बहुप्रतिक्षित निर्वाचन सम्पन्न भयाे र परिणाम आयाे ।
परिणाम सुनेर सबै आश्चर्यमा परे ।
‘यस्ताे परिणाम कसरी आयाे हँ ?’ अब याे नै फुर्सदिलाहरुकाे छलफलकाे विषय बन्याे ।
कसैले भने ‘षडयन्त्र ‘ ।
कसैले भने ‘तालमेल ‘।
कसैले भने ‘चलखेल ‘।
कसैले भने ‘धाेखा ‘।
कसैले के र कसैले के अनुमान गरे ।
तर कसैले पनि सही कारण एकिन गर्न सकेनन् ।
यत्तिकैमा विजय जुलुस निस्क्यो ।
एक चतुर पत्रकार भिडमा पस्याे र अबिरजात्रा सहितकाे जुलुसकाे अग्रपङ्तिमा रहेका नेताजीलाई साेध्याे ‘हजुरकाे कार्यशैली प्रति व्यापक असन्तुष्टि थियाे तर पनि यहाँ नै विजयी हुनुभयाे । चमत्कारै भयाे नि हजुर, बधाई छ यहाँलाई ।’ भन्दिनुस् न याे विजयकाे प्रमुख कारण के हाेला ? कसैकाे साथ, सहयाेग वा कसैकाे खास भूमिका छ,कसैलाई अंसम्झन वा धन्यवाद दिन चाहनुहुन्छ कि ? ‘
नेताजीले भने-‘ देख्नुभएकै छ बिराेधीकै घेरामा छु म सधैं ।
‘कसै न कसैकाे त सहयाेग हाेला नि ? समीकरण पनि बनाउनुभा’थ्याे क्यारे, हैन ? भन्दिनुस् न हजुर ‘ – पत्रकारले पछ्याउँदै भन्याे ।
‘तपाईँलाई थाहै छ नि-‘ नेताजीले भने -‘नजिकका नै बढ्ता बिराेधी छन् मेरा । ‘ ‘यसैले कसैकाे सहयाेग हाेइन याे विजय मेराे भाग्यकाे खेल हाे , बुझ्न भयो।
-विनोद नेपाल