Friday 12th June 2026

इन्टरपोलको सहयोगमा कर्तव्य ज्यान मुद्दाका आरोपी २ जना नेपाली बहराइन र साउदीमा पक्राउ


तीतोपाटी – कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई अभियुक्त विदेशमा पक्राउ परेका छन् । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा एकजनालाई बहराइन र अर्कालाई साउदी अरबबाट पक्राउ गरेको हो ।

कास्कीका अशोक गुरुङ बहराइनबाट र उदयपुरका गोविन्द मगर साउदी अरबमा पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका दुवैजना वैदेशिक रोजगारीका क्रममा त्यहाँ पुगेका थिए । दुवैलाई नेपाल ल्याउन प्रहरीको इन्टरपोल शाखाले कूटनीतिक पहल अघि बढाएको छ ।

गुरूङ २०६३ साल बैशाखमा पोखरामा भएको एक हत्याका आरोपी हुन् । गत २९ मंसिरमा उनलाई बहराइनको प्रहरीले पक्राउ गरेको हो । गुरुङलाई नेपाल ल्याउन कूटनीतिक माध्यमबाट सुपुर्दगीको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । गुरूङले पोखराको सातमुहानेमा रोजन राईको हत्या गरेका थिए । आपसी विवादमा झगडा हुँदा टाउकोमा चिर्पटले हानेर राईको हत्या गरिएको थियो । त्यसयता फरार रहेका गुरुङ बहराइन पुगेको सूचना पाएपछि प्रहरीले उनलाई रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो । इन्टरपोलबाट गत २७ मंसिरमा रेड नोटिस जारी भएको थियो । त्यसको दुई दिनपछि बहराइनमा उनी पक्राउ परेका हुन् ।

बहराइनले एक महिनाभित्र सुपुर्दगीका लागि कूटनीतिक माध्यमबाट आउन नेपाललाई पत्राचार गरेको छ । सोहीअनुसार नेपाल प्रहरीले गुरुङविरुद्धको अभियोगबारे गृह र परराष्ट्र मन्त्रालय हुँदै बहराइनलाई पत्राचार गरेको थियो । त्यसका आधारमा त्यहाँको अदालतले सुपुर्दगी गर्न आदेश दिएपछि नेपाल ल्याइने प्रक्रिया अघि बढ्नेछ । दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा उनलाई साउदीले निष्कासन गरी नेपाल पठाउनेछ ।

त्यस्तै साउदी अरबमा इन्टरपोलबाट रेड नोटिस जारी भए पछि पक्राउ परेका गोविन्द मगरलाई इन्टरपोलकै सहयोगमा प्रहरीले पक्राउ गरेको हो । उदयपुरका मानबहादुर तामाङ र उनकी श्रीमती हर्कमायाको हत्या अभियोग उनीमाथि छ । आफूसँग प्रेम–सम्बन्ध भएकी छोरीको अरूसँग विवाह गरिदिएको रिसमा उनले युवतीका आमा–बुबाको बीभत्स हत्या गरेका थिए । मगरले सुरुमा मानबहादुरमाथि आक्रमण गरेका थिए । हर्कमाया रोक्न आउँदा उनको समेत हत्या गरेका थिए ।

घटनापछि फरार मगरविरुद्ध गत वर्ष माघमा रेड नोटिस जारी भएको थियो । उनलाई लिन नेपाल प्रहरीको टोली साउदी अरब जान लागेको प्रहरी स्रोतले जनाएको छ ।

उपरोक्त समाचार आजको नयाँपत्रिकामा प्रकाशित भएको छ ।


सम्बन्धित शीर्षकहरु

खाडी मुलुकहरूमा फैलिएको दलालहरूको नेटवर्क तोड्न सजिलो काम होइन। डिजिटल भुक्तानी प्रणालीको कडाइ, लाइसेन्स खारेजीमा कडाइ, तथा दूतावास–श्रम विभाग–अध्यागमनबीच एकीकृत…

इजरायलले आफूले लेबनान, इरान, टर्की र इजिप्टबाट आउन सक्ने सम्भावित सुरक्षा चुनौतीहरू एकै समयमा सामना गर्न सक्ने दाबी गरेको छ।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ गोमा तामाङ ले पार्टी परित्याग गर्दै सक्रिय राजनीतिबाट समेत अलग हुने घोषणा गरेकी छन्।…

प्रतिकृयाहरू
...