहोला।”
इन्चार्जले फैसला सुनाइसक्दा काकाका आँखाले भिडमा भिमसेनलाई खोज्दै थिए भने भिमसेन र भिडका अगुवाहरु त्यतिञ्जेल सम्म भिडबाट विलुप्त भैसकेका थिए।

-मित्र ‘उराठी’ गौतम
अमरपुर-गुल्मी
हालःतिलोत्तमा न.पा.-२,रुपन्देही


सम्बन्धित शीर्षकहरु

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०२/१६ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पुष्कर अथक रेग्मी - सानो छदाँ 'कल्लु 'नामले बोलाइने साहित्यकार रोहित प्रसाद ज्ञवाली पाल्पा तानसेनका क्रियाशील साहित्यकार हुन् । साहित्यकार…

प्रतिकृयाहरू
...