Monday 13th April 2026

तारानाथ भण्डारीका भुजङ्गप्रयात छन्दमा १० श्लोकहरू


उकालो छ बाटो म हिंड्दैरहन्छु
बिझून् जत्ति काँडा म भिड्दैरहन्छु ।
कुटिन्छन् कुँदिन्छन् र ढुङ्गा पुजिन्छन्
सयौं चोट खाएर द्यौता गनिन्छन् ।। १ ।।

बडो कष्टको साथ खन्दै सबेरा
जुटे खेतबारी र पाखापखेरा ।
बनोस् देश हाम्रो सबै राजधानी
मलाई छ प्यारो यही जिन्दगानी ।। २ ।।

पियो जिन्दगीले सबै दु:ख घोली
जलाएर चिन्ता मनाऊँ म होली ।
कठै देश दुख्दा परेली भिजेथ्यो
र कालो निशाको कला बर्सिएथ्यो ।। ३ ।।

कतै फूलमाला सजिन्छन् गलामा
कतै शूलफन्दा कसिन्छन् गलामा ।
कतै घूसखोरी तुलिन्छन् तुलामा
कतै मातृभाषा रुँदैछिन् कुनामा ।। ४ ।।

म मेची र काली हुँ उर्ली रहन्छु
निमोठ्दै दुराचार कुर्ली रहन्छु ।
डुबुल्की लगाएर पापीहरूको
पखाल्नेछु मैलो सराबीहरूको ।। ५ ।।

सबैका पियारा कसैका भएनन्
कसैका पियारा सबैका भएनन् ।
सबै टल्कने स्वर्ण चाँदी भएनन्
गुमेका सबै ती निशानी भएनन् ।। ६ ।।

बुबाको मुमाको दुखाएर चित्त
अरे यार के भो थुपारेर वित्त ।
बिरामी पिताको छ कम्जोर पित्त
ठहाका लगाई नहाँस्नू खितित्त ।। ७ ।।

खरानी हुने हो उसैको निमित्त
यहाँ निल्नुपर्नेछ पीडा सिनित्त ।
यहाँ दाम भन्दा छ ठूलो सुनाम
र निस्वार्थको कर्म हो सौम्यधाम ।। ८ ।।

मलाई उठाए सुधीले सिकाई
म संज्ञा नखोजूँ पलेँटी लगाई ।
सँभाल्दैछु छाती अचानो बनाई
यही लेखनीले बचायो मलाई ।। ९ ।।

सधै काव्यगङ्गा बगाई रहन्छु
र नेपालगाथा सुनाई रहन्छु ।
म नेपाल आमा सिङारी रहन्छु ।
स्वदेशी स्वभाषा म लेख्दैरहन्छु ।। १० ।।

-तारानाथ भण्डारी
मणिग्राम


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...