Tuesday 23rd December 2025

इन्टरपोलको सहयोगमा कर्तव्य ज्यान मुद्दाका आरोपी २ जना नेपाली बहराइन र साउदीमा पक्राउ


तीतोपाटी – कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई अभियुक्त विदेशमा पक्राउ परेका छन् । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा एकजनालाई बहराइन र अर्कालाई साउदी अरबबाट पक्राउ गरेको हो ।

कास्कीका अशोक गुरुङ बहराइनबाट र उदयपुरका गोविन्द मगर साउदी अरबमा पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका दुवैजना वैदेशिक रोजगारीका क्रममा त्यहाँ पुगेका थिए । दुवैलाई नेपाल ल्याउन प्रहरीको इन्टरपोल शाखाले कूटनीतिक पहल अघि बढाएको छ ।

गुरूङ २०६३ साल बैशाखमा पोखरामा भएको एक हत्याका आरोपी हुन् । गत २९ मंसिरमा उनलाई बहराइनको प्रहरीले पक्राउ गरेको हो । गुरुङलाई नेपाल ल्याउन कूटनीतिक माध्यमबाट सुपुर्दगीको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । गुरूङले पोखराको सातमुहानेमा रोजन राईको हत्या गरेका थिए । आपसी विवादमा झगडा हुँदा टाउकोमा चिर्पटले हानेर राईको हत्या गरिएको थियो । त्यसयता फरार रहेका गुरुङ बहराइन पुगेको सूचना पाएपछि प्रहरीले उनलाई रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो । इन्टरपोलबाट गत २७ मंसिरमा रेड नोटिस जारी भएको थियो । त्यसको दुई दिनपछि बहराइनमा उनी पक्राउ परेका हुन् ।

बहराइनले एक महिनाभित्र सुपुर्दगीका लागि कूटनीतिक माध्यमबाट आउन नेपाललाई पत्राचार गरेको छ । सोहीअनुसार नेपाल प्रहरीले गुरुङविरुद्धको अभियोगबारे गृह र परराष्ट्र मन्त्रालय हुँदै बहराइनलाई पत्राचार गरेको थियो । त्यसका आधारमा त्यहाँको अदालतले सुपुर्दगी गर्न आदेश दिएपछि नेपाल ल्याइने प्रक्रिया अघि बढ्नेछ । दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा उनलाई साउदीले निष्कासन गरी नेपाल पठाउनेछ ।

त्यस्तै साउदी अरबमा इन्टरपोलबाट रेड नोटिस जारी भए पछि पक्राउ परेका गोविन्द मगरलाई इन्टरपोलकै सहयोगमा प्रहरीले पक्राउ गरेको हो । उदयपुरका मानबहादुर तामाङ र उनकी श्रीमती हर्कमायाको हत्या अभियोग उनीमाथि छ । आफूसँग प्रेम–सम्बन्ध भएकी छोरीको अरूसँग विवाह गरिदिएको रिसमा उनले युवतीका आमा–बुबाको बीभत्स हत्या गरेका थिए । मगरले सुरुमा मानबहादुरमाथि आक्रमण गरेका थिए । हर्कमाया रोक्न आउँदा उनको समेत हत्या गरेका थिए ।

घटनापछि फरार मगरविरुद्ध गत वर्ष माघमा रेड नोटिस जारी भएको थियो । उनलाई लिन नेपाल प्रहरीको टोली साउदी अरब जान लागेको प्रहरी स्रोतले जनाएको छ ।

उपरोक्त समाचार आजको नयाँपत्रिकामा प्रकाशित भएको छ ।


सम्बन्धित शीर्षकहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

प्रतिकृयाहरू
...