परिचयः वनमाली निराकार
जन्म – २००६ चैत ७गते
स्थान- ध्रुवघाट तानसेन -१, पाल्पा
माता- नेत्रकुमारी शर्मा / पिता – शाेभाकर शर्मा
पत्नी – दुर्गाकुमारी शर्मा
शिक्षा – एम. ए.
२ पहिलाे प्रकाशित कविता
शिर्षक – हेर्न नखाेज चिहान
राष्ट्र पुकार साप्ताहिक २०२७
३ पहिलाे कविता सङ्ग्रह
लाेकतन्त्रकाे शङ्खनाद
२०६२साल , नागरिक जागरण अभियान, नेपाल – रुपन्देही
पहिलाे लघुकथा – धारा र सुस्केरा , क्षितिज गाेजिका २०३४
पहिलेा कथा – बहिनीकाे पत्र दाजुकाे नाम , राष्ट्रपुकार साप्ताहिक २०२६
कथा सङ्ग्रह – समयकाे पर्खाल, साझा प्रकाशन २०४६
विवरुका कथाहरू, त्रिमूर्ति प्रकाशन,२०६६
एउटा बस्तीकाे कथा, त्रिमूर्ति प्रकाशन २०७१
अन्य- पत्र सञ्चयन (साहित्यिक पत्रहरूकाे सङ्कलन), पाल्पा साहित्य समाज २०६३
खनाल वंशावली २०७४
४ (क) क्षेत्रीय प्रतिभा पुरस्कार-२०६६ संस्कृति मन्त्रालय, नेपाल सरकार
(ख ) भवानी भिक्षु पुरस्कार-२०६८, जिल्ला विकास समिति, कपिलवस्तु
(ग) याेगेश्वर कला साहित्य पुरस्कार-२०७१, नेपाली कला साहित्य डट कम प्रतिष्ठान
काठमाडाै
(घ) मैनाली कथा सम्मान-२०७२, साहित्यिक पत्रकार संघ, काठमाडाै
(ङ) धनमान कथा पुरस्कार-२०७५, लघुकथा समाज ,नेपाल
(च) महाकवि लक्ष्मीप्रसाद देवकाेटा पुरस्कार-२०७७, नित्यराज पाण्डे प्रतिष्ठान ,काठमाडाै
सम्पर्क सूत्र –
ठेगाना – ८/१६ ख प्रवेशपथ ,सिद्धार्थनगर-8 रुपन्देही
फाेन – ०७१५७६९६४
माेबाइल – ९८४७०३९८६७
इमेल – banmalinirakar2gmail.com
लघुकथा
बुधिरामले हेलिकप्टर हेरिरह्यो
वनमाली निराकार
ऊ अर्थात बुधिराम चौधरी सिसौको अग्लो रुखको बलियो हाँगा समातेर बसिरहेछ । उसको शरीरमा बेरिएको धोती बाहेक अरु केही थिएन । चारैतिर नियालेर हेर्दा पान बाहेक अरु केही देखिदैनथ्यो । रुखका टुप्पाटुप्पाहरुमा झुण्डिएका मानिस तथा घरका धुरीहरु टाढा टाढा देखिन्थे । पानीको बगाइको आवाजले गर्दा मानिसकाआवाज, चित्कार र कोलाहललाई सर्लक्क निलिदिन्थ्यो र वरिपरि रहेका अग्ला अग्ला रुखमा ऊ जस्ता मानिसहरुले आपसमा टुलुटुलु हेराहेर त गर्थे तर बोल्न सक्दैनथे ।
उसले पोप्प आँखा घुमायो । रुखका हिसाबले आफ्नो गाऊँको अवस्थिति यही निर हुनु पर्छ भन्ने अन्दाज गर्यो । पोपर सम्झन थाल्यो – साना ठूलै तथा कच्ची पक्की गरी करीब पचास घर,त्यत्तिकै मात्रामा गोठहरु, एउटा प्राथमिक पाठशाला, गाऊँको एउटा कुनामा हनुमान मन्दिर( के गर्ने ? हनुमानको शक्तिले पनि गाऊँलाई बचाउन सकेन ),निमको रुखवाला चौतारी, एउटा पान पसल, गाऊँको खिचिरमिचिरको पसल, खेत खलिहान सम्झ्यो अनि आफ्नो घर सम्झ्यो ।घरको सम्झना आउने बित्तिकै स्वास्नी सम्झ्यो , सात वर्षकी छोरी सम्झ्यो ।एक हल गोरु, एउटा दुहुनो भैंसी र दुईवटा बाख्रा सम्झ्यो ।खबडाले छाएको अर्धपक्की घर सम्झ्याे, छाना र आँगनमा बाकमकुर बाकमकुर गर्ने दुई जोड़ी परेवा पनि सम्झ्यो । घरभित्रका सामान सम्झ्यो । डिहरीमा राखेको धान चामल सम्झ्यो ,चामलको सम्झनाले उसलाई भोक लागेर आयो । चारैतिर पानी नै पानी छ तर पानी पिउन नपाएको पनि दुई दिन बितिसकेको छ ।अरु खाने भनेको कल्पना मात्र हो । अग्ला घरहरुका मात्र धुरीहरु देखिन्थे । स्वास्नी र छोरी कता होलान ? या कतै नहोलान् ? बाढीले बगाएर टाढै पुर्याएको पनि हुनसक्छ ! अब के का लागि बाँच्ने ? कस्का लागि बाँच्ने ? कसका सहारामा बाँच्ने ? अब किन बाँच्ने? उसलाई थाह छैन तैपनि रुखको हाँगा समातेर बसिरहेछ ! कति बेला रुख ढल्ने हो थाह छैन । केही समय अघि मात्र हेर्दा हेर्दै एउटा रुख ढल्यो, र त्यसमा झुण्डिएका आठदश मान्छे पानीमा बगे । र पनि ऊ रुखको हाँगा समातेर बसिरहेछ ।
त्यतिबेलै आकाशमा हेलिकप्टर उडेको देखियो । उसको मनमा पनि बाँच्ने आशा पलाएको हुनु पर्छ नत्र शरीरमा भएको एक मात्र धोती निकालेर हल्लाउँदैन थियो होला ! हेलिकप्टर तीन चार फन्को मारेर फर्क्यो । रुख रुखमा बसेका अरु मानिसहरुले पनि हात हल्लाए, उद्धारका लागि चिच्याए,गुहार लगाए तर हेलिकप्टरले देखेन, सुनेन । बुधिरामको धोती पनि हेलिकप्टरले देखेन । एकछिन धोती हवामा हल्ली रह्यो। निरास बुधिरामले धोती आफ्नो शरीरमा बेर्ने आवश्यकता ठानेन । धोतीलाई रुखको एउटा हाँगामा झुन्ड्यायो र आफ्नो टाउको अर्को हाँगामा अड्यायो ।शायद उद्धारको आशा र प्रतीक्षाका लागि ध्यान गर्न लाग्यो ।
जोडले हवा चल्यो । हवाले उडाएर ल्याएको पानीको बुँदहरुले बुधिरामलाई छोयो । चिसोको अनुभव भएछ क्यारे शरीर बेर्न धोती
तान्दा तान्दै गर्दा फेरि एकपटक जोडले हवा चल्यो र धोती उडायो । धोती समात्ने उपाय र जाँगर दुवै थिएन निरीह आँखाले हेर्नु .सिवाय ! धोती पानीमा पुगेर फैलियो। धोएर घाममा सुकाउन फैलाएको जस्तै फैलिएर पानीमा सललल सललल बग्न थाल्यो । बुधिरामले आफ्नै धोती बगेको त्यस्तो आकर्षक दृश्य कहिल्यै देखेको थिएन ।आफ्नो धोती त्यसरी सललल बगेको रोमांचकारी दृश्य रमाईलो मानेर टाढा पुगुन्जेल हेरिरह्यो । फेरि अचानक जोडले हवा चलेर रुखै हल्लाई दियो।मरुँला भन्ने डरले बुझिरामले रुखको हाँगा बेसरी समात्यो । त्यति बेलै टाढा फेरि हेलिकप्टर देखापर्यो र आफूतिर आइरहेको बुधिरामले महसुस गर्यो । अब बुधिरामसँग हेलिकप्टर आकर्षित गर्न हल्लाउने साधन एक मात्र लगौंटी बाहेक केही थिएन ।
‘धोती हल्लाउँदा नदेख्ने हेलिकप्टरले लगौंटी झन् के देख्ला र ??’ भन्ने सोंचेर यस पटक बुधिरामले आकाशमा उडिरहेको हेलिकप्टरलाई हेरिरह्यो…..मात्र ….हेरिरह्यो ।
भैरहवा